हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि ‘Trigger, Threshold Statement र Early Action Framework’ सम्बन्धी मस्यौदा प्रस्तुतीकरण तथा सुझाव सङ्कलन बैठक गरिएको छ । लालझाडी गाउँपालिकाको आयोजनामा तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को सहकार्यमा सञ्चालित SAAN परियोजना अन्तर्गत शुक्रबार उक्त कार्यक्रम गाउँपालिकाको सभा हलमा गरिएको हो ।

बैठकमा जलवायु परिवर्तनका कारण बाढी, डुबान, खडेरी, आँधीहुरीजस्ता विपद्का सम्भावित जोखिमहरूलाई समयमै पहिचान गरी पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । SAAN परियोजनाका प्रतिनिधिहरूले मस्यौदाको विस्तृत जानकारी प्रस्तुत गर्दै स्थानीय तहमा जोखिम सूचक (trigger points) निर्धारण गर्ने, विपद्को सम्भावित अवस्था पहिचान गर्ने थ्रेसहोल्ड प्रणाली विकास गर्ने तथा त्यसकै आधारमा छिटो र प्रभावकारी प्रारम्भिक कार्य (early action) सञ्चालन गर्ने उद्देश्य रहेको बताउनु भयो ।

परियोजनाका देवराज बडूका अनुसार जलवायुजन्य विपद् आउनुअघि नै सक्रिय तयारी गर्न सकिएमा जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिनेछ । उहाँले समुदाय स्तरमै सूचना प्रवाह, पूर्वतयारी र समन्वय प्रणाली बलियो बनाउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जलवायु परिवर्तन अहिलेको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै स्थानीय तहले वैज्ञानिक प्रणालीमा आधारित विपद् व्यवस्थापनलाई प्राथमिकता दिइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “हामी विपद्पछि होइन, विपद् आउनुअघि नै तयारी गर्ने प्रणाली विकास गर्न चाहन्छौँ । यस्तो मस्यौदा हाम्रो लागि अत्यन्त उपयोगी छ, जसले नीति निर्माण र कार्यान्वयन दुवैमा सहयोग पुर्याउनेछ ।”

बैठकमा सहभागी जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूले मस्यौदामाथि सुझाव दिनु भएको छ । लालझाडी गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हेमराज उपाध्यायले स्थानीय भौगोलिक अवस्था अनुसार ट्रिगर र थ्रेसहोल्ड सूचकलाई अझ व्यवहारिक बनाउनुपर्ने, साथै समुदाय स्तरमा चेतना अभिवृद्धि कार्यक्रम थप सशक्त बनाउनुपर्ने सुझाव राख्नुभयो ।

बैठकमा उठेका सुझावहरूलाई समेट्दै मस्यौदालाई अन्तिम रूप दिने र त्यसपछि कार्यान्वयन चरणमा लैजाने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । Mercy Corps र The Coca-Cola Foundation को सहयोगमा सञ्चालन भइरहेको SAAN परियोजनाले जलवायु अनुकूलन तथा विपद् पूर्वतयारीमा स्थानीय तहलाई प्राविधिक तथा संस्थागत सहयोग पुर्याइरहेको छ ।


