हरिश्चन्द्र बाग / प्रकाश भट्ट, कञ्चनपुर ।
दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा डाँडाको ठूलो भागसहित भीषण पहिरो खसेर चौलानी (चमेलिया) नदी थुनिएपछि महाकाली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । निरन्तरको वर्षाका बीच खसेको ठूलो पहिरोले नदीको बहाव केही समय पूर्ण रूपमा अवरुद्ध भएपछि भट्टारसहित नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हो । पहिरोका कारण नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएको र त्यसपछि पनि करिब दुईदेखि अढाई घण्टासम्म बहाव प्रभावित भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले बताउनुभयो ।
नदीले पहिरोको भाग कटान गर्दै गएपछि बिस्तारै पानीको बहाव खुल्न थालेको भए पनि जोखिम भने पूर्ण रूपमा टरेको छैन । पहिरोको केही भाग अझै नदीमा रहेकाले आंशिक रूपमा ताल बनेको र माथिबाट थप पहिरो खस्ने सम्भावना कायमै रहेको अध्यक्ष बोहराले बताउनुभयो । “यति ठूलो पहिरो आउला भन्ने कल्पना नै थिएन । डाँडो नै खसेको छ । पहिरो आएर नदी थुनिएपछि बाढीको जोखिम बढेको थियो । पछि नदीले नै पहिरो कटान गरेर बिस्तारै खुल्यो,” उहाँले भन्नुभयो ।
पहिरोका कारण भट्टार बस्ती उच्च जोखिममा परेको छ । पहिरो बस्तीको छेउसम्मै पुगेपछि जोखिममा रहेका करिब १०/१२ परिवारका २५/३० जनालाई सुरक्षित स्थानमा सारिएको अध्यक्ष बोहराले बताउनुभयो । स्थानान्तरण गरिएका नागरिकहरू अहिले अर्को बस्तीमा रहेका आफन्तको घरमा बसेका छन् । उनीहरूको खाने–बस्ने व्यवस्था त्यहीँ गरिएको छ । त्यस्तै, वडाबाट टेन्ट, ओढ्ने–ओछ्याउने म्याट र कम्बल लगायतका सामग्रीको व्यवस्था गरिएको छ । रातिको समयमा समेत जोखिम कायम रहेकाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको अध्यक्ष बोहराले बताउनुभयो । उहाँका अनुसार तल्लो तटीय क्षेत्रसम्मै सतर्क रहन आग्रह गरिएको छ । जोखिमलाई ध्यानमा राख्दै नदी तथा ड्याम क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत आज राति त्यहाँ नबस्न अनुरोध गरी सुरक्षित स्थानमा सारिएको छ ।
अध्यक्ष बोहराका अनुसार यस क्षेत्रमा यसअघि पनि पहिरो जाने गरेको थियो । तर यसपटकको पहिरो विगतको भन्दा निकै ठूलो छ । कच्चा पहाडको ठूलो भाग नै खसेका कारण पहिरोको आकार असामान्य रूपमा ठूलो भएको उहाँको भनाइ छ । “यसअघि पनि पहिरो गएको थियो, तर यति ठूलो थिएन । यसपटक त डाँडो नै खसेको छ । धेरै ठूलो पहिरो हो,” उहाँले भन्नुभयो । पहिरोका कारण बेसक्याम्प जाने पदमार्गको करिब पाँच सय मिटर क्षेत्रमा समेत क्षति पुगेको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षा भइरहेका कारण थप पहिरो खस्न सक्ने र नदी पुनः थुनिन सक्ने जोखिम रहेको भन्दै गाउँपालिकाले समेत स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
यसैबीच, चौलानी (चमेलिया) नदी पूर्ण रूपमा थुनिएर एक्कासि खुलेमा महाकाली नदीमा समेत पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरले महाकाली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । चौलानी नदीमा पहिरोका कारण नदी आधा थुनिएको र पहिरो खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमबाट बच्न तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै अनुरोध गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले सूचना जारी गर्दै महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । प्रशासनले सम्भावित जोखिमबाट बच्न नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । विपद्का बेला कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । यसका लागि डीईओसी–१२३४, नेपाल प्रहरी–१०० तथा सशस्त्र प्रहरी बल नेपाल–१११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८७३७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८७७५६६६, जिल्ला प्रहरी कार्यालयका प्रमुखको ९८५८७३५५५५ तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेक्वाका सम्पर्क नम्बर ९८५१२७२१२० मा समेत आवश्यक जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ । दार्चुलामा खसेको पहिरोले नदीको बहाव प्रभावित भएपछि यसको सम्भावित असर तल्लो तटीय क्षेत्रसम्म पर्न सक्ने भएकाले कञ्चनपुरमा समेत महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको हो ।