हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ माघ । कञ्चनपुरको तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका आरक्षपीडितहरूले ढक्का शिविरमा बसोबास थालेको १८ वर्ष पूरा भएको अवसरमा १८औँ वार्षिकोत्सव मनाएका छन् । २०५८ साल र त्यसअघि आरक्ष विस्तारका नाममा आफ्नो थातथलोबाट विस्थापित गरिएका नागरिकमध्ये २०६४ साल माघ ८ गतेदेखि ढक्का शिविरमा बस्दै आएका पीडित परिवारहरूले बिहीबार वार्षिकोत्सव मनाएका हुन् ।

आरक्षपीडित जिल्ला सङ्घर्ष समिति, कञ्चनपुर, ढक्काको आयोजनामा सम्पन्न कार्यक्रममा राजनीतिक, सामाजिक तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विना मगर र पूर्व सांसद तथा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार तारा लामा तामाङको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी आरक्षपीडितहरूले आफूहरूको दीर्घकालीन तथा यथोचित व्यवस्थापनका लागि राज्यस्तरबाट प्रभावकारी पहल गरिदिन उम्मेदवारहरूसँग माग गरेका छन् । आरक्षपीडित जिल्ला सङ्घर्ष समिति, कञ्चनपुर, ढक्काका अध्यक्ष मोतीलाल डगौराका अनुसार, पीडित परिवारहरू विगत २४ वर्षदेखि अस्थायी जीवन बिताउन बाध्य छन् । “हामीमध्ये धेरै परिवार अझै पनि जङ्गल तथा खोलानालाको किनारमा झुपडी बनाएर अत्यन्तै कष्टकर जीवन बिताइरहेका छौँ । स्थायी बसोबास, जग्गा, रोजगारी र आधारभूत सेवा सुविधाको सुनिश्चितता आजसम्म हुन सकेको छैन,” अध्यक्ष डगौराले भन्नुभयो ।

पीडितहरूले स्थायी बसोबासको व्यवस्था, क्षतिपूर्ति, रोजगारीको अवसर, शिक्षा तथा स्वास्थ्य सेवामा सहज पहुँच र दीर्घकालीन पुनः स्थापना योजना कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेका छन् । ढक्का शिविरका आरक्षपीडितहरूले विस्थापित भएदेखि यताका सबै निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारहरूले चुनावी प्रतिबद्धता जाहेर गरे पनि जितेर गएपछि समस्या समाधानप्रति गम्भीर नहुने गरेको समितिका उपाध्यक्ष प्रेम बहादुर शाहीको भनाइ छ ।

आरक्षपीडितहरूका अनुसार २०६४ देखि २०७९ सम्म भएका विभिन्न निर्वाचनमा पटक पटक आश्वासन मात्र पाएको तर समस्या समाधान नभएको भन्दै यस पटकको निर्वाचनमा आश्वासनभन्दा पनि प्रत्यक्ष समस्या समाधानको माग गरिएको छ । आरक्षपीडित सङ्घर्ष समितिका महासचिव गोविन्द नेपालीले पीडितहरूले दल, नेता, उम्मेदवार र सरकारबाट आश्वासन त पाउने तर व्यावहारिक रूपमा समस्या समाधानका लागि ठोस पहल नहुने गरेको बताउनुभयो । “अब हामी आश्वासन मात्र होइन, न्यायिक पुनः स्थापनाको ठोस कार्यान्वयन चाहन्छौँ । राज्यले हाम्रो समस्यालाई गम्भीर रूपमा लिनुपर्छ,” महासचिव नेपालीले भन्नुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी नेकपाकी उम्मेदवार विना मगरले आरक्षपीडित बस्तीमा रहेका समस्या अल्पकालीन र दीर्घकालीन दुवै रूपमा समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले आरक्ष विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको पीडा राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै, सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी समाधानको प्रक्रिया अघि बढाउने बताउनु भयो । त्यस्तै, नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले समेत आरक्षपीडितको न्यायिक पुनः स्थापनाका लागि आफ्नो तर्फबाट निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

आरक्ष विस्तारका क्रममा विस्थापित गरिएका सयौँ परिवारहरूले अझै पनि स्थायी पुनः स्थापना पाउन नसक्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र रोजगारीजस्ता आधारभूत आवश्यकतामा गम्भीर समस्या झेल्दै आएका छन् । लालझाडी गाउँपालिकाका पूर्वअध्यक्ष मदनसेन वडायकले स्थानीय तहले विगतमा केही राहतका कार्यक्रम ल्याएको स्मरण गराउँदै दीर्घकालीन समाधानको माग लिएर आफू निरन्तर पहल गरिरहेको उल्लेख गर्नुभयो । पीडित परिवारका अनुसार, पटक पटक सरकार परिवर्तन भए पनि आफूहरूको समस्या समाधान प्राथमिकतामा पर्न सकेको छैन । अस्थायी शिविरमै दशकौँ बिताउनुपर्दा नयाँ पुस्ताको भविष्य समेत अन्योलमा परेको उनीहरूको गुनासो छ ।

वार्षिकोत्सव कार्यक्रममा पीडितहरूले शान्तिपूर्ण रूपमा आफ्ना मागहरू दोहोर्याउँदै न्याय र सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् । ढक्का शिविरमा बस्दै आएका आरक्षपीडितहरूले १८औँ वार्षिकोत्सवलाई औपचारिक कार्यक्रम मात्र नभई आफ्ना अधिकार र अस्तित्वका लागि निरन्तर सङ्घर्षको प्रतीकका रूपमा मनाएको आरक्षपीडित सङ्घर्ष समितिका महासचिव गोविन्द नेपालीले जानकारी दिनुभयो । कार्यक्रम आरक्षपीडित सङ्घर्ष समिति, कञ्चनपुरका अध्यक्ष मोतीलाल डगौराको अध्यक्षतामा सम्पन्न भएको थियो ।