हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ भदौ । सुदूरपश्चिममा गौरा पर्वको रौनक बढ्दै गएको छ । मंगलबार पञ्चमीका दिन बिरुडा भिजाएर सुरु भएको गौरा पर्व बिहीबार तेस्रो दिन सप्तमीको धार्मिक अनुष्ठानमा पुगेको छ । गाउँबस्तीका गौरा घर तथा मन्दिरमा चहलपहल बढेको छ । व्रतालु महिलाहरू गौरा भित्र्याउने, पूजा गर्ने, माङ्गलिक गीत फाग तथा सगुन गाउने र अरू व्यक्तिहरू देउडा खेलमा व्यस्त देखिन्छन् ।
-1788286888.jpg)
गौरा पर्वको पहिलो दिन पञ्चमीमा पाँच प्रकारका अन्न तथा गेडागुडीबाट बिरुडा तयार गरी भिजाउने गरिन्छ । गहुँ, गहत, गुरुँस, मास र सानो आकारको केराउ मिसाई तामाका भाँडामा शुद्ध पानीमा भिजाएर बिरुडा तयार गर्ने परम्परा छ । यद्यपि, सबै समुदायमा बिरुडा तयार गर्ने विधि भने एउटै छैन ।
-1788286888.jpg)
पञ्चमीमा भिजाइएको बिरुडालाई षष्ठीका दिन पवित्र धारा, न्वाला वा कुवामा लगेर पखाल्ने गरिन्छ । त्यसपछि सप्तमीमा गौरा देवीको प्रतिमूर्ति तयार गरी गौरा घर वा मन्दिरमा भित्र्याउने परम्परा छ । बेलडाँडी गाउँपालिका–२ रौलेश्वर टोलकी रमा बिष्टका अनुसार गौरा पर्वमा पञ्चमीदेखि नै क्रमशः धार्मिक विधि अघि बढ्छ । बिरुडा छान्ने, भिजाउने, बिरुडा पखाल्ने, व्रत बस्ने, गौरा–महेश्वरको प्रतिमूर्ति तयार गर्ने र पूजा गर्ने विधि पर्वका प्रमुख चरण हुन् ।
आज गौरा भित्र्याउँदै, महिलाहरू व्रत र पूजाआजामा ।।
सप्तमीका दिन खेतबारी तथा वनपाखाबाट पवित्र वनस्पति सङ्कलन गरी गौरा देवीको प्रतिमूर्ति बनाउने गरिन्छ । धानको बोट, साउँ, दुबो, तिल, कुश, अपामार्गलगायतका वनस्पतिबाट प्रतिमूर्ति तयार पारेर डालोमा राखिन्छ । त्यसपछि गौरा घर वा मन्दिरमा भित्र्याएर विधिपूर्वक पूजा गरिन्छ ।
-1788459805.jpg)
कतिपय स्थानमा पहिलो पटक गौरा व्रत बस्ने महिलालाई गौरा भित्र्याउने विधिमा सहभागी गराउने चलनसमेत रहेको जानकारहरू बताउँछन् । यसले धार्मिक अनुष्ठानसँगै नयाँ पुस्तालाई पर्वका विधि सिकाउने परम्परालाई पनि निरन्तरता दिएको छ । गौरा भित्र्याएपछि विवाहित महिलाहरूले दिनभर व्रत बसेर गौरा–महेश्वरको पूजा गर्ने गर्छन् । आफूले धारण गर्ने दुबधागो, नयाँ कपडा तथा अन्य पूजाका सामग्रीसमेत अभिषेक गर्ने परम्परा छ ।
-1788459811.jpg)
ज्योतिष पण्डित यज्ञराज पन्तका अनुसार गौरा पर्वका विभिन्न तिथि र पूजा विधि धार्मिक मान्यतासँग गहिरोसँग जोडिएका छन् । श्रद्धालु महिलाहरूले पुत्रदा एकादशी, गौरा सप्तमी र अष्टमीका अवसरमा व्रत तथा पूजाआजा गर्ने परम्परा रहेको उनी बताउँछन् । गौरा देवीलाई भगवान् शिवकी पत्नी पार्वतीको स्वरूपका रूपमा लिइन्छ । त्यसैले गौरा पर्वलाई दाम्पत्य सुख, पारिवारिक एकता, सौभाग्य तथा समृद्धिसँग जोडेर हेर्ने गरिन्छ । विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु, सन्तान प्राप्ति तथा परिवारको सुख–शान्तिको कामना गर्दै व्रत बस्ने गर्छन् ।
सगुन, फाग र देवीदेवताका गीतमा धार्मिक कथा र लोकजीवन ।।
गौरा घर तथा मन्दिरमा सप्तमीसँगै उल्लासमय वातावरण बनेको छ । महिलाहरू सामूहिक रूपमा भेला भएर सगुन र फाग गाउन थालेका छन् । बेलडाँडी गाउँपालिका–१ भण्डारी टोलकी ७० वर्षीया जयन्ती भण्डारीका अनुसार गौरा सुरु भएसँगै महिलाहरूले माङ्गलिक गीत गाउने परम्परा छ । सगुन, फाग र अठेवालीमा धार्मिक आस्थासँगै पारिवारिक सम्बन्ध, सुख–दुःख, प्रेम, पीडा तथा समाजका विभिन्न पक्ष अभिव्यक्त हुने गर्छन् ।
-1788459806.jpg)
गौरा पर्वका यी गीत लिखितभन्दा बढी मौखिक रूपमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका छन् । त्यसैले यी गीत धार्मिक अनुष्ठानका अङ्ग मात्र नभई सुदूरपश्चिमको लोकसाहित्य र सांस्कृतिक स्मृतिका माध्यमसमेत बनेका छन् । गौरा पर्वमा धार्मिक विधि पूरा गर्ने क्रममा कतिपय ठाउँमा व्रतालु महिलाहरू रातिसम्म जाग्राम बस्ने, देवीदेवताका कथा सुन्ने तथा फाग र सगुन गाउने गर्छन् । यसले गाउँबस्तीमा धार्मिक वातावरणसँगै पारिवारिक तथा सामाजिक सम्बन्धलाई पनि बलियो बनाउने गरेको स्थानीय बताउँछन् ।
अष्टमीमा पुग्छ पर्वको उत्कर्ष ।।
सप्तमीपछि गौरा पर्वको मुख्य दिन अष्टमीलाई मानिन्छ । सप्तमीका दिन गौरा–महेश्वरको विधिपूर्वक पूजा गरेर अष्टमीका दिन आठ अध्याय र आठ खण्डमा आधारित अठेवाली, फाग तथा गौराको गीति कथा गाउने परम्परा छ ।
-1788459818.jpg)
बेलडाँडी गाउँपालिका–१ भण्डारी टोलकी माया भण्डारीका अनुसार अष्टमीका दिन पूजापछि गौरा र महेश्वरलाई शिरमा राखेर नाच्ने, बिरुडा र दुबोले पूजा गर्ने चलन छ । यस क्रममा घरपरिवार, आफन्त तथा छरछिमेकी एकै ठाउँमा भेला भएर व्रतालु महिलाहरूले सबैलाई बिरुडा र दुबोले नै पुज्ने र प्रसादका रूपमा समेत दिने भएकाले गौरा धार्मिक अनुष्ठानसँगै सामाजिक पुनर्मिलनको अवसरसमेत बन्ने गरेको छ ।
-1788459808.jpg)
गौरा पर्वमा टाढाटाढाबाट आफन्त घर फर्कने, पुराना साथीभाइ भेट्ने र आपसी सम्बन्ध नवीकरण गर्ने परम्परा रहेको उनी बताउँछिन् । यसले पर्वलाई व्यक्तिगत धार्मिक आस्थाभन्दा माथि उठाएर समुदाय जोड्ने सामाजिक संस्कारका रूपमा स्थापित गरेको छ ।
देउडाले थप्छ पर्वमा रौनक ।।
गौरा पर्वको अर्को प्रमुख आकर्षण हो, देउडा । सप्तमीदेखि कतिपय ठाउँमा देउडा र ठाडो खेलको तयारी सुरु भए पनि अष्टमीपछि यसको रौनक अझ बढ्ने गर्छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीस्थित सिद्धनाथ मन्दिर समितिका अध्यक्ष ललितबहादुर चन्दका अनुसार गौरा सुरु भएदेखि करिब एक सातासम्म विभिन्न ठाउँमा देउडा खेल्ने गरिन्छ । कतिपय स्थानमा गौरा विसर्जनपछि पनि मन्दिर तथा सार्वजनिक स्थलमा मध्यरातसम्म देउडा खेल्ने र रमाइलो गर्ने चलन छ ।
महिला–पुरुष गोलाकार घेरामा हात समातेर खेल्ने देउडामा तत्कालै सिर्जना गरिने प्रश्न–उत्तर शैलीका गीत, ठट्यौली, व्यङ्ग्य र सामाजिक विषय प्रस्तुत गरिन्छ । त्यसैले देउडा मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक संवाद र सम्बन्ध नवीकरणको माध्यम पनि हो ।
पुस्तान्तरणमा चुनौती ।।
गौरा पर्वको धार्मिक तथा सांस्कृतिक निरन्तरता भने नयाँ पुस्तासँग जोडिएको छ । हजुरआमा र आमाबाट सिकेका पूजा विधि छोरी र बुहारीले सिक्ने, घरमा गाइने माङ्गलिक गीत सुन्दै नयाँ पुस्ता हुर्कने तथा देउडा र अठेवालीमार्फत संस्कृति बुझ्ने क्रम पुस्तौँदेखि चल्दै आएको छ । तर आधुनिक जीवनशैली, वैदेशिक रोजगारी, बसाइसराइ र परम्परागत संस्कार सिक्ने अवसरको कमीले यसको पुस्तान्तरण चुनौतीमा परेको स्थानीय बताउँछन् ।
-1788459814.jpg)
बैतडीको दशरथचन्द नगरपालिका–१ पाली बस्ने सरस्वती भट्टले गौरा पर्व मनाउने क्रम निरन्तर रहे पनि यसको मौलिक विधि, गीत र परम्पराको ज्ञान नयाँ पुस्तामा पुग्न नसके केही समयपछि बाहिरी उत्सव मात्र बाँकी रहने जोखिम रहेको बताउँछिन् । उनका अनुसार विगतमा गौरा पर्वलाई लक्षित गरेर देश–विदेशमा रहेका आफन्तसमेत गाउँ फर्कने र गाउँघरमा ठूलो जमघट हुने गर्थ्यो । अहिले त्यो क्रम केही कम भएको र यसले नयाँ पुस्तामा मौलिक संस्कार तथा संस्कृति हस्तान्तरणबारे चिन्ता बढाएको उनको भनाइ छ ।
-1788459811.jpg)
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ की बिस्ना भण्डारी भने नयाँ पुस्तालाई गौरा पर्वका संस्कार र परम्परासँग जोड्नुपर्ने बताउँछिन् । युवापुस्तालाई पूजा विधि, गीत, अठेवाली र देउडामा सहभागी गराउँदै यसको ज्ञान र अभ्यास हस्तान्तरण गर्न सके मात्र गौराको मौलिकता जोगिने उनको भनाइ छ ।
पञ्चमीदेखि अष्टमीसम्मको यात्रा ।।
पञ्चमीमा बिरुडा भिजाएर सुरु भएको गौरा पर्व षष्ठीमा बिरुडा पखाल्दै आज सप्तमीमा गौरा भित्र्याउने चरणमा पुगेको छ । अब अष्टमीसँगै यसको धार्मिक तथा सांस्कृतिक पक्ष उत्कर्षमा पुग्नेछ । बिरुडामा प्रयोग हुने पाँच प्रकारका अन्न, गौरा तयार गर्न प्रयोग हुने वनस्पति, दुबधागो र नयाँ लुगा, माङ्गलिक गीत, सगुन, फाग, अठेवाली र देउडाले सुदूरपश्चिमको मौलिक जीवनशैली र लोकसंस्कृतिको चित्र प्रस्तुत गर्छन् ।
-1788459818.jpg)
गौरा महिलाको धार्मिक आस्था र पारिवारिक सुख–शान्तिको कामनासँग जोडिएको पर्व भए पनि यसको अर्थ त्यतिमै सीमित छैन । आफन्त भेटघाट, सामाजिक सम्बन्ध नवीकरण, सामुदायिक एकता र पुस्ताबीच सांस्कृतिक ज्ञान हस्तान्तरणको अवसरका रूपमा समेत यसको महत्त्व छ ।
-1788459816.jpg)
त्यसैले गौरा एउटा पर्व मात्रै होइन, सुदूरपश्चिमको लोकस्मृति, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानको जीवित दस्ताबेज पनि हो । आज गौरा भित्र्याउँदै गर्दा गाउँबस्तीमा एउटा धार्मिक अनुष्ठान अघि बढिरहेको छ भने त्यससँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृति पनि नयाँ पुस्तातर्फ सर्दै छ ।
याे समाचार ekantipur.com बाट साभार गरिएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३ २३:०४