हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका १ सय ८६ जनाको नाम तिनका परिवार तथा आफन्तले सम्पर्कविहीन भन्दै आआफ्ना जिल्लामा टिपाएका छन् । तीमध्ये ४१ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् भने १ सय ४५ जना अझै सम्पर्कविहीन छन् ।
प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र सुदूरपश्चिमले नौवटै जिल्लाबाट सङ्कलन गरेको पछिल्लो विवरणअनुसार सम्पर्कमा आएकामध्ये कैलालीका २५, कञ्चनपुरका १० र डडेलधुराका छ जना छन् । उनीहरूमध्ये छ जना महिला र ३५ जना पुरुष छन् ।
अझै सम्पर्कमा नआएका १ सय ४५ जनामध्ये १४ जना महिला र १ सय ३१ जना पुरुष छन् । जिल्लागत रूपमा कैलालीका ६३, कञ्चनपुरका ३०, डडेलधुराका १७, बाजुराका १६, बैतडीका आठ, दार्चुलाका चार, डोटीका तीन तथा बझाङ र अछामका दुई/दुई जना छन् ।
तर, १ सय ८६ जना मात्रै भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमवासीको अन्तिम सङ्ख्या भने होइन । यो परिवार तथा आफन्तले सम्पर्कविहीन भन्दै जिल्ला प्रशासन, स्थानीय तह र प्रहरीसमक्ष नाम टिपाएका आधारमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूले तयार गरेको एकीकृत विवरण हो ।
प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सम्पर्कविहीनको नाम टिपाउने तथा सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गर्ने काम जारी छ । त्यसैले १ सय ४५ जनाको सङ्ख्या पनि अन्तिम तथ्याङ्क होइन । नयाँ विवरण प्राप्त हुने, सम्पर्क स्थापित हुने तथा थप व्यक्तिको नाम टिपिने क्रमसँगै सङ्ख्या परिवर्तन हुनसक्ने केन्द्रले जनाएको छ ।
बाढी प्रभावित कतिपय क्षेत्रमा अझै विद्युत् तथा सञ्चार सेवा अवरुद्ध रहेकाले कतिपय व्यक्तिसँग तत्काल सम्पर्क हुन नसकेको हुनसक्ने केन्द्रको भनाइ छ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा प्रहरीसँग समन्वय गरी सम्पर्क स्थापित गर्ने र सम्पर्कविहीनको खोजी भइरहेको छ ।
भोटेकोशी बाढीपछि आफ्ना परिवारका सदस्य तथा आफन्तसँग सम्पर्क हुन नसक्दा परिवार र आफन्तजनमा चिन्ता बढेको छ । उद्धार तथा सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक हुँदै गए पनि कतिपय परिवार अझै आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित छन् ।