हिन्दु धर्मावलम्बीहरू आफ्नो परम्परा अनुसार विभिन्न रीति रिवाज, चाल चलन र संस्कारहरूले संवृद्ध छन्। संसार भरी छरिएर रहेका हिन्दुहरूका भूगोल र परिवेश अनुसार आ-आफ्ना छुट्टा छुट्टै जीवनशैली र विशेषताहरू रहेका छन्। हिन्दुहरूको जीवनशैली मुख्यतः वेदमा आधारित भए पनि वेद, वेदका शाखा र उपशाखाको भेद हुँदै विभिन्न पन्थ सम्प्रदाय र ऐतिहासिक परम्पराहरूको कारणले यस समुदाय भित्र चाडपर्वहरू मनाउने शैली र भूगोलै पिच्छे संस्कार तथा परम्पराहरूको स्वरूपमा पनि फरकपना देख्न सकिन्छ।
सनातनीहरूमा गर्भाधानदेखि अन्त्यष्टीसम्मका षोडश संस्कार तथा दसैँ, तिहार, गौरा, छठ, होली, जनै पूर्णिमा, माघे सङ्क्रान्ति, विसु, ल्होसार, शिवरात्रि, राम नवमी, कृष्ण जन्माष्टमी, गुरु पूर्णिमा आदी मुख्य पर्वहरू मनाउने चलन रहेको छ। यी संस्कार तथा चाडपर्वहरूको आ-आफ्नै छुट्टै महत्त्व, विशेषता र ठाउँ अनुसार मनाउने बेग्लै तौर तरिकाहरू पनि छन्। यस्तै आफ्नै छुट्टै महत्त्व र विशेषता भएको पर्व मध्ये गौरा पर्व पनि एक हो। गौरा पर्व विशेष गरी, नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशको केही भूभाग, भारतको उत्तराखण्ड राज्यको कुमाउ र गढवाल मण्डलमा समेत यो पर्व ज्यादै धूमधामका साथ हर्ष उल्लासपूर्वक शिव गौरीको आराधना गर्दै मनाइने गरिन्छ।
यो पर्वको सुरुवात कहिले देखी भयो? यो पर्व किन मनाइन्छ? यो पर्व मनाइनुको कारण? यससँग जोडिएका आस्था, मनोविज्ञान तथा यसका विशेषता लगायतका विषयमा लेखको माध्यमबाट यससँग सम्बन्धित प्रश्नको उत्तर खोज्ने प्रयास गरिने छ।
यो पर्व प्राचीन काल देखिनै विशेष गरी मानसखण्ड र केदारखण्ड (हाल सुदूरपश्चिम, उत्तराखण्ड) क्षेत्रमा मनाउँदै आइन्छ। यो पर्वको सुरुवात कहिलेदेखि भयो भन्ने सन्दर्भमा कुनै यकिन रूपमा तिथि पत्ता लगाउन नसकिए तापनि यस क्षेत्रका प्राय सबै समुदायले यो पर्व मनाउने र यस क्षेत्रका प्राचीन देवीदेवताहरूका हरेक मन्दिरहरूमा समेत गौराको बिरुडा चढाउने परम्परा भएको हुँदा यस क्षेत्रमा मानवबस्तीको बसोबास सँगसँगै यो पर्व मनाउने परम्पराको सुरुवात भएको हो भन्ने अनुमान गर्न सकिन्छ। गौरा पर्व यस क्षेत्रमा विशिष्ट तथा प्रमुख पर्व हो।
वर्तमान समयमा दसैँ तिहार जस्ता चाडपर्वहरू समेत धूमधामका साथ यस क्षेत्रमा मनाइने भए तापनि प्राचीन समयदेखि गौरा पर्व नै यस क्षेत्रको मुख्य चाडपर्वको रूपमा रही आएको छ। गौराको बेला यस क्षेत्रका गरिबदेखि सम्पन्न परिवारका हरेक व्यक्तिले घर परिवारमा जुठो परेको अवस्था बाहेक के धनी, के गरिब सबैले अनिवार्य पहिरनको रूपमा नयाँ लुगा लगाउनै पर्ने चलन पनि प्राचीन समय देखिनै चली आएको भए तापनि वर्तमान समयमा नयाँ पुस्ताहरूमा यो परम्परा हराउँदै गएको देखिन्छ।
गौरा यस क्षेत्रको सौहार्द्यता झल्काउने मनोरञ्जनको पर्व पनि हो।गौराका बेला देश प्रदेशबाट घर फर्कने, मिठा मिष्ठान्नका पकवानहरू पकाउने, केटाकेटीदेखि सयानाहरू (प्रौढहरू) सम्म सबैले एक ठाउँमा भेला भएर मनोरञ्जन गर्ने, मनमुटाउहरू बिर्सेर सुखदुख साटासाट गर्ने चलन रहिआएको छ। वर्षा ऋतुको समयमा पर्ने यस पर्वमा नदीनालाहरू भरिभराउ हुनुका साथै फलफूलहरू पाक्न सुरु गर्ने, चारैतिर हरियाली हुने, न धेरै चिसो न धेरै गर्मी हुने सबै किसिमले उपयुक्त वातावरण रहने हुनाले पर्वमा छुट्टै रौनकता हुन्छ।
‘गौरा’ शब्द संस्कृत साहित्यको ‘गौरी’ शब्दबाट अपभ्रंश हुँदै उत्पन्न भएको हो। हिन्दु धार्मिक ग्रन्थहरूमा माता पार्वतीको सुन्दर स्वरूपको रूपमा गौरीको वर्णन गरेको पाइन्छ। यस पर्वमा विशेष गरेर माता पार्वतीले भगवान् शिवलाई पति पाउनको लागि गरेको ध्यान, तपस्या लगायत स्थानीय मौलिकतामा आधारित शिव शक्तिको मिलनको कथाहरूको गौरा गीतहरूमा वर्णन गरिन्छ।
सतीदेवीले यज्ञकुण्डमा आत्मदाह गरेपछि भगवान् शिवले भाव विह्वल भई सतीदेवीको शवलाई बोकेर संसारको भ्रमण गर्ने क्रममा सतीदेवीका अङ्गहरू पतन भएको ठाउँमा शक्ति पीठ र भगवान् शिवले विश्राम गरेको ठाउँमा शिवालयहरू उत्पन्न भएको देखिन्छ। गौरा गीतहरूले उनै सतीदेवीले हिमालय पर्वतको घरमा मैनादेवीको गर्भबाट माता पार्वतीको रूपमा जन्म लिएको र मैनादेवीको गर्भबाट जन्मेकी ती कन्याले जन्मेदेखि भगवान् शिवलाई प्राप्त गरुन्जेलसम्म भएका घटना प्रसङ्ग र त्यसमा भगवान् शिवले निभाएका भूमिकाहरूको वर्णन गरेको पाइन्छ। गौरा गीतहरूमा गायन तथा नृत्य दुवै विधाको प्रयोग गरेको पाइन्छ।
गौरा पर्व विशेष रूपमा भाद्र शुक्ल अष्टमीमा मनाइने पर्व भए पनि विशेष परिस्थितिमा कहिलेकाहीँ यो पर्व भाद्र कृष्ण पक्ष वा श्रावण शुक्ल पक्षमा समेत मनाउने गरिन्छ। यस्तो विशेष परिस्थिति अगस्ति ताराको उदय र सूर्यको कन्या राशिमा प्रवेशसँग जोडिएको छ। अगस्ति उदय हुनुभन्दा अगाडी भाद्र शुक्ल अष्टमी पर्यो भने भाद्र शुक्ल अष्टमीमा पर्व मनाउने र भाद्र शुक्ल अष्टमी अगावै अगस्ति उदय भएमा भाद्र कृष्ण अष्टमीमा गौरा मनाउने चलन यस क्षेत्रमा रही आएको छ।
मलमासका कारण तिथिहरू अगाडी पछाडि भइरहने हुँदा भाद्र महिनामा मलमास परेको खण्डमा यो पर्व श्रावण महिनामा पनि मनाइने गरिन्छ। यसरी शुक्ल पक्षमा परेको गौरालाई ‘सुकेली वा उज्याली गौरा’ र कृष्ण पक्षमा पर्न गएको गौरालाई ‘अन्यारी गौरा’ भनी दुई किसिमले गौरालाई विभाजन गरेको पाइन्छ। असोज महिनामा सूर्य कन्या राशिमा प्रवेश गरी सक्ने हुनाले उक्त महिनामा यो पर्व मनाउन नहुने चलन रही आएको छ।
गौरा पर्व पुत्रदा एकादशीबाट सुरु हुने भए तापनि औपचारिक रूपमा भने यसको सुरुवात “बिरुडा पञ्चमी” बाट हुन्छ। पञ्चमी तिथिमा बिरुडा भिजाउने हुँदा उक्त पञ्चमीलाई “बिरुडा पञ्चमी” भनिएको र गहुँ, गहत, कलौउँ, मास, गुरुँस गरी पाँच वटा अन्नहरू मिसाई बिरुडा हुने हुँदा बिरुडालाई ‘पञ्च बिरुडी’ भन्ने चलन रहेको छ। गौराको पहिलो दिन महिलाहरू व्रत बसी देवालय वा आ-आफ्नो घरको पवित्र कोठामा गाईको गोबर सहितले लिपपोत गरी दियो बालेर सगुन, फाग गाउँदै पवित्र ताम्र पात्रमा बिरुडा राखी उक्त ताम्र पात्रको पाँच ठाउँमा गाईको गोबरको टिका थापी उक्त टिकामा दुबो, चन्दन र अक्षता लगाई विधिवत् रूपमा बिरुडा भिजाउने गरिन्छ।
यसरी महिलाहरूले सामूहिक रूपमा भेला भएर बिरुडा भिजाउँदा सामाजिक मर्यादा अनुसार मन्दिरका धामी, पुजारी, भरँण्या तथा मुखियाहरूको बिरुडा पहिले भिजाई पालैपालो सबैले बिरुडा भिजाउने चलन रहेको छ। बिरुडालाई स्थानीय भाषामा लोली गौरा र महेश्वरको प्रसादको रूपमा ग्रहण गरिने हुँदा बिरुडालाई अति पवित्र प्रसादको रूपमा लिने गरिन्छ। यसरी विधिवत् रूपले बिरुडा पञ्चमीबाट गौरा पर्वको सुरुवात हुन्छ । पञ्चमीको दिन पवित्र दिन भएकाले यस दिन शुभ कार्यहरूको थालनी गर्ने गरिन्छ। पुराना पुस्ताहरूमा यस दिनलाई विशेष रूपमा नयाँ आर्थिक कारोबारको सुरुवात गर्ने दिनको रूपमा मान्ने र हिउँदे बालीको मात बुझाउने चलन समेत रही आएको थियो।
सुदूरपश्चिममा “पञ्चमीको बिरुडो, दसैँको जमरो, दुत्त्याको चिउरो” लाई सौभाग्यको प्रतीकको रूपमा सधैँ प्राप्ति भइराखोस् भनी आशीर्वाद लिने दिने चलन रही आएको छ। बिरुडा पञ्चमीदेखि “जाडी जामाली” (जाडोको सुरुवात) र श्री पञ्चमीदेखि “कान कामली” ( गर्मीको सुरुवात) भनेर प्रतिकात्मक रूपमा जाडो र गर्मीको सुरुवात हुने दिन भनी सम्बोधन गर्ने गरिन्छ। यी दुवै पञ्चमीहरूमा गरेका कार्यहरू पूर्ण रूपमा सफल हुने मान्यता यस क्षेत्रमा रही आएकाले अक्षरारम्भ, अन्न प्राशन, गाईबस्तु खरिदबिक्री, नयाँ उद्यमको सुरुवात जस्ता शुभ कार्यहरू गर्नका लागि यी पर्वहरू उपयुक्त दिनको रूपमा लिने गरिन्छ।
पञ्चमीको भोलीपल्ट व्रतालु महिलाहरूले नवीन वस्त्र धारण गरी देवालयबाट भिजाएको बिरुडालाई पात्र सहित शिरमा राखी गौरा गीत गाउँदै पानीको मुहान, नदी किनार वा न्वालोमा गई मर्यादाक्रम अनुसार बिरुडा धुने चलन रही आएको छ। यसरी बिरुडा धुन टोलैपिच्छे परम्परा अनुसार निश्चित पवित्र ठाउँहरू तोकिएको हुन्छ। उक्त ठाउँमा पवित्रता बनाइराख्न परम्परा देखिनै नियमहरू बनाएर पालना गरिएको हुन्छ। यसरी बिरुडा धुने स्थललाई तीर्थ स्थल जत्तिकै सम्मान गरी बिरुडा धुने दिन उक्त स्थानमा स्थानीय धान, साउँ, गुभो, गौरी घाँस, बल लगायतका बोटहरू उखेलेर लिई त्यसबाट गौरीको मूर्ति स्थापना गरी गौरा देवीलाई नयाँ पहिरन स्वरूप पछ्यौरी चढाउने चलन समेत रहेको छ।
यसरी बिरुडा घुने ठाउँमा स्थापना गरिएकी देवीलाई जेठी गौरा भन्ने चलन रही आएको छ भने र त्यस दिन पानी परेमा महेश्वरले जितेको र पानी नपरेमा गौरीले जितेको भन्ने चलन पनि रहेको छ। घरदेखि पानीको मुहानसम्म जाँदा “पाँणकी दिदी मजेलाकी भव्वा त हिट दिदी बिरुडी धुन् झानूँ .... भन्दै” माथिल्लो तलामा बस्ने दिदी र बिचको तलामा बस्ने बैनी समेतलाई सम्बोधनको भाखामा बिरुडा धुन जाऊँ भनी गौरा गीत गाएर मुहानतर्फ जान्छन् भने बिरुडा धोइसकेपछि सर्वप्रथम लोलीका बिरुडा भनी स्थानीय देवीदेवतालाई चढाउन प्रत्येक भाँडोबाट बिरुडा छुट्टाई अलग भाँडोमा राखी मन्दिरको कर्मचारीहरूको जिम्मा दिइन्छ। त्यसरी चढाउन जम्मा गरेका बिरुडा अष्टमीको भोलिपल्ट देवालयहरूमा चढाउने र बाँकी रहेका बिरुडा प्रत्येकले आ-आफ्नो घरमा लग्ने चलन रहेको छ।
गौरा पर्वमा पञ्चमीमा बिरुडा भिजाउने, षष्ठीमा बिरुडा धुने, सप्तमीको राति गौरा घरमा गौरा मनाउने र अष्टमीमा अठेवाली सहित गौरा खलामा गौराको विशेष पूजा आराधना गरिने हुँदा यी चार दिनहरूको आफ्नै विशेष महत्त्व हुने गर्दछ। यहाँ विचारणीय कुरा के छ भने, तिथिहरूको घटबढ नभई पञ्चमीदेखि अष्टमीसम्म लगातार चार दिनसम्म गौरा मनाइएमा उक्त गौरालाई “बाटा गौरा” भनिने गर्दछ। तर तिथिहरूको घटबढ भई षष्ठी र सप्तमी एकै दिन परेको खण्डमा बिरुडा धोएकै दिनको राति गौरा घरमा गौरा ल्याई गौरा स्थापना गर्ने चलन रहेकोले यसरी यसलाई “धोई गौरा” भन्ने चलन रहेकोले बाटा गौरा र धोइ गौरा गरी गौराको दुई वटा भेदहरू पाउन सकिन्छ ।
यसबाट के बुझिन्छ भने, बिरुडा धोएकै राति गौरा घरमा गौरा मनाइन्छ भने त्यसलाई धोइ गोरा भनिने र बिरुडा धोएको भोलिपल्ट सप्तमीका दिन राती गौरा घरमा गौरा पर्व मनाएमा त्यसलाई बाटा गौरा भनिन्छ। यसरी गौराको तेस्रो दिन अमुक्ता भरण सप्तमी तिथिमा गौरा मनाउन आ-आफ्नो ठाउँको चलन अनुसार गौरा घर, मन्दिरको भण्डार घर वा परम्परा अनुसार कुनै व्यक्ति विशेषको घरमा समेत व्रतालु महिलाहरू एक ठाउँमा जम्मा भई गौरा गीत तथा सगुन, फागहरू गाउँदै प्रतिमूर्ति स्थापना गरी गौरा र महेश्वरको विवाह उत्सव मनाउने चलन रहिआएको छ। यस दिनमा हिन्दु परम्परा अनुसारको विवाह संस्कार पद्धति अपनाई अग्नि साँची राखी सात फेरा रिटाएर गौरा महेश्वरको विवाह गर्ने चलन रहेको छ।
गौरा पर्व मनाउन सर्वप्रथम गौरा भित्र्याउने चलन रहेको छ। यो कार्य साँझ परेपछि मात्र गर्ने गरिन्छ। गौरा भित्र्याउने कार्यमा पनि ठाउँ विशेषका फरक फरक चलनहरू रहेका छन्। कुनै ठाउँमा गाउँका कन्याहरू मिलेर पञ्चेबाजा बजाइ गौरा भित्र्याउने गर्दछन् भने कुनै ठाउँमा मन्दिरका कर्मचारी भरँण्या वा कुनै ठाउँमा जात विशेष समेतलाई परम्परा अनुसार यो जिम्मेवारी दिएको पाइन्छ। सप्तमीका दिन गौरा भित्र्याउन धान, साउँ, तिल, गौरी घाँस, बल, गुभो लगायतका बिरुवाहरूको प्रयोग गर्ने गरिन्छ। यी सामग्रीहरूलाई निङ्गालोबाट बनेको गौरी डालोमा राखी गौराको प्रतिमूर्ति स्थापना गर्ने काम गरिन्छ।
यस दिन माता गौराको प्रिय वस्त्रको रूपमा पछ्यौरी ओढाइने विशेष किसिमको मालाको पहिरन सहित शृङ्गार तथा सौन्दर्यका सामग्रीहरू मातालाई समेत चढाउने चलन रही आएको छ। गौरालाई दाडिम, सुन्तला, मौसमी लगायतका ऋतु फलहरू समेत डालोमा चढाउने चलन रहेको छ। उता महेश्वरको स्थापना भने पिर्का आकारको पवित्र काठमा भगुवा रङ्गको कपडाले शृङ्गार गरेर गर्ने गरिन्छ। यसरी सप्तमीको राति गौरा र महेश्वरको स्थापना गरी गौरा महेश्वरको विवाह उत्सवमा सहभागी हुन व्रतालु महिलाहरूका साथसाथै स्थानीय देवीदेवताका धामी, मन्दिरका पुजारी, भरँण्या, मुखिया लगायत गाउँका अग्रज व्यक्तिहरू समेत व्रत बसी गौरा महेश्वरको विवाह महोत्सवमा सहभागी हुने गर्दछन्।
यसै दिन व्रतालु महिलाहरूले सप्तम्या र दुब्धागो फेर्ने तथा नवव्रतालु महिलाहरूले समेत कुल पुरोहित वा घरको वरिष्ठ महिला सदस्यबाट वेद मन्त्रको दीक्षा लिई सप्तम्या र दुब्धागो ग्रहण गर्ने चलन रहेको छ। यस क्षेत्रमा महिलाका लागि दुब्धागो र सप्तम्या लगाउनुको विशेष महत्त्व हुनुका साथै विवाहित महिलाले बिहान, दिउँसो र साँझ गरी दिनको ३ पटक दुब्धागो र सप्तम्या पूजन सहित वेदको मन्त्रद्वारा भगवान्को आराधना गर्नु अनिवार्य रहेको छ। हिन्दु पुरुषहरूको यज्ञोपवीत संस्कार जस्तै यस क्षेत्रका विवाहित महिलाहरूले अनिवार्य रूपमा पवित्र सप्तम्या र दुब्धागो लगाउनु पर्ने नियम रहेको छ।
महिलाहरूले पहिलो पटक गौरा व्रतको उपासना गर्दा शुक्ल पक्षमा परेको गौरा पर्वबाट व्रत आरम्भ गर्ने चलन रहेको छ। शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा तथा कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा समेत भन्ने गरिन्छ। यसरी शुक्ल पक्ष तथा तीज पर्व समेतको आधार हेरी पहिलो पटक गौरा व्रत उपासना गर्न उपयुक्त हुने गौरा पर्वलाई फल्याली गौरा भन्ने र यस्तो गौरा पर्वबाट व्रत आरम्भ गर्नाले पतिपत्नीबीच प्रेम सम्बन्ध अझ प्रगाढ हुने र सौभाग्य प्राप्त भई जीवन सुखमय हुने भन्ने जनविश्वास रही आएको छ।
यसरी अष्टमीको अघिल्लो दिनको साँझ विधि विधान र गौरा गीत सहित गौरा महेश्वरको विवाह गरी भितरी गौरा मनाइसकेपछि हरेकले आ-आफ्नो घरमा मिष्ठान्न तथा विभिन्न पकवानहरू पकाउने गरिन्छ । भोलिपल्ट उक्त भोजनहरू दिनदुःखीहरूलाई समेत बाँडी खुसीयाली मनाउने चलन रहेकाले यो पर्व समुदायमा प्रेम सद्भाव, तथा आपसी भाइचारा बढाउने एकता र मेलमिलापको पर्वको रूपमा समेत रहेको छ। यस पर्वमा मासु मदिरा लगायतका तामसिक भोजनहरू परम्परादेखि नै निषेध गरी मिष्ठान्न तथा शाकाहारी परिकारहरू मात्रै पकाउने चलन रहेको छ।
भित्री गौराको दिन गौरा र महेश्वरको मूर्तिको समीपमा गाईको गोबरबाट दुई वटा कुण्ड निर्माण गरी उक्त कुण्डहरूमा छुट्टाछुट्टै गाईको गौँत र दूध राखी बर्तालु महिलाहरूले सफा धोती लगाई गाईको दूध र गौँतले भरिएका कुण्डहरूमा दुबोलाई चोपी आफ्नो शरीरमा छर्केर अभिषेक गरी कुण्ड स्नान गरिन्छ। कुण्ड स्नान गर्दा व्रतालु महिलाहरूले मर्यादाक्रम अनुसार पालैपालो जोडा मिलाएर नुहाउने चलन रहेको छ। यसरी कुण्ड स्नान गर्दा व्रतालु महिलाले पतिको नामको साथै पुत्रपुत्रीको नाम समेत स्मरण गरी दीर्घायुको कामना समेत गर्ने गर्दछन्। कुण्ड स्नान गर्नुपूर्व गौरा मातालाई उक्त कुण्डमा आएर बास गरिदिन गौरा गीत मार्फत आह्वान गरिन्छ ।
गौरी माताले दूधको कुण्डमा स्थानीय देवीदेवताहरूको बास भएकोले आफू दूधको कुण्डमा कसरी आउने भनी जवाफ फर्काउँदा व्रतालुहरूले स्थानीय देवीदेवताहरू सुनको सिंहासनमा विराजमान गरिबक्सेको कुरा गौरी मातालाई भन्ने र यसरी स्थानीय देवीदेवता र गौरी माताको महिमाको वाचन गर्दै कुण्डमा नुहाउने परम्परा रहेको छ। कुण्ड स्नान गर्दा गौरादेवीलाई व्रतालुले कुण्डमा आह्वान गरेको र गौरा देवीले स्थानीय देवीदेवताहरूको गरिमा र महत्त्व दर्साउँदै जवाफ फर्काएको प्रासङ्गिक भावमा गीत गाउने चलन रहेको छ।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै त भूमिराज देव त मुई लोली कसिकनाई चलु। भूमिराज देव सुनका सिंहासन तमु लोली दूध कुण्ड चल ।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै त सिद्ध केदार मुई लोली कसिकनाई चलु। सिद्ध केदार सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै त निङ्लाशैनीमाइ मुई लोली कसिकनाई चलु। निङ्लाशैनीमाइ त सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै त महारुद्र देव मुई लोली कसिकनाई चलु। महारुद्र देव सुनका सिंहासन तमु लोली दूध कुण्ड चल ।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै त मणिलेक देव मुई लोली कसिकनाई चलु। मणिलेक देव सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै त गोवाञ्जल देव मुई लोली कसिकनाई चलु। गोवाञ्जल देव सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै त बामुनीज्यू देवी मुई लोली कसिकनाई चलु। बामुनीज्यू देवी सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै त बालिचन देव मुई लोली कसिकनाई चलु। बालिचन देव सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै त वीर वेताल मुई लोली कसिकनाई चलु। वीर वेताल सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्डै जगन्नाथ देव त मुई लोली कसिकनाई चलु। जगन्नाथ देव सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्ड त चौरासी सिद्ध मुई लोली कसिकनाई चलु। चौरासी सिद्ध सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
चल तम लोलीगमरा देवी दूध कुण्ड चल, दूधैका कुण्ड त तेत्तीसकोटी देव मुई लोली कसिकनाई चलु। तेत्तीस कोटी देव सुनका सिंहासन तमु लोली दूध कुण्ड चल।।
यसरी गौरा गीत गाउँदा स्थान विशेष फरक फरक देवताका नामहरू पुकार गर्ने चलन रहेको छ। कुण्ड स्नान गरी सकेपछि मात्रै स्थानीय महिलाहरूले सप्तम्या र दुब्धागो लगाउने चलन छ। गौरी महेश्वरको स्थापना गर्ने र शृङ्गार गर्ने चलन पनि ठाउँ र परम्परा अनुसार फरक फरक रहेको देखिन्छ। गौरी महेश्वरको स्थापना स्थानीय देवताका धामीहरूबाट गराउने र उनीहरूले नै गौरी महेश्वरको विवाह गर्ने गर्दछन्। विवाह गर्दा अग्निको वरिपरि गौरी महेश्वरको मूर्तिलाई जन्म जन्मान्तरसम्म यो विवाह अटल रहोस् भनी सात वटा फेरा घुमाउने चलन समेत रहेको छ। सप्तमीका राती विधिवत् रूपले गौरा महेश्वरको स्थापना, विवाह तथा महिलाहरूले कुण्ड स्नान र सप्तम्या धारण गरिसकेपछि स्थानीय देवताका धामीले टिका दिई उक्त दिनको कार्य सम्पन्न हुने तत्पश्चात् सबैले आ-आफ्नो घर गई मिठो मसिनो भोजन गर्ने गर्दछन्।
गौरा पर्वको चौथो दिनलाई अठेवाली तथा दुर्वाष्टमी भनिन्छ। अन्यारी गौराको वर्ष कृष्ण जन्माष्टमी र गौरा पर्व एकै दिन मनाउने गरिन्छ। यो दिन पनि महिलाहरू जम्मा भएर गौरा घरमा रहेको गौरा महेश्वरको मूर्तिलाई थप शृङ्गार गरी नयाँ गौरा बनाई गौरा महेश्वरको मूर्तिलाई शिरमा राखी थाली तथा मदानी समेत साथमा लिई गायन तथा नृत्यका साथ गौरा घरदेखि निस्केर गौरा खलोमा जाने चलन रहेको छ। गौरा खलो भनेको गौरा पर्व खेल्न बनाएको ठाउँ हो। जसलाई मन्दिर जस्तै पवित्र स्थानको रूपमा लिइन्छ। यस क्षेत्रमा गौरा खलोको ज्यादै ठुलो महत्त्व हुनुका साथै गौरा खलामा जुत्ता चप्पल फुकालेर मात्र जाने र मृतक सुतक परेका बेला तथा महिलाको मासिक धर्म भएको छ दिनसम्म गौरा खलोमा नजाने चलन समेत रहेको छ।
गौरा खलोलाई गौरा मनाउनुका साथसाथै सार्वजनिक कार्यक्रम गर्ने ठाउँको रूपमा समेत प्रयोग गरिँदै आएकोले पछिल्लो समय टोल टोलमा पवित्र गौरा खलो सुधारमा ज्यादै जोड दिएको देखिन्छ । जुन सांस्कृतिक प्रवर्धनको लागि ज्यादै सकारात्मक पक्ष हो। गौरा खलोमा कालो पत्थरबाट विशेष मञ्च निर्माण गरिएको हुन्छ । जसलाई “कालोपाट” भनी सम्बोधन गर्ने चलन रहेको छ । जुन देवताका धामीहरू बस्ने विशेष आसन हो। देवता काँपेको समयमा मात्र धामीहरू कालोपाटमा गएर आफ्नो सम्बोधन गरी दर्शनार्थीहरूलाई टिका लगाई शुभ आशिष् दिने गर्दछन्।
गौरा घरबाट गौरा खलामा ल्याइएको गौरा महेश्वरको मूर्तिलाई थालीमा राखी गोलो घेरामा उभिई व्रतालु महिलाहरूले गौरा महेश्वरको जीवनसँग सम्बन्धित प्रेम प्रसङ्ग एवम् विभिन्न घटना संवादहरू तथा गौरा महेश्वरसँग जोडिएका विभिन्न जीवजन्तु तथा वनस्पतिहरूको समेत गौरा गीत मार्फत महिमा गान गरी बिरुडाले दिनभर गौरी महेश्वरको पूजन गरिन्छ। यो पर्व विशेष गरी गौरा महेश्वरको उत्पत्ति तथा मिलनका कथाको आधारमा मनाइने हुँदा यस पर्वलाई समाजमा सदाचार, आस्था, प्रेम, त्याग, समर्पण , सौभाग्य तथा आपसी मेलमिलाप, भाइचारा एवम् पतिव्रता र पत्नीव्रत धर्म सिकाउने महान् पर्वको रूपमा मानिने गरिन्छ।
यस पर्वमा गौरा महेश्वरको महिमा गान सुन्न स्वर्ग लोकबाट देवताहरू समेत आई पर्वमा सहभागी हुने जनविश्वास रहेको छ। सुदूरपश्चिम देवताहरूले बसोबास गर्ने देवभूमि भएकोले यो पर्वमा सबै देवीदेवताहरू खुसी भएर रमाउने हुँदा यस पर्वमा सबै देवी देवताहरूको दर्शन गर्न पाइन्छ भन्ने जनविश्वास छ। यो पर्व माता गौराको जीवनमा आधारित पर्व भएकाले उनको जीवनमा घटेका प्रमुख घटनाहरू र महेश्वरसँग भेट, महेश्वरलाई वर पाउन गरेको तपस्या तथा आमाबुवाको भूमिका आदि विशेष रूपमा वर्णन गरिन्छ। यी घटनाहरूलाई गीत सङ्गीतहरूका माध्यमबाट वर्णन गरी मनाइने हुँदा पर्व ज्यादै रोचक र रहस्यमय हुने गर्दछ।
मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको परीक्षा लिएको घटनापछि भोलेनाथले भित्री रूपमा सतीदेवीको त्याग गरिसकेको कुरा सतीदेवीले थाहा पाई उनले दोस्रो जन्म लिएर भगवान् शिवजीलाई प्राप्त गर्ने इच्छा राखेकी थिइन्। सो इच्छा बमोजिम हिमालय पर्वतराजको घरमा महारानी मेनकाको गर्भबाट पार्वतीको जन्म भएको भन्ने किंवदन्ती रहेको छ। पार्वतीको जन्म पश्चात् उनमा विलक्षण स्वभाव देखा पर्दछन्।
उनी स्वभावले अरू कन्या भन्दा फरक, बाल्य उमेरमा समेत दूर दृष्टिका साथ काम गर्ने र भगवान्को पूजा आराधनामा बढी ध्यान दिने स्वभाव भएकी तथा रूप लालित्यमा समेत अत्यन्तै सुन्दरता र अपार मनमोहकताले भरिपूर्ण थिइन्। उनको जन्म पश्चात् हिमालय पर्वतराजको घरमा धनधान्य तथा ऐश्वर्यको वृद्धि भई आनन्दको वातावरण हुनुका साथै राज्यमा समेत सबै प्रजाहरू ऋण, दुःख, कष्ट, अभाव र पीडाबाट मुक्त भई समाजमा प्रेम तथा सद्भावको वातावरण रहेको थियो। ती कन्याको दर्शन पाउने जो कोही पनि दुःख कष्टबाट छुटकारा पाउने गर्दथे। उनको शारीरिक बनोट दिन, महिना, वर्ष हुँदै फरक हुँदै गइरहेको थियो।
यो कथामा सबै भन्दा पहिले गौरा र महेश्वरको उत्पत्ति विषयलाई वर्णन गरिन्छ। गौरादेवीको उत्पत्ति धान, साउँ, गङ्गा किनारको बलको बोट, तिलको बोट, कुर्जोको बोट, वनको चुलेसी घाँसबाट गौरादेवीको उत्पत्ति भएको भन्ने कुरा यस कथामा उल्लेख भएको पाइन्छ। त्यस्तै श्रीखण्डको काठ र सुनको चौकीबाट महेश्वरको उत्पत्ति भएको भन्ने कुरा यस कथामा उल्लेख गरिन्छ । मेनकालाई यस कथामा मैनावती र हिमालय पर्वतराजलाई रूपनारायणको रूपमा वर्णन गरिएको छ। मैनावतीको कोखबाट गौरादेवीको उत्पत्ति कसरी भयो भन्ने बारेमा पनि यसमा उल्लेख गरिएको पाइन्छ।
कुनै समयमा मैनावतीलाई मासिक धर्म भएको र चार दिनपछि गङ्गा स्नान गरी कैली गाईको गौँतले शरीरलाई शुद्ध गरिन्। त्यसपछि सौन्दर्यपूर्ण फूलको बगैँचामा गइन्। जहाँको सुन्दर दृश्य वर्णन गरी नसक्नु छ । त्यो सुन्दर फूलबारीबाट फुल टिपेर ल्याएर भगवान् सूर्यदेवलाई चढाइन् । उक्त कार्यबाट भगवान् सूर्यदेव प्रसन्न भएर गौराको शरीरमा पवित्र वर्षा गराई जसको कारणबाट मैनावती गर्भवती भइन्। एक दुई महिना बितिसकेपछि जब तीन महिनाको समयमा मैनावतीको शरीरमा अप्ठ्यारो महसुस भयो। उनलाई खाना खान मन नलाग्ने, पानी पिउन मन नलाग्ने, काम गर्न मन नलाग्ने जस्ता शारीरिक कमजोरी देखिएकाले मैनावतीले आफ्नो शरीरमा यस्तो दुर्बलता आएको कुरा रूपनारायणलाई बताउँछिन्।
उनका पति रूपनारायणलाई पत्नीको यस्तो अवस्थादेखि साह्रै डर लाग्दछ र उनी ज्योतिष शास्त्रका ज्ञाता आफ्ना कुल पुरोहित कहाँ जान्छन्। ज्योतिषले आफ्नो ज्योतिष शास्त्रको प्रयोग गरी त्यसको निदान गर्ने कोसिस गर्दछन्। रूपनारायणले घरबाट लगेको शाली चामल र सुनको रुपैयाँ ज्योतिषको चौकीमा भेटी स्वरूप राख्छन् । ज्योतिषले पहिलो पटक हेर्दा पनि राम्रो सङ्केत आयो। दोस्रो पटक हेर्दा पनि राम्रो घेरा आयो। यो देखेर ज्योतिषले भविष्यवाणी गरी उनलाई कुनै किसिमको अनिष्ठ नभएर मैनावतीको कोखबाट एउटा सुन्दर कन्याको जन्म हुने ती कन्या एकदमै सुन्दर र तपस्या गर्ने खालको हुने भनी कन्याको बारेमा भविष्यवाणी गरेपछि उनी घर फर्कन्छन्।
त्यहीबीचमा मैनावतीलाई दाडिम खाने मन लाग्छ । उनी दाडिम मालीको घर जान्छिन्। तर त्यो बगैँचाको मालीले बाचा गरेपछि मात्रै दाडिम दिने कुरा गरेछन्। मैनावतीले के कुरा बाचा गर्ने भन्दा तिम्रो गर्भबाट कन्या जन्मेमा त्यो कन्यासँग मेरो विवाह गर्ने कुराको वाचा गर भनी भनेछ र मैनावती पनि त्यस कुरामा सहमत भई मालीलाई छोरी दिने कुरामा वाचा गरिन्। त्यो बगैँचाको मालिक अरू कोही नभएर महेश्वर स्वयम् नै रहेको भन्ने समेत उल्लेख गरिन्छ। मैनावतीलाई पाँच महिनाको समय हुँदै १० महिनाको समय आएको पनि थाहै भएन। जब उनी गर्भवती भएको दश महिना पूरा भयो, तब उनको कोखबाट एउटा कन्याको जन्म हुन्छ। यसरी कन्या जन्मेको एघारौँ दिनमा नामाङ्करण संस्कार हुन्छ। ब्राह्मणले उनको राशि कुम्भ र गौरी भनेर नामाङ्करण गर्दछन्।
यसरी दिन, महिना र वर्ष बित्दै जाँदा जब गौरीलाई ११ वर्षको उमेर पूरा हुन्छ, तब उनको बिहेको कुरा आउँछ। गाउँका मान्यजन सबैलाई बोलाएर उनको बिहेको कुरा चलाइन्छ।
एकै दिन भया कन्या दुई दिन भया
एकै महिना भया कन्या १२ महिना भया
एकै वर्ष भया कन्या ११ वर्ष भया
११ वर्ष लोली कन्या बियौनी भई जोग
भनेर यसरी गीत गाइने गरिन्छ । गौरीको बिहेको बारेमा कुरा चलिरहेको समयमा अचानक गौरी आएर आफ्ना बुबा रूपनारायणलाई आफू गङ्गा किनारमा गएर तपस्या गर्ने र त्यहाँ एउटा कुटी बनाइदिन अनुरोध गरिन्। यो सुनेर रूपनारायण लगायत सम्पूर्ण सभासद्हरू अचम्ममा पर्छन् र उनलाई सम्झाउने प्रयास गर्दछन्।“ तमरापुत बालिकन्या तपुलवै नाइँ हुनो, कित तपु गरन्नी सीता पार्वता, कित तपु गरन्नी दुरुपता रानी” भनेर तपस्या गर्ने भनेको सीता, पार्वती, द्रौपदी जस्ता नारीहरूले हो, सानी कन्याले तपस्या गर्न सक्दैन, भनेर गौरालाई सम्झाउने प्रयास गरिन्छ। तर उनले नमानेपछि ज्योतिषको भविष्यवाणी याद आउँछ र कुटी बनाउनको लागि रूपनारायण तयार हुन्छन्।
आफ्नो वेगसाथ बगिरहेको गङ्गा नदीको तटमा एकान्त स्थलमा गौराको लागि कुटी तयार गरिन्छ। जसको वरिपरि जङ्गलले ढाकेको र दुवैतिर सम्म परेको किनारा, मानौँ कि त्यहाँ स्वर्गका देवताहरू पनि स्नान गर्न आउने गर्दछन्। यस्तो सुन्दर मनोरम दृश्य भएको ठाउँमा भगवान् भोलेनाथलाई आफ्नो जीवनसाथी पाउँ भनेर माता गौराले तपस्या गर्छिन्। उता भोलेनाथ पनि सतीदेवीको पुनर्जन्म भइसकेको कुरा थाहा पाएर पृथ्वी लोकमा आई महेश्वरको रूप धारण गरी गौरीको तपस्याको रहस्यलाई राम्रोसँग अवलोकन गर्न र गौरीको तपस्यालाई साकार पार्न त्यही नदीको पारिपट्टि भैँसी चराउने ग्वालाको रूपमा दिनहुँ त्यहाँ आउँछन्। यसबीचमा
“वारि बाटा बालिकन्या हार कि औणन्नी
पारि बाटा महेश्वर घोडा कि धपाउन्ना
घोडिया धपाउन्ना गुसाँई पान कि चपाउन्ना
सानन सालन्नी कन्या मथेडो कोरन्नी
वारि बाटा महेश्वर बासुली बजाउन्ना
पारि बाटा लोली कन्या विणई बजाउन्नी”
भनेर गौरा गीत गाएर वारिपट्टि गौराले शिवजीको लागि माला तयार गर्दछिन् भने पारिपट्टि उनी घोडामा चढ्दछन्। वारिबाट गौराले बालुवाबाट बनेको मिष्ठान्न भोजन तयार गर्दछिन् भने पारिपट्टि महेश्वरले घोडामा चढी पान चपाउँदछन्। वारिपट्टि गौराले कपाल कोर्दछन् भने पारिपट्टि महेश्वर वेद पढ्दछन्। वारिपट्टि महेश्वर वेद पढ्दछन् भने पारिपट्टि गौरा वीणा बजाउँछिन्। वीणाको स्वरले मन्त्रमुग्ध भएका महेश्वर पारिपट्टि गौरा भएको ठाउँमा पुग्दछन् भनी गौरा महेश्वरको प्रेम प्रसङ्गलाई जोड्ने चलन समेत रहेको छ।
धेरै वर्षसम्म लोलीगमरा र महेश्वरको आपसी मौन प्रेम अन्तमा विवाहमा परिणत हुन जान्छ। जसको लागि महेश्वरले गौराको घरमा गएर मगनी गर्ने कुराको तय हुन्छ। जसका लागि महेश्वरले जोगीको रूप धारण गरेर मैनादेवी र रूपनारायणको घरमा जाने कुरा तय हुन्छ। कुन घर हो भनेर कसरी थाहा पाउने? कुन बाटो भएर जाने? कसरी घर थाहा पाउने? भन्ने कुरा सन्दर्भमा आफ्नो बुवाको घरको बाटो र घरमा भएको विशेषताहरूको वर्णन गौरीले यसरी गर्दछिन्।
बाबा ज्यूका माल आगि कुसुम सुवाडी
उइरेहोला वडूभाट बाबाज्यूको घर
बाबा ज्यूको माल आघि तुलसी विणवा
उइरेहोला वडूभाट बाबाज्यूको घर
लासवाद्या हात्ती हुन्ना लासै वाद्या घोडा
बाबा ज्युका माल अगि वादेकी नवाली
बाबा ज्यूका माल आघि जोला मुङरौँ
बाबा ज्यूका माल आघि मुङरीञा केला
गौराले गीत मार्फत घर जाने बाटो बताउँदा मेरा बुबा ज्यूको घर जाँदा दायाँ हातको बाटो हुँदै जानुपर्दछ। बायाँ हातको बाटो गयो भने घनघोर जङ्गलमा पुगिन्छ। गाउँमा पुगिसकेपछि मेरो बुबाको घरको वरिपरि कुसुमको फूलको बगैँचा, आँगनमा तुलसीको बोट, हात्तीसार, सुन्तला र दाडिमको बगैँचा, सफा पानीको न्वालो, आँगनमा एक हल गोरु बाँधेको, चारैतिर पर्खाल लगाएको, बिच आँगनमा सभा स्थल भएको तथा घरभित्र जानको लागि लिसन (भर्याङ) भएको छ। त्यही मेरो बुवाको घर हो भनेर बताउँछिन्। यति सुनिसकेपछि जोगीको भेषमा महेश्वर गौराको माइत भिक्षा माग्न जान्छन्। यहाँ महेश्वरले आफ्नो गोत्र कश्यप र गौरीले साङ्लो गोत्र भएको कुरा बताएको पनि प्रसङ्ग आउने गर्दछ।
महेश्वर भिखारीको मगन्ते भेषमा शरीरभरि खरानी घसेर मैनावतीका घरमा जान्छन्। घरमा साधु सन्न्यासी आएपछि उनको सम्मान गर्ने र उनलाई यथाशक्य दान दक्षिणा तथा भिक्षा दिने परम्परा हाम्रो सनातन परम्परा हो। यही कुरालाई ख्याल गरेर मैनावती भिक्षुलाई भिक्षा दिन तयारी गर्दछिन्। सुनको थालमा शालीका चामल राखेर भिक्षुकलाई भिक्षा दिन खोज्छिन् तर भिक्षुको त्यो भिक्षा लिने इच्छा हुँदैन र भिक्षुले यस्तो चिज वस्तु मेरो घरमा पनि भएको कुरा बताउँछन् । त्यसपछि गाग्रो, तामाको ताउलो, तामाका भाडा वर्तन, भात खाने थाल, दूध दिने भैँसी वा गाई, एक हल गोरु समेत मैनावतीले भिक्षा दिन खोज्छिन् तर ती सबै चिज वस्तु आफ्नो घरमा भएको र ती चिज वस्तुहरू लग्दैन भनेर भिक्षुले भिक्षा लिन इन्कार गर्दछन्।
त्यसपछि मसँग भएको चिज वस्तु मात्र माग, नभएको चिज वस्तु नमाग भनेर मैनावतीले भन्दा महेश्वरले हजुरसँग भएको चिज मात्र माग्न खोजेको हो। भिक्षा दिने बाचा गर्नुस् भनी वाच्य बोल्न लगाउँछन्। यसरी पाँच चोटि वाच्य बोलाइ सकेपछि तपाईँको कन्या मलाई भिक्षा देऊ भनी भिक्षाको रूपमा मैनावतीसँग गौरालाई माग्दछन्। भिखारीको कुरा सुनेपछि मैनावती आकाशबाट खसेजस्तै भएर शरीरभरि छारै छार घसेर हिँड्ने छारफुकालाई मेरो छोरी कसरी दिने भनी इन्कार गर्छिन्। शरीरको खुट्टादेखि शिरसम्म खरानी भएको मान्छेलाई कसरी मेरो छोरी दिने भनी खिसीटिउरी काट्दै तँ जस्तोलाई मेरी कन्या दिनुभन्दा त सूर्य देवता, भगवान् श्रीरामचन्द्र, भगवान् श्रीकृष्ण आदि देवताहरूलाई मेरी कन्या दिनेछु भन्दछिन्।
मैनावतीको यस्तो उत्तर सुनेपछि त्यसको जवाफमा जोगीको रूप धारण गरेका महेश्वरले सूर्यलाई तिमिले छोरी दिए सूर्यको ताप खप्न नसकी जल्नेछन्। चन्द्रलाई दिए चन्द्रमाको मोहमा परी निद्रामै भुल्ने र रामलाई दिए सीताको सौता, कृष्णलाई दिए रुक्मिणीको सौता र विष्णुलाई दिए लक्ष्मीको सौता तथा महादेवलाई दिए पार्वतीको सौता हुनेछन् भनेर भिक्षुले भनेपछि मैनावतीले तँलाई मेरो छोरी दिनु भन्दा बरु माटोमै गाड्छु, आगोमै जलाउँछु, पानीमै बगाउँछु, तर तँलाई मेरो छोरी दिँदैन भनी इन्कार गरेपछि गौरादेवी पनि त्यहाँ आइपुग्छिन् र जोगीलाई वास्तविक रूपमा प्रकट हुन आग्रह गर्दछिन्।
त्यसपछि जोगी पनि आफ्नो भेष बदली एउटा सुन्दर स्वरूपमा देखा पर्दछन्। त्यो कुमारको यस्तो सुन्दरता थियो कि, जसको रूपको मोहमा परेर जो कोही नारी पनि मोहित नहुने कुरै थिएन। भिखारीको यस्तो सुन्दर रूप देखेपछि स्वयं मैनावती समेत मोहित भएर गौराले विवाह गरे ठिक नत्र मै पनि विवाह गर्न तयार छु भनी केटालाई आफूतिर आकर्षित गर्न थालिन्। मैनावतीको यस्तो अवस्था देखेर महेश्वरले हजुर त मेरो सासू आमा हुनु भएको कारण हजुरसँग बिहे गर्ने कुरै भएन भनी मैनावतीलाई सम्झाई महेश्वरले गौरीसँग जङ्गलमा पहिले नै गोप्य रूपमा विवाह भइसकेको कुरा बताउँछन्। गौरा महेश्वरले गोप्य रूपमा विवाह गर्दा उनको विवाह भएको कुरा जङ्गली जनावर तथा गाईबस्तुहरूले लुकेर हेरेको कारण हेर्ने जीवजन्तु मध्ये गौरीले बाख्रालाई तेरो सन्तानको बलि होस् भन्ने श्राप दिएको, भैँसीलाई राँगाको बलि होस् भन्ने श्राप दिएको, मौरीलाई महको ढाड होस् भन्ने श्राप दिएको, गोरुलाई जोतिनु पर्ने श्राप दिएको तथा गाईलाई तेरो मुख अशुद्ध होस् भन्ने श्राप दिएको भन्ने किम्बदन्ती रहेको छ।
छाड्यो गुसाँई महेश्वरले तपस्वीको रूप
पैर्यो गुसाँई महेश्वरले आफनु रूप
पैर्यो गुसाँई महेश्वरले आफनु धारण
हात्तीको पत्तर समाई सेवालाईन आया
बाहिरबाट महेश्वर वेद कि पडन्ना
भित्रीबाटा मैनावती रूप की पैरन्नी
यसरी महेश्वरले सुन्दर रूप धारण गरी गौरासँग गोप्य रूपमा विवाह भएको कुरा बताएपछि बिहे हुने निश्चित हुन्छ। अब मैनावतीले महेश्वरलाई तमरो बिहेमा बरियाँती को को आउँछन्? दुलहीको लागि कस्तो लुगा ल्याउँछौ? जन्तमा अगाडी को आउँछन्? बाहुन को आउने हुन्? फगारी को को आउँछन्? भनी प्रश्न सोध्दा त्यसको उत्तरमा महेश्वरले वेदुवा बाहुन आउने, थानको कपडा ल्याउने, पञ्च फगारी आउने आदी कुरा बताउँछन्। यसरी महेश्वर र गौरीको बिहे छिनेको समय चैत्र मास भएकाले त्यतिखेर खानाको अभाव तथा फलफूलको अभाव हुने भएको हुँदा भाद्र महिनामा विवाह गर्ने कुराको निधो गरियो।
यसरी गौरा महेश्वरको विवाह सम्पन्न भइसकेपछि केही दिनसम्म राम्रो सुखमय जीवन बित्यो तर महेश्वरको घरमा परिवार धान्न आवश्यक खाद्यान्न सामग्री नभएकोले केही परिसानी उत्पन्न भई गौरा महेश्वर अभावको जीवन बाँच्न बाध्य हुन्छन्। त्यत्तिकैमा एक दिन महेश्वरले गौरालाई तँसँग बिहे गरेपछि मेरो घरमा अपशकुन भएको, खानाको अभाव, दूधको अभाव, पैसाको अभाव भयो भनी गौरालाई अलक्षिना भन्ने मनसायको कुरा सुनाएपछि त्यसको प्रतिउत्तरमा गौराले आफू सुलक्षणा भएको र आफूले कहिले उभिएर पानी नपिएको, उभिएर कपाल नकोरेको, बसेर लिपपोत नगरेको, रातमा ब्युँझेर खाना नखाएको, औँसी पूर्णिमाको दिनमा घरमा आएको मान्छेलाई भोकै नपठाएको एवम् एउटा कुशल नारीमा हुनुपर्ने गुण आफूमा भएको भनी रिसाएर माइत गइन्।
यसरी गौरा रिसाएर माइत गएपछि महेश्वर पनि गौरीलाई खोज्दै हिँड्दछन्। महेश्वरले गौरीको खोजतलास गर्दै हिँड्ने क्रममा बाटोमा सबभन्दा पहिले सल्लाको बोटसँग भेट हुन्छ र महेश्वरको मेरी लोली गौरालाई देख्यौ कि भनी सोध्दा सल्लाले म आफै आफ्नै सुसाट भूपाटमा भएकोले मैले कसैको लोली सोली देखिन भन्ने जवाफ दिएको हुनाले महेश्वरले तिम्रो काटिएको मुडो नपलाओस् भनी सल्लालाई श्राप दिएको हुँदा उक्त दिनदेखि सल्लो काटेपछि पलाउँदैन भन्ने किम्बदन्ती रहेको छ।
त्यसपछि बाटोमा महेश्वरको भेट जुकासँग भएको र उसलाई लोली गोराको बारेमा सोध्छन्। जुकाले रोक्न खोजेको तर मलाई टिपेर फालेको भनी भन्दा तिमीले खाएको कसैले थाहा नपाओस् भनी श्राप दिएको र त्यसपछि हिँड्दै जाँदा महेश्वरको भेट ऐराको बोटसँग भएको र ऐराको बोटसँग गौराको बारेमा सोध्दा उसले पनि आफूले रोक्न खोजेको तर सिधा भएकोले रोक्न सकिन भन्दा तेरो काँडा उल्टो होस् भन्ने श्राप दिएको भन्ने कुराहरू गौरा गीतहरूमा उल्लेख गरेको पाइन्छ।
त्यसरी बाटामा सोध्दै जाँदा अन्तमा महेश्वर ससुराली पुग्दछन् र ससुरालीमा गौरीको कामलाई लुकेर हेरिरहन्छन्। गौरीले माइतमा गएर सिस्नुको खोले अखाँडी खान्छिन्। पकाउनको लागि टोटो ताप्के र खेतीपाती गर्नका लागि बुढो गोरु समेत दाइजो लिएर घर फर्कन्छिन्। गौरीले सिस्नाको अखाँडी टोटे ताप्केलाई पछ्यौरीमा लुकाएर ल्याएकी हुन्छिन्। उता महेश्वरले पनि गौराको पछिपछि लागेर घर फर्किछन् र बाटोमा गौरी महेश्वरको भेट भएपछि माइतमा गएर के के खायौ र कोसेली के ल्याएर आयौ भनी आफ्नी प्रेमिकालाई सोध्दछन्।
गौरीले जवाफमा माइतमा आफूले खिर खाएकोले कोसेलीको रूपमा खिर ल्याएको तथा चरु ताउलो र हात्ती दाइजोमा ल्याएको कुरा बताउँछिन्। चरु ताउलो भनेको तामाको ठूलो भाँडो हो। जसको तौल चार धार्नीदेखि छ धार्नीसम्म हुन्छ। सुदूरपश्चिमको ग्रामीण भेगमा चरु ताउलो हुने मान्छेलाई सम्पन्न मानिन्छ। त्यसैले गौरीले पनि आफूले चरु ताउलो ल्याएको भनी प्रसङ्गमा उल्लेख गरिएको हो। गौरीको यस्तो कुरा सुन्दा महेश्वरले पछ्यौरीमा के ल्यायौ खोलेर देखाउन भनेपछि आफ्नो झुट पक्रिने भनी उनी धर्म सङ्कटमा परी ईश्वरको ध्यान गरिन्।
गौरी सत्य निष्ठा भएकी पतिव्रता नारी भएका कारण उनको पुकारलाई ईश्वरले सुनी उनले पछ्यौरी उखेलेर देखाउँदा साँच्चिकै त्यहाँ सिस्नुको अखाँडीको सट्टामा खिर, टोटो ताप्केको चरु ताउलो हुनुका साथै दाइजोमा ल्याएको बुढा गोरु समेत हात्तीमा परिणत भए। यसरी पतिव्रता नारीमा विलक्षणशील शक्ति हुन्छ । जसले गरेको पुकार ईश्वरले पनि पुरा गर्दछन् भनी पतिव्रता धर्मको महिमा गान समेत गौरा गीतहरूमा उल्लेख गरेको पाइन्छ। यसरी अष्टमीको दिनमा यो प्रेम प्रसङ्गलाई महिलाहरू गीतको माध्यमबाट गाएर व्रत सिद्ध्याउँछन्। यसलाई स्थानीय भाषामा अठेवाली गाउन पनि भनिन्छ।
यसरी अठेवाली गाइसकेपछि गौरा र महेश्वरलाई शिरमा राखेर गौरा नचाउने चलन छ। गौरा नचाइसकेपछि गौरा खलोमा स्थानीय देवताका धामीबाट टीका लगाउने चलन छ। यसरी अष्टमीको दिन गौरा पर्वको अन्तमा गौरा महेश्वरलाई चढाइएका ऋतु फल तथा पञ्च बिरूडीलाई सफा चादरमा राखेर आकाशतर्फ फालेर पाँच चोटि फल फट्काउने चलन रहेको छ। फल फट्काउँदा जसले आकाशमै भुईँमा नखसेको बिरुडा वा फलहरू प्राप्त गर्न सक्छ, त्यसको राम्रो हुन्छ भन्ने मान्यता भएकोले फल फट्काउने चलन ज्यादै रोचक हुनुका साथै यसमा तँछाडमछाड तथा भाग दौड समेत हुन्छ।
फल फट्काएपछि अन्तमा बिरुडाले मुण्डो पुज्ने चलन रहेको छ। स्थानीय भाषामा शिर अथवा टाउकोलाई मुण्डो भन्ने गरिन्छ। गौरा व्रत बसेका महिलाले बाघ जति बलियो भएइ, स्याल जति मोटो भएइ, जोली खाट सिन् पाएइ, जोला पूत खेलुन् पाएइ, जोला गाई दुन पाएइ, दुबाकी जानि चौडिएइ, गुफाकी जानि फुलिझेइ, तालुकि जानि न्युडीझेइ, हिमाञ्जल हिउँ छन्ज्यासम्म बाँची रएइ, मेरा मन्दिरकी जानि अटल रएइ” पञ्चमीको बिरुडो, दसैँको जमरो, दुत्त्याको चिउरो सधैँ प्राप्त भइराखोस् भनी शुभ-आशिष् दिँदै बिरुडाले सबैको मुण्डो पुज्ने गर्दछन्। महिलाहरूले एक आपसमा पनि मुण्डो पुज्ने चलन रहेको छ। यसरी यस क्षेत्रमा गौरालाई सबैभन्दा ठुलो पर्व तथा पञ्चमीको बिरुडालाई सबैभन्दा विशिष्ट तथा पवित्र वस्तु मान्ने चलन रहेको छ। यसरी यस क्षेत्रमा पञ्चमीको बिरुडा, दसैँको जमरा, द्वितीया (भाइटिका) के चिउरो प्राप्त गर्नु सौभाग्यको प्राप्तिको प्रतीकको रूपमा लिने गरिन्छ।
लेखक
ज्यो.प. हरिकृष्ण भट्ट
दशरथ चन्द नगरपालिका-१, गुरुखोला, बैतडी
(गोवाञ्जल देवताका धामी)
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ १४:२८