हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ असोज । कञ्चनपुरको बेलडाँडी घर र बेलौरी कलकत्ता माइतीघर भएकी सुनिता बलायर अहिले जीवनकै कठिन युद्ध लड्दै हुनुहुन्छ । रोगसँगको यो सङ्घर्ष उहाँका लागि मात्र होइन, सारा परिवारका लागि पनि ठूलो परीक्षा बनेको छ । सुनिताकाे अनुहारमा दुःखका अनेक अध्यायहरू लुकेका छन् । पहिल्यैदेखि एक हातको अपाङ्गता भोग्दै आउनु भएकी सुनिता अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको छ । डाक्टरहरूले अब उहाँलाई किमोथेरापी अर्थात् ‘किमो चढाउनुपर्छ’ भनेका छन् । तर त्यसका लागि लाग्ने रकम, सुनिताको परिवारका लागि पहाड जत्तिकै ठूलो चुनौती बनेको छ ।
सुनिताका श्रीमान् उमेरले वृद्ध हुनुहुन्छ र भारतमा काम गरेर परिवारको गुजारा चलाउँदै आउनु भएको छ । तर उहाँको आम्दानीले किमोथेरापीको खर्च धान्न असम्भवजस्तै छ । सुनिताका दुई सन्तान छन् । तीमध्ये सानो दूधे बालकलाई अहिले माइतीघरमै छाेडेर आमा सुनितालाई उपचारका लागि भारत जानुपर्ने बाध्यता आएको छ । जीवनले एक पटक होइन, पटकपटक परीक्षा लिइरहेको छ । एक हातको अपाङ्गता भोग्दै पनि दृढतापूर्वक बाँचिरहनु भएकी सुनिता अहिले फेरि रोगसँगको युद्ध लड्दै हुनुहुन्छ ।

सुनिताकी आमा नन्दा बिष्टले छोरीको जीवन बचाउन देश विदेशमा रहेका शुभेच्छुकहरूसँग सहयोगको अपिल गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “छोरीले धेरै दुःख भोगिसकी । अब त उसले बाँच्न पाओस् भन्ने मात्रै चाहना छ ।” सुनिता बलायरको उपचारका लागि सहयोग गर्न चाहनेहरूले सुनिताकी बहिनी सरिता बिष्टको नाममा रहेको नविल बैङ्कको खाता नम्बर 24810017508388 मा सहयोग रकम पठाउन सक्नु हुनेछ ।

नेपाली खाता नभएका शुभचिन्तकहरूले भारतीय फोन पे खाता नम्बर 8130456304 मा सहयोग रकम पठाउन सक्नु हुनेछ ।

थोरै सहयोगले पनि सुनिताको जीवनमा नयाँ आशा जगाउन सक्छ । आउनुहोस्, आफ्नो सानो सहयोगका माध्यमबाट उहाँको जीवनमा फेरि उज्यालो ल्याउन हातेमालो गरौँ । सहयोग गर्नुहोस्, किनकि जीवन बाँच्न चाहनु पनि साहस हो ।