प्रकाश भट्ट, कञ्चनपुर, १७ पुस । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं. ३ स्थित पटराखल्लामा समुदायका लागि जलवायु उत्थानशील (सीआरसी) कार्यक्रम अन्तर्गत जलवायु मैत्री इन्टरलक ब्लक मेसिनसहित चार दिने सीपमूलक तालिम दिइएको छ । प्रगतिशील सामुदायिक विपद् व्यवस्थापन समितिलाई लक्षित गरी आयोजना गरिएको तालिममा इन्टरलक ब्लक उत्पादनका लागि आवश्यक मेसिन तथा सामग्री हस्तान्तरण गरिएको थियो । साथै, ब्लक उत्पादनसम्बन्धी व्यवहारिक ज्ञान समेत प्रदान गरिएको छ । तालिमबाट स्थानीय समुदायलाई सुरक्षित, सस्तो तथा दिगो आवास निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिमबारे जानकारी दिँदै सीआरसी परियोजना संयोजक महेश घिमिरेले पटराखल्ला क्षेत्र नदी किनारमा रहेको उच्च डुबान जोखिमयुक्त बस्ती भएको बताए । उनका अनुसार बाढीका कारण यहाँका घरहरू वर्षेनी ४ देखि ५ फिटसम्म डुबानमा पर्ने गरेका छन् । अधिकांश घर माटोले बनेका हुँदा भित्ता भत्किने, संरचना कमजोर हुने तथा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहँदै आएको छ । खोलामा सहज रूपमा उपलब्ध कच्चा पदार्थ प्रयोग गरी कम लागतमा ठूलो परिमाणमा इन्टरलक–ब्लक उत्पादन गर्न सकिने भएकाले यो तालिम दीर्घकालीन समाधानतर्फ केन्द्रित रहेको उनले उल्लेख गरे ।
स्थानीय सपना सुनारले तालिमबाट प्राप्त सीप प्रयोग गरी आफैँ इन्टरलक–ब्लक उत्पादन गरेर आफ्नै घर निर्माण गर्ने योजना रहेको बताइन् । वर्षेनी बाढीका कारण घर डुबानमा परेर ठूलो सास्ती भोग्दै आएको उल्लेख गर्दै अब सुरक्षित, दिगो र बलियो घर बनाउने आशा जागेको उनले भनिन् । तालिमले महिलाहरूलाई सीपसँगै आत्मविश्वास दिएको र भविष्यमा इन्टरलक–ब्लक उत्पादनलाई आम्दानीको स्रोतका रूपमा विकास गर्ने सोच रहेको उनको भनाइ छ ।
वडा अध्यक्ष हरि सिंह धनाडीले तालिमले समुदायलाई आत्मनिर्भर बनाउनुका साथै व्यवसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य हाल उच्च जोखिममा रहेका पटराखल्लाका ३२ घर सुरक्षित रूपमा निर्माण गर्नु रहेको छ । दीर्घकालीन रूपमा इन्टरलक–ब्लक उत्पादनलाई रोजगारी र आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्ने योजना समेत रहेको उनले जानकारी दिए । दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले जलवायु परिवर्तनका कारण बढ्दो बाढी र डुबान जोखिम न्यूनीकरण गर्न यस्ता व्यवहारिक तथा दिगो कार्यक्रम आवश्यक रहेको बताए । उनले स्थानीय तह समुदायसँग सहकार्य गर्दै सुरक्षित आवास र जीविकोपार्जनका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले समुदायमै सीप, प्रविधि र स्रोत हस्तान्तरण गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यस्ता तालिमले विपद् व्यवस्थापनसँगै स्थानीय आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । दोधाराचाँदनी नगरपालिका, क्लाइमेट रेजिलेन्स अलाइन्स, मर्सीकोर नेपाल तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमले बाढी जोखिम न्यूनीकरण, सुरक्षित आवास निर्माण तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।