हरिश्चन्द्र बाग, कञ्चनपुर, १० भदौ । युवाका सवाल, समस्या र सरोकार पहिचान गर्दै समाधानका उपाय खोज्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा ‘भलाकुसारी’ कार्यक्रम आयोजना गरिएको छ । बेलौरी नगरपालिकाका विभिन्न वडाबाट १२ जना युवाको समावेशी सहभागितामा मंगलबार बेलौरी बजारस्थित प्रेम होटेलको सभा हलमा कार्यक्रम गरिएको हो । ‘विभिन्न समसामयिक विषयमा सुरक्षित रूपमा खुला छलफल, सिकाइ र अनुभवको सँगालो’ भन्ने अवधारणासहित आयोजना गरिएको भलाकुसारीमा सहभागी युवाले स्थानीयदेखि राष्ट्रिय तहसम्मका विविध समसामयिक सवालमा खुला रूपमा विचार राख्दै छलफल र विचार मन्थन गरेका छन् ।

युवाको आवाजलाई नीति निर्माण र लोकतान्त्रिक प्रक्रियासँग जोड्ने उद्देश्यले सञ्चालित ‘लोकतान्त्रिक सहभागिताका लागि नागरिक संलग्नता प्रवर्द्धन परियोजना’ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । युवाका सवाल सुन्ने, उनीहरूले भोगिरहेका समस्या पहिचान गर्ने र सम्भावित समाधानका उपाय खोज्ने उद्देश्यले कर्णाली र सुदूरपश्चिम प्रदेशमा परियोजना सञ्चालन भइरहेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को आर्थिक सहयोग तथा सुशासन प्रवर्द्धनका लागि युवा (YGGP) को सहकार्यमा सञ्चालित परियोजनाअन्तर्गत समुदाय स्तरमा ‘भलाकुसारी’ र प्रदेश स्तरमा ‘मन्थन सेसन’ सञ्चालन गर्ने गरी कार्यक्रम अघि बढाइएको परियोजना संयोजक शुक्रबहादुर विकले जानकारी गराउनुभयो ।

उहाँका अनुसार युवाका वास्तविक समस्या र सवाल पहिचान गर्न उनीहरूलाई सुरक्षित वातावरणमा आफ्ना धारणा राख्ने अवसर प्रदान गर्नु परियोजनाको प्रमुख उद्देश्य हो । समुदाय स्तरमा हुने यस्ता छलफलले युवाका समस्या, आवश्यकता र अपेक्षालाई सम्बन्धित तहसम्म पुर्याउन सहयोग पुग्ने उहाँले बताउनुभयो । परियोजना संयोजक विकले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने जानकारी गराउनुभयो । युवाका समस्या पहिचान गरी तिनको समाधानका लागि आवश्यक पहल गर्न समुदाय स्तरमै छलफल र संवादको वातावरण निर्माण गरिने उहाँको भनाइ छ ।

युवालाई र लाभग्राहीका रूपमा मात्र नभई सुशासन, लोकतान्त्रिक सहभागिता र सामाजिक रूपान्तरणका सक्रिय साझेदारका रूपमा स्थापित गर्ने उद्देश्यले सञ्चालित यस्ता कार्यक्रमले स्थानीय तहमा युवाको आवाजलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागी युवाले पनि आफ्ना सवालमाथि खुलेर बहस गर्ने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अवसर प्राप्त भएको बताएका छन् । स्थानीय विकास, सुशासन, युवा सहभागिता, अवसर, सामाजिक समस्या तथा समसामयिक विषयमा गरिएको छलफलले युवालाई आफ्ना अधिकार र जिम्मेवारीबारे थप सचेत बनाउन सहयोग पुगेको बताइएको छ । सोही कार्यक्रमबाट पालिका स्तरीय युवाहरूको सञ्जाल गठन गर्ने निर्णय गरी प्रारम्भिक चरणको सञ्जाल गठन गरिएको छ । उक्त सञ्जाललाई सबै वडामा विस्तार गरी पूर्णता दिइने बताइएको छ ।
