धर्मराज कठायत, कञ्चनपुर, ११ वैशाख । कोइका (KOICA) को आर्थिक सहयोग तथा अक्सपाङ र अक्सफार्मको प्राविधिक सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘एम्पावरिङ हर’ महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत गठन भएका विभिन्न महिला सशक्तिकरण केन्द्रका सदस्यहरू, सामुदायिक तथा राजनीतिक नेतृत्व र सरकारी सरोकारवालाहरूबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

कार्यक्रममा समुदाय स्तरमा नेतृत्व गर्दै जाँदा महिलाहरूले भोग्नुपरेका चुनौतीहरू, प्राप्त अवसरहरू तथा समूह र सञ्जालमा आबद्ध हुँदा हुने फाइदाबारे विस्तृत छलफल गरिएको थियो । बैठकले समुदायका महिलाहरू, राजनीतिक नेतृत्व र सरकारी निकायबीच समन्वय तथा सम्बन्ध विस्तार गर्न सहयोग पुगेको निड्स नेपालले जनाएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखा प्रमुख कुन्ती लेखक, सम्पर्क व्यक्ति मनोज भट्ट, महिला मानव अधिकार रक्षक सञ्जालकी भगवती थापा, एकल महिला अधिकार रक्षक सञ्जालकी जानकी जोशीलगायतको सहभागिता रहेको थियो । साथै भीमदत्त नगरपालिकाका १९ वडाबाट २० वटा महिला सशक्तिकरण केन्द्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले नेतृत्वका क्रममा भोगेका अनुभव तथा चुनौतीहरू प्रस्तुत गरेका थिए । निड्स नेपालका कार्यक्रम संयोजक नवीन भट्टका अनुसार यस किसिमका कार्यक्रमले महिलाहरूलाई नेतृत्वमा अघि बढ्न थप उत्साहित बनाएको छ । सहभागीहरूले तालिम प्रभावकारी रहेको बताउँदै यसले नेतृत्व क्षमता विकासका साथै समुदायमा अन्य महिलाहरूलाई प्रेरित गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरूले अझै समाजमा रहेका चुनौतीहरूको सामना गर्दै समाधानको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् ।

भीमदत्त नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख कुन्ती लेखकले अहिलेको संघर्षले आगामी पुस्तामा सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गरिन् । साथै समस्या पर्दा शाखाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । निड्स नेपालकी उपाध्यक्ष तारादेवी थापाधामीले आफ्नो जीवनका अनुभव सुनाउँदै महिलाहरूले समस्या पहिचान गरी समाधानमार्फत अवसर सिर्जना गर्नुपर्ने बताइन् ।

त्यसैगरी कार्यकारी निर्देशक भवराज रेग्मीले महिला नेतृत्व राजनीति मात्र नभई सामाजिक रूपान्तरण, आर्थिक सशक्तिकरण र सकारात्मक कार्यको सुरुवातसँग पनि जोडिएको उल्लेख गरे । महिला मानव अधिकार रक्षक सञ्जालकी भगवती थापाले महिला भएर काम गर्दा आउने चुनौतीहरू आफूले पनि भोगेको बताउँदै सहभागी महिलाहरू अब अर्को चरणको नेतृत्वका लागि तयार रहेको विश्वास व्यक्त गरिन् ।

एकल महिला अधिकार रक्षक सञ्जालकी जानकी जोशीले सिलाइकटाइबाट सुरु गरेको आफ्नो यात्रा संस्थागत नेतृत्वसम्म पुगेको अनुभव साझा गरिन् । कार्यक्रमको मुख्य उद्देश्य समुदायका महिलाहरू, राजनीतिक नेतृत्व र सरकारी निकायबीच समन्वय बढाई नेतृत्व शैलीसम्बन्धी अनुभव आदानप्रदान, चुनौती पहिचान र अवसर खोजीमा सहयोग पु¥याउनु रहेको आयोजकले जनाएको छ ।




