हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १, २ र ३ मा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा मंगलबार नगरप्रमुख पोतिलाल चौधरीद्वारा ५ करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेका भौतिक संरचनाहरूको शिलान्यास गरिएको छ । उक्त संरचना निर्माण कार्य नगरपालिकाको गौरवको योजना अन्तर्गत सुरु गरिएको हो । बन्धाताललाई आधुनिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित बजेट माग गरिएकोमा प्राप्त बजेटबाट उक्त कार्य सुरु गरिएको बताउँदै नगरप्रमुख पोतिलाल चौधरीले बन्धाताललाई नगरको गौरवका रूपमा लिइएको उल्लेख गर्नुभयो ।

यसले सीमावर्ती क्षेत्रका पर्यटक आकर्षित गर्ने र स्थानीय रोजगारी सिर्जना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “बन्धाताल हाम्रो प्राकृतिक धरोहर हो,” नगरप्रमुख चौधरीले भन्नुभयो, “यसको संरक्षण र प्रवर्द्धनमार्फत बेलौरीको आर्थिक समृद्धिमा ठुलो टेवा पुग्नेछ । हामी संघीय तथा प्रदेश सरकारसँग थप बजेटको माग गर्दै परियोजनालाई पूर्णता दिने योजनामा छौँ ।” उहाँले बन्धाताललाई प्रादेशिक तथा राष्ट्रिय स्तरमा चिनाउन आवश्यक प्रचारप्रसारको रणनीति पनि बनाइने उल्लेख गर्नुभयो ।

बेलौरी नगरपालिकाका इन्जिनियर जगदिश जोशीका अनुसार योजना २०७९/८० सालमै प्रस्तावित भएको थियो भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बन्धातालको सम्पूर्ण विकासका लागि करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । “हामी चरणबद्ध रूपमा बजेट जुटाउँदै परियोजना सम्पन्न गर्ने तयारीमा छौँ,” इन्जिनियर जोशीले भन्नुभयो, “हालको काम सफलतापूर्वक सम्पन्न भएपछि अर्को चरणमा थप पूर्वाधार निर्माण गरिने छ ।”

नगरपालिकाले अपेक्षा गरेको छ कि परियोजना सफलतापूर्वक सम्पन्न भएपछि बन्धाताल क्षेत्रको पर्यटन, व्यापार तथा स्थानीय पूर्वाधारको अभूतपूर्व विकास हुनेछ । शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी, वडा अध्यक्षहरू, निर्माण कम्पनीका प्रतिनिधि, इन्जिनियरहरूको टोली र स्थानीय प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । त्यसक्रममा नगरप्रमुख चौधरीसहितको टोलीले ताल वरिपरि नापजोख भइसकेको क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ ।
बहुआयामिक योजना अन्तर्गत ५ करोड ४३ लाख ११ हजार २२२ रुपैयाँको लागतमा सुरु गरिएको बन्धाताल सुधार परियोजनाको निर्माण कार्य दाउत निर्माण सेवा र भुमिराज कन्सट्रक्सनले संयुक्त रूपमा गरिरहेका छन् । यही जेठ ०९ गते सम्झौता भएको उक्त योजना कार्य २०८३ असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ । निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि दाउत तामाङले तोकिएको म्यादभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ । हाल आरसीसी संरचना, पर्खाल निर्माण तथा माटो भरानको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

आयोजना विवरण (सूचना पाटी अनुसार)
आयोजनाको नाम : Bandataal Restoration Project, Belauri, Kanchanpur
स्थान : बेलौरी नगरपालिका वडा नं. ०१, कञ्चनपुर
सम्झौता मिति : २०८२।०२।०९
समाप्ति मिति : २०८३ असार मसान्त
सम्झौता रकम : रु. ५,४३,११,२२२/- (मु.अ.कर र पि.एस. सहित)
निर्माण कम्पनी : DNS-BRC Joint Venture, Punarbas-02
अधिकारीक प्रतिनिधि : दाउत तामाङ