कञ्चनपुर, ०४ असार । कञ्चनपुरको बेलौरी नगरपालिका र महिला पुनर्स्थापना केन्द्र (ओरेक) को आयोजनामा तथा युरोपियन युनियन र संयुक्त राष्ट्र सङ्घीय निकायको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित “सशक्त महिला, समृद्धि नेपाल” कार्यक्रम अन्तर्गत “रूपान्तरणका लागि सँगसँगै” परियोजनाको माध्यमबाट २ दिने "लैङ्गिक समानता तथा सामाजिक उत्तरदायित्व" तालिम धनगढीमा सम्पन्न भएको छ । तालिम असार २ र ३ गते (१६–१७ जुन २०२५) का दिन ‘आफ्नो घर टेम्पल रिसोर्ट’ मा सम्पन्न भएको हो । कार्यक्रममा कञ्चनपुरस्थित बेलौरी नगरपालिका भित्र क्रियाशील बहुसरोकारवाला पक्ष सहितका २० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूको व्यक्तिगत र संस्थागत क्षमता विकास गर्दै लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रणालीलाई प्रवर्द्धन गर्नु तालिमको उद्देश्य रहेको थियो । ठाकुर प्रसाद चौधरी प्रमुख प्रशिक्षकका रूपमा रहनु भएको कार्यक्रममा ओरेक सुदूरपश्चिम संयोजक सपना थापाले समन्वय गर्नुभएको थियो । दुई दिन वृहत् छलफल, अन्तरक्रिया तथा समूह कार्य गरिएको थियो । त्यस क्रममा नीति निर्माणमा लैङ्गिक दृष्टिकोण समावेश गर्ने उपाय, सामाजिक जवाफदेहिता, नागरिक सहभागिता, अपाङ्गता र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार, सञ्चारको भूमिका लगायतका विषय गहिरो रूपमा उठाइएको थियो ।
ओरेकले सञ्चालन गर्दै आएको “रूपान्तरणका लागि सँगसँगै” परियोजना सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा र डोटी जिल्लाका १२ वटा स्थानीय तहमा प्रत्यक्ष रूपमा लागू भइरहेको छ । नेपाल सरकार, युरोपियन युनियन र संयुक्त राष्ट्र सङ्घको संयुक्त पहलमा सञ्चालित “सशक्त महिला, समृद्धि नेपाल” कार्यक्रम समृद्ध नेपालको मार्गचित्रसँग मेल खाने गरी विविध समुदायका महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यमा अघि बढिरहेको छ । कार्यक्रमको समापनका क्रममा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले बेलौरी नगरपालिकाका लैङ्गिक दृष्टिकोणयुक्त नीति निर्माण, बजेट विनियोजन र कार्यान्वयनको अभ्यास भइरहेको दाबी गर्दै त्यसमा नागरिक समाजको सक्रिय भूमिका अझ सशक्त हुनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
तालिममा सहभागीहरूले व्यक्त गरेका प्रमुख सिकाइ र धारणा
“लैङ्गिक समानता भनेको महिला मात्रको सवाल होइन, सबैको समान पहुँच र व्यवहारको कुरा हो ।”
“हामी सबैले नीति निर्माणमा समावेशी दृष्टिकोणसहितको सहभागिता गर्नुपर्छ, त्यसले मात्र समावेशी शासन सम्भव हुन्छ ।”
“सामाजिक उत्तरदायित्व भनेको राज्य र जनताबीचको पारदर्शिता र जवाफदेहिता कायम गर्नु हो । हामी आफैँ पनि उत्तरदायी नागरिक हुन सिक्नुपर्छ ।”
“यौनिक र लैङ्गिक अल्पसङ्ख्यकको आवाज स्थानीय तहमा उठ्न सकेको छैन, त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ ।”
“मिडियाले सामाजिक परिवर्तनको एजेन्डा बोकेर विभिन्न समुदायबीच संवादको पुलको काम गर्नु पर्छ ।”
“अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त वातावरण र नीति निर्माणमा समावेशी सहभागिता आवश्यक छ ।”
...... आदि थुप्रै विषयमाथि विचार विमर्श
बेलौरीमा सञ्जाल गठन, बजेट विनियोजनको माग ।।
सोही कार्यक्रमबाट बेलौरी नगर स्तरीय लैङ्गिक समानता तथा सामाजिक जवाफदेही सञ्जाल समेत औपचारिक रूपमा गठन गरिएको छ । चित्रकला चापागाईँको संयोजकत्वमा गठित सञ्जालमा नगर क्षेत्रका थुप्रै सङ्घसंस्था, सञ्जाल तथा समूहहरूको प्रतिनिधित्व रहने गरी २० जना सदस्य समावेश गरिएको छ । यो सञ्जाललाई सक्रिय बनाएर बेलौरी नगरपालिकाका १० वटै वडामा लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वका मुद्दामा निरन्तर पैरवी र सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ । उक्त अभियानलाई सुदृढ बनाउन आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकासँग आवश्यक बजेट विनियोजन गर्न अनुरोध समेत गरिएको संयोजक चित्रकला चापागाईँले जानकारी दिनुभयो ।