प्रकाश भट्ट, कञ्चनपुर । डिजिटल सोलुसन तथा प्रविधि क्षेत्रमा सक्रिय दुई प्रमुख कम्पनी क्युबिटो नेपाल प्रा.लि. र डिजिटल नवप्रवर्तनमा केन्द्रित नेप नोला बीच औपचारिक रूपमा विलय (मर्जर) सम्पन्न भएको छ । माघ ८ गते बिहीबार सम्पन्न बोर्ड बैठकको निर्णयअनुसार आपसी सहमति तथा शेयरधनी सम्झौता बमोजिम मर्जर प्रक्रिया पूरा गरिएको हो । मर्जरपछि दुवै कम्पनीका सम्पूर्ण व्यावसायिक गतिविधि, परियोजना, सफ्टवेयर प्रणाली, बौद्धिक सम्पत्ति, सद्भावना (गुड विल), डेटा तथा मानव स्रोत क्युबिटो नेपाल प्रा. लि. मा पूर्ण रूपमा समाहित गरिएको छ ।
अबदेखि कम्पनीका सबै सेवा तथा व्यावसायिक कार्यहरू ‘क्युबिटो नेपाल’ कै नामबाट सञ्चालन हुने आधिकारिक जानकारी दिइएको छ । कम्पनीका अध्यक्ष शङ्कर चन्दले यो निर्णय डिजिटल क्षेत्रको वर्तमान आवश्यकता र भविष्यका चुनौतीलाई मध्यनजर गर्दै लिइएको बताउनुभयो । उहाँले दुई डिजिटल सोलुसन कम्पनीबीचको यो विलय प्रविधि क्षेत्रमा एक बलियो र सक्षम संस्था निर्माण गर्ने रणनीतिक कदम भएको उल्लेख गर्दै यसले सेवाको गुणस्तर र नवप्रवर्तन क्षमतालाई थप विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । मर्जरसँगै कम्पनीले डिजिटल सेवा, सफ्टवेयर विकास र प्रणाली समाधानमा आफ्नो पकड अझ मजबुत बनाउने लक्ष्य राखेको छ ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत तोयराज अवस्थीले डिजिटल क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच यो विलय कोशेढुङ्गा साबित हुने बताउनुभयो । क्युबिटो नेपाल र नेप नोलाका अनुभव र विशेषज्ञतालाई एकीकृत गर्दै अब अझ प्रभावकारी, विश्वसनीय र परिणाममुखी डिजिटल सेवा प्रदान गरिने उहाँको भनाइ रहेको छ । प्रबन्ध निर्देशक सन्तोष बिष्टले पनि मर्जरपछि कम्पनीको प्राविधिक क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको बताउँदै एकीकृत टिमले नयाँ सम्भावनाहरू सिर्जना गर्ने र यो कदम सेवाग्राही तथा साझेदार दुवैका लागि अत्यन्त सकारात्मक रहनेमा जोड दिनुभयो । बैठकबाट स्वीकृत नयाँ सङ्गठनात्मक संरचना लागू भएसँगै कम्पनी अब नयाँ ऊर्जाका साथ अघि बढेको उहाँले बताउनुभयो ।
आगामी दिनमा क्युबिटो नेपालले डिजिटल सोलुसन, सफ्टवेयर विकास, वेब तथा मोबाइल प्रणाली, शिक्षा प्रविधि लगायतका क्षेत्रमा अत्याधुनिक तथा प्रविधिमैत्री कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ । यस मर्जरले नेपालको प्रविधि बजारमा क्युबिटो नेपाललाई एक सक्षम, विश्वसनीय र प्रतिस्पर्धी डिजिटल हबको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।