हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ फागुन । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूबीच “प्रत्यक्ष संवाद (ककस)” कार्यक्रम सम्पन्न गरिएको छ । जेसिज महेन्द्रनगरको आयोजना तथा एनएनएसडब्लुएको सह-आयोजनामा फागुन १ गते कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा कार्यक्रम गरिएको थियो भने फागुन २ गते क्षेत्र नम्बर २ र १ मा गरिएको हो ।
मतदातासामु उम्मेदवारको स्पष्ट दृष्टिकोण, ठोस विकास योजना र क्षेत्रीय एजेण्डा सार्वजनिक गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले चुनावी माहोललाई बहस केन्द्रित बनाएको छ । उम्मेदवारहरूलाई एउटै मञ्चमा उभ्याएर आफ्ना योजना र प्राथमिकता सार्वजनिक गराइएको थियो । कार्यक्रममा उम्मेदवारहरूले आफ्नो दृष्टिकोण, विकास योजना र क्षेत्रीय एजेण्डाबारे धारणा प्रस्तुत गर्नुभएको छ ।
संवादका क्रममा उम्मेदवारहरूले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्यको गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास, सीमा व्यवस्थापन, युवा लक्षित नीति तथा सुशासनका विषयमा धारणा राख्दै मतदातासँग प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विगतका कमजोरी स्विकार्दै आगामी कार्यकालमा पारदर्शी, जवाफदेही र परिणाममुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।
कार्यक्रम जेसिज महेन्द्रनगरका अध्यक्ष लक्ष्मण दत्त पन्तको अध्यक्षतामा भएको हो भने “प्रत्यक्ष संवाद (ककस)” कार्यक्रमको सहजीकरण पत्रकार वीरेन्द्र जैरुले गर्नुभएको थियो । संवादका क्रममा सहभागीहरूले उम्मेदवारहरूलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर पाउनुभएको थियो । कार्यक्रमले स्वस्थ राजनीतिक संस्कार विकास र नीतिगत बहसलाई प्रवर्द्धन गर्ने सन्देश दिएको एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुकाे भनाइ छ ।