भोटेकोशी बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली र चिनियाँ टोलीले संयुक्त रूपमा प्रयास अघि बढाएका छन् । सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो, बाढीजन्य भग्नावशेष र माटो पन्छाएर भित्र प्रवेश गर्ने बाटो खोल्ने काम तीव्र पारिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार नेपाल सरकारको अनुमतिमा ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा परिचालन गरिएको छ । चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्था र उद्धारको सम्भाव्यताबारे प्राविधिक अनुगमन गर्नेछ ।
यसैबीच नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उच्च प्राथमिकताका साथ खोजी तथा उद्धारको काम गरिरहेको छ । एक्साभेटरसहितका उपकरण प्रयोग गरी सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो र भग्नावशेष हटाउने काम निरन्तर भइरहेको जनाइएको छ ।
सुरुङको प्रवेशद्वार नै लेदो र भग्नावशेषले पुरिएका कारण तत्काल भित्र प्रवेश गर्न कठिनाइ भइरहेको छ । लेदो हटाएर प्रवेशद्वार खुलेपछि उद्धार टोली सुरुङभित्र प्रवेश गर्ने तयारीमा छ । प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद उद्धार कार्यलाई तीव्रता दिइएको छ ।
प्राविधिक अनुगमनपछि उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा बोलाइने दाहालले उल्लेख गरेकी छन् ।
सुरुङभित्र फसेकाहरूको अवस्था अझै स्पष्ट हुन नसके पनि उनीहरूको सकुशल उद्धारका लागि नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र चिनियाँ प्राविधिक टोली एकीकृत रूपमा जुटेका छन् ।