हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका दीपकराज बोहरा ३३ हजार ९५२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण प्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का बचन बहादुर सिंह ६ हजार ४१८ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका माधव प्रसाद पन्त ६ हजार ३३७ मतसहित चौथो स्थानमा रहेका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थ राज चटौतले १ हजार ९९३ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती रानाले ५६० मत पाएकी छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १९५ मत, राष्ट्रिय जनमोर्चाका राम बहादुर कार्कीले १४५ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का लोकेन्द्र बहादुर विकले १४३ मत र जनमत पार्टीका राम चन्द्र भट्टले १२५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उज्यालो नेपाल पार्टीका योगेन्द्र व साउदले ९३ मत, स्वतन्त्र उम्मेदवार बिरेन्द्र रानाले ८१ मत, नेपाल मजदुर किसान पार्टीका सिता राम रानाले ७२ मत, स्वतन्त्र उम्मेदवार हरिस बहादुर भट्टले ४४ मत, आम जनता पार्टीका जग्गु चौधरीले ३७ मत, संयुक्त नागरिक पार्टीका खडक ताम्राकारले ३२ मत, स्वतन्त्र उम्मेदवार भानु भक्त वोहराले २६ मत, स्वतन्त्र उम्मेदवार सिद्धराज जोशीले १९ मत र मितेरी पार्टी नेपालका तेज बहादुर वडवालले १८ मत प्राप्त गरेका छन् ।
कुल १ लाख ९ हजार ५७४ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६४ हजार ८८१ मत खसेको थियो । जसमा ३६ हजार ३८६ महिला र २८ हजार ४९५ पुरुष रहेका छन् । यहाँ ५९.२१ प्रतिशत मतदान भएको थियो ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित दीपकराज बोहरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ,
"कञ्चनपुर–२ का आदरणीय मतदाताज्यूहरू,
यहाँहरूले मप्रति देखाउनु भएको विश्वास, माया र समर्थनका लागि आभार व्यक्त गर्दछु। यस ऐतिहासिक जितका लागि सम्पूर्ण मतदाताज्यूहरूलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु। यो विजय मेरो व्यक्तिगत होइन, कञ्चनपुर–२ का परिवर्तन चाहने सम्पूर्ण जनताको विजय हो।
चुनावका क्रममा साथ, सहयोग र प्रेरणा दिनु हुने सम्पूर्ण मतदाता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकप्रति विशेष आभार व्यक्त गर्दछु। अबको मेरो पहिलो दायित्व यहाँहरूको विश्वासलाई सम्मान गर्दै कञ्चनपुर–२ का जनताका समस्या समाधान, सुशासनको स्थापना र विकासको मार्गमा इमानदारीपूर्वक काम गर्नु हुनेछ।
यहाँहरूले दिएको मत केवल जितका लागि मात्र होइन, परिवर्तनका लागि हो भन्ने कुरा म कहिल्यै बिर्सने छैन। जनताको आवाज संसद्सम्म पुर्याउने र कञ्चनपुर–२ को हितका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु।
एक पटक फेरि, यहाँहरूको अमूल्य मत, विश्वास र साथका लागि हार्दिक धन्यवाद।"