बैतडी, २३ माघ । बैतडीको पुर्चौडी नगरपालिका ७ भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुर्चौडी नगरपालिका वडा नम्बर ७ कै बढ्गाउँ मोडमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । पवनदुत यातायातको सु प प्र ०२ ००१ ख १११९ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खस्दा घटनास्थलमै तथा उपचारको क्रममा गरी १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा बझाङ बित्थडचिर गाउँपालिका-७ बस्ने वर्ष ४० का केशब राज जोशी, वर्ष १३ का अशोक राज जोशी, वर्ष ३५ का बसन्त जोशी, वर्ष ४१ का विष्णु दत्त जोशी (उपचारको क्रममा), वर्ष ४२ का नरेश राज जोशी (उपचारको क्रममा), बझाङ केदारस्यु गाउँपालिका बस्ने वर्ष ६० का मोहन देव भट्ट, बझाङ जयपृथ्वी नगरपालिका-७ बस्ने वर्ष ४० का बसन्त राज रतला र बैतडी पुर्चौडी नगरपालिका-७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी रहेका छन् ।
डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको छ । बझाङको बित्थडचिर ०७ का १७ वर्षका बिसन दत्त जोशी, २८ वर्षका दिपकराज जोशी, ४६ वर्षका किसनदत्त जोशी बझाङकै केदारस्युँ ०७ का २७ वर्षका केशबराज भट्ट र बैतडीको पुर्चौडी ०७ का १५ वर्षका सुशील जोशीको डडेलधुरा अस्पतालमा मृत्यु भएको बताइएको छ ।
जम्मा ३४ जना घाइतेहरूको उपचार भइरहेको बताइएको छ । तीमध्ये गम्भीर घाइते ५२ वर्षीय नन्दलाल कोइराला, ४५ वर्षीय धनपति अवस्थी र ३८ वर्षीय बिरबहादुर धामीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।
‘दुर्घटनाको जानकारी पाएपछि तत्काल पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको थियोे भने पाटनबाट सशस्त्र प्रहरीका डीएसपी शंकर धामी नेतृत्वको टोली पनि घटनास्थलमा पुगेको थियोे । स्थानीयहरुले समेत उद्धारमा सहयोग गरेकोले समयमा घाइतेहरूलाई अस्पतालसम्म पुर्याउन सकिएको हो,’ प्रहरी नायव उपरीक्षक रायले भन्नुभयो । दुलहा र दुलही अर्को जिपमा रहेकाले सकुशल रहेकोे बताइएको छ ।

