हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ साउन । माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको छ । नेपाल-भारत सीमास्थित गड्डाचौकीपारि बनबासाको शारदा ब्यारेजमा बिहीबार दिउँसो गरिएको मापनअनुसार नदीमा पानीको बहाव १ लाख ३० हजार ७३५ क्युसेक पुगेको जिल्ला विपद् व्यवस्थापन आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।
एक साताअघि भारतको उत्तराखण्डस्थित धारचुलामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा जमेको सिल्ट हटाउन सबै ढोका खोलिएको थियो । त्यसयता सुदूरपश्चिमको पहाडी क्षेत्र र उत्तराखण्डमा निरन्तर वर्षा समेत भइरहेकाले महाकाली नदीको जलस्तर लगातार बढ्दै गएको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
बढ्दो बहावका कारण नेपाल–भारत जोड्ने बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । करिब एक शताब्दी पुरानो बनबासाको शारदा ब्यारेज कमजोर बन्दै गएका कारण नदीमा पानीको बहाव एक लाख क्युसेक भन्दा बढी मापन हुँदा चार पाङ्ग्रे सवारीसाधन आवागमन बन्द गरिने र दुई लाख भन्दा बढी मापन हुँदा दुईपाङ्ग्रे सवारीसाधन र पैदल आवागमन समेत बन्द गरिने अभ्यास रहेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । प्रशासनले महाकाली नदी आसपासका बासिन्दालाई अनावश्यक रूपमा नदी किनार नजान, माछा मार्ने, नदी तर्ने वा जोखिमपूर्ण गतिविधि नगर्न, स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचना तथा निर्देशनको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार सम्भावित विपद्को सामना गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा विपद् व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।
कञ्चनपुरमा महाकाली, जगबुडा, दोदा, चौधर, स्याली लगायतका नदी तथा खोलानालाहरूमा वर्षातको समयमा बाढीको जोखिम रहन्छ भने पानीको निकास नहुँदा जिल्लाका दर्जनौँ बस्तीहरू डुबानमा पर्ने जोखिम समेत बढ्ने गर्दछ । प्रशासनले विशेषगरी नदी तटीय बस्तीका बासिन्दालाई अफवाहमा नलागी आधिकारिक सूचनामात्रै पछ्याउन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।
यद्यपि कञ्चनपुरमा अहिले नै बाढी, डुबान वा अन्य विपद्सम्बन्धी कुनै अप्रिय घटना भने भएका छैनन् । जिल्लाका अधिकांश स्थानमा मौसम बदली रहेको र नदी तथा खोलानालाको जलस्तर निरन्तर निगरानीमा राखिएको आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।