कञ्चनपुर, १६ असार । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास गरिएको छ । दोधाराचाँदनी नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहजीकरणमा दोधाराचाँदनी नगरपालिकामा टेबल नमुना घटना अभ्यास कार्यक्रम भएको हो । कार्यक्रममा विपद् जोखिम तथा त्यसको प्रभाव न्यूनीकरणको लागि मौसम पूर्वानुमानमा आधारित ३ दिन अगावैको सूचना पाए कस्तो प्रकारको पूर्व तयारी गर्ने ? भन्ने विषयमा केन्द्रित रहेर प्रतिकार्यसम्बन्धी टेबल नमुना घटना अभ्यास गरिएको हो ।

कार्यक्रममा खोज तथा उद्धार विषयगत समिति, खाद्य समिति, गैरखाद्य समिति, सुरक्षा तथा संरक्षण समिति, स्वास्थ्य समिति, खानेपानी तथा सरसफाइ समिति, शिक्षा समिति र शीघ्र पुनर्लाभ विषयगत समितिहरूले बाढीको सूचना पाउनु पूर्व, बाढी आएपछि र बाढी आइसकेपछि कसरी आफ्नो जिम्मेवारी वहन गर्ने भन्ने विषयमा आधारित रहेर अग्रिम प्रतिकार्य नमुना घटना अभ्यास गरेका थिए ।

दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि दोधाराचाँदनी नगरपालिकामा गठन गरिएका ८ वटा विषयगत समितिका पदाधिकारी सम्मिलित बाढीको पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य नमुना घटना टेबल अभ्यास गरिएको बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरूले कुनै एउटा एजेन्सी, सङ्घ-संस्था वा समितिको प्रयासले विपद् जोखिम न्यूनीकरण गर्न नसकिने बताउनुभयो । पूर्वसूचना पाइसकेपछि सबै एजेन्सी, सङ्घ-संस्था र समितिहरूले समयमै आफ्नो जिम्मेवारी बहन गर्ने हो भने यस्ता विपद्को सहजै प्रतिकार्य गर्न सकिने उहाँले बताउनुभयो । यो नमुना घटना अभ्यासले सबैलाई सजग बनाएको उहाँको भनाइ छ । उक्त अभ्यासमा नगरपालिकाले विपद्को समयमा गर्ने क्रियाकलापहरू तथा निर्णय प्रक्रियाको समीक्षा भएको र आगामी दिनमा कुनै पनि प्रकारका विपद्को अग्रिम प्रतिकार्य, पूर्वतयारी र प्रतिकार्य गर्न सहज हुने सहभागीहरूले धारणा राख्नुभएको थियोे ।

कार्यक्रममा दोधाराचाँदनी नगरपालिका कार्यालयका विभिन्न शाखाका शाखा प्रमुख, जनप्रतिनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, विषयगत समितिका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
