हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ माघ । वनडढेलो, आगलागी र औद्योगिक दुर्घटनाले पटक पटक क्षतविक्षत बनाउँदै आएको सुदूरपश्चिम प्रदेशमा अब आगोविरुद्ध लड्ने एक सशक्त भरोसाको आगमन भएको छ । औद्योगिक तथा अग्नि सुरक्षा क्षेत्रमा अग्रणी मानिएको निको ग्रुप अफ निकोमहा अन्तर्गतको ‘निको फायर’ ले कैलालीको धनगढीमा आफ्नो पाँचौँ शाखा औपचारिक रूपमा स्थापना गर्दै सुदूरपश्चिम प्रदेशमा सेवा विस्तारको ढोका खोलेको छ । धनगढी उपमहानगरपालिका अन्तर्गत विशालनगर, कालिका चोकमा स्थापना गरिएको शाखा उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशमा बढ्दो आगलागीका घटनाबीच यस्ता संस्थाहरूको उपस्थिति समयसापेक्ष र अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।

पूर्वमुख्यमन्त्री रावलले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा सन् २०१२ देखि २०१९ सम्म मात्रै वनडढेलो र आगलागीका ४४ हजार ३४२ घटना दर्ता भएका छन् । सन् २०२१ देखि २०२२ अगस्टसम्म १९४ आगलागीका घटना भए । अझ २०२४ को जुलाईदेखि डिसेम्बरसम्म राष्ट्रिय तथ्याङ्क अनुसार सुदूरपश्चिमबाट ६० घटना रिपोर्ट भए भने २०२५ जनवरी २५ देखि फेब्रुअरीसम्मको एक महिनामै ४७ देखि ६० आगलागीका घटना भए ।” उहाँका अनुसार यी घटनाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, बाजुरा र अछाममा ठूलो धनजनको क्षति पुर्याएको छ । “यस्तो अवस्थामा निको फायरजस्ता संस्थाले उपकरण बिक्री मात्र होइन; सरकार, व्यावसायिक क्षेत्र र सर्वसाधारणसम्म आगलागी सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ,” रावलले अपेक्षा व्यक्त गर्नुभयो ।

निको फायरले ड्राइ केमिकल, CO₂, फोम, क्लिन एजेन्ट तथा लिथियम आयन प्रकारका अग्नि निवारक उपकरणहरूको बिक्री गर्दै आएको छ । यसका साथै हाइड्रेन्ट सिस्टम, फायर ब्ल्याङ्केट, सीसीटीभी क्यामेरा तथा अन्य सुरक्षा उपकरणहरू समेत उपलब्ध गराउँदै आएको छ । भान्सा, सर्भर रुम तथा उद्योगका लागि आवश्यक फायर सेपरेसन सिस्टम पनि कम्पनीमार्फत उपलब्ध छ । कम्पनीले गुणस्तर प्रमाणित उत्पादनसँगै प्राविधिक परामर्श, जडान सेवा र बिक्रीपछिको मर्मत सम्भार सेवा समेत प्रदान गर्दै आएको छ, जसले आगलागी जोखिम न्यूनीकरणमा संस्थागत समाधान दिने लक्ष्य राखेको छ ।

निको फायरका सञ्चालक कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ०६, प्रेमनगर निवासी ३२ वर्षीय जयदेव कलौनी हुनुहुन्छ । अध्ययनका क्रममा काठमाडौँ पुगेपछि औद्योगिक र अग्नि सुरक्षाको आवश्यकता नजिकबाट बुझ्नु भएका कलौनीले आफ्नै लगनशीलता र परिवारको साथसहयोगले यो यात्रालाई यहाँसम्म ल्याउन सफल भएको बताउनुभयो । “काठमाडौँ उपत्यकामा अग्नि सुरक्षा सेवा अनिवार्यजस्तै भइसकेको छ । अब बाहिरी शहरहरूमा पनि यसको आवश्यकता तीव्र रूपमा बढ्दैछ,” उहाँले भन्नुभयो ।

२०१९ सालमा स्थापना भएको निको ग्रुप अफ निकोमहा हालसम्म एक हजार भन्दा बढी ITI तथा प्राविधिक इन्जिनियर उत्पादन गरिसकेको स्थापित संस्था हो । यसले ‘निको सुज’ लगायत विभिन्न उत्पादनहरू निर्माण गर्दै आएको छ । यही समूहले २०२३ सालमा औद्योगिक तथा अग्नि सुरक्षासँग सम्बन्धित सेवा ‘निको फायर’ सुरु गरेको हो । करिब २/३ वर्षअघि अवधारणा विकास गरिएको यो सेवा यसै वर्ष बैशाखदेखि औपचारिक रूपमा विस्तार हुन थालेको हो । हाल पोखरा, वीरगन्ज, चितवन, दाङ र धनगढी गरी पाँच स्थानमा शाखा सञ्चालनमा छन् । कम्पनीका अनुसार छिट्टै इटहरीमा नयाँ शाखा खोल्ने तयारी भइरहेको छ भने सातै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्य लिइएको छ ।

सुरुवातमा करिब ५०/५५ लाख रुपैयाँ लगानीमा स्थापना गरिएको निको फायर हाल १ करोड रुपैयाँभन्दा बढी मूल्यको कम्पनीमा विस्तार भइसकेको छ । कम्पनीमा हाल २३ जनाभन्दा बढी कर्मचारी कार्यरत छन् । अहिले आवश्यक सम्पूर्ण उपकरण भारत र मलेसियाबाट आयात गरिँदै आएको भए पनि भविष्यमा नेपालमै असेम्ब्लिङ प्लान्ट स्थापना गर्ने योजना रहेको सञ्चालक कलौनीले जानकारी दिनुभयो । कम्पनीले डिजिटल मार्केटिङ र प्रत्यक्ष बिक्री वितरणमार्फत सेवा दिइरहेको छ भने सामाजिक सञ्जालमा चर्चित समाजसेवी व्यक्तित्व हरी कार्कीलाई ब्राण्ड एम्बेसडर बनाएको छ ।
