कञ्चनपुर, २५ असार । कञ्चनपुरकाे पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाको नेतृत्वमा बिहीबार पुनर्वास पुगेको संसदीय टोली तथा प्रदेश नीति तथा योजना आयोगको टोलीसमक्ष नगरपालिकाका विकासका प्राथमिकता, आवश्यकता र दीर्घकालीन योजनाबारे विस्तृत जानकारी गराउँदै आवश्यक बजेट व्यवस्थापनका लागि विशेष आग्रह गर्नुभएको छ।

नगर प्रमुख शर्माले पुनर्वास नगरपालिकाको समग्र विकासका लागि प्रदेश सरकारको पर्याप्त लगानी आवश्यक रहेको उल्लेख गर्दै पर्यटन, कृषि, सडक पूर्वाधार, शिक्षा तथा आधारभूत सेवासँग सम्बन्धित महत्वपूर्ण योजनाहरूलाई प्रदेश सरकारको आगामी बजेट तथा कार्यक्रममा समावेश गर्न आग्रह गर्नुभयो।

उहाँले बहुप्रतीक्षित प्याराताल पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन, लोकतान्त्रिक सडकखण्डको स्तरोन्नति, दोदा-सिमरी क्षेत्रमा सडकबत्ती विस्तार, सिमरीदेखि चिनीमिल हुँदै अमरैया-भकुण्डासम्मको सडक स्तरोन्नति तथा कालोपत्रे, किसानका लागि समयमै र सहज रूपमा रासायनिक मलखाद उपलब्ध गराउने व्यवस्था, कृषि क्षेत्रको आधुनिकीकरण, शिक्षा क्षेत्रको सुदृढीकरण तथा भौतिक पूर्वाधार विकासका योजनामा प्रदेश सरकारको विशेष प्राथमिकता आवश्यक रहेको धारणा राख्नुभयो।

नगर प्रमुख शर्माले पुनर्वास नगरपालिकाको दिगो विकासका लागि प्रदेश सरकारसँग आवश्यक बजेट व्यवस्थापन, योजना छनोट तथा कार्यान्वयनमा सहकार्यको अपेक्षा रहेको बताउँदै स्थानीय तहका आवश्यकता र जनताका अपेक्षाअनुसार योजनाहरू अघि बढाउन आग्रह गर्नुभयो।

भेटघाटका क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाको नेतृत्वमा आएको संसदीय टोली तथा प्रदेश नीति तथा योजना आयोगको टोलीलाई नगर प्रमुख शर्माले पुनर्वास नगरपालिकाको तर्फबाट स्वागत तथा सम्मान गर्नुभएको थियो। सो अवसरमा नगरपालिकाको विकास सम्भावना, आवश्यकता तथा प्रदेश सरकारसँगको समन्वयका विषयमा छलफलसमेत भएको जनाइएको छ।



