हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ जेठ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले प्रहरी उपरीक्षक खडक बहादुर खत्रीको १३ महिनाको नेतृत्व अवधिमा अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सामाजिक सचेतनामूलक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार २०८२ वैशाखदेखि हालसम्म जिल्लामा ९०७ मुद्दा दर्ता भएका छन् । तीमध्ये ५०९ मुद्दा फर्छ्योट गरिएको छ भने ३९८ मुद्दा अनुसन्धानकै क्रममा रहेका छन् ।
प्रहरीका अनुसार लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २११ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा १८ महिला र १९३ पुरुष रहेका छन् । यस अवधिमा ५९० ग्रामभन्दा बढी खैरो हिरोइन, ८ केजीभन्दा बढी चरेस, ५ केजी गाँजा, ५८७ थान एभिल तथा विभिन्न लागूऔषधजन्य ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ४४४ जना पक्राउ गरिएको छ । २०८१ वैशाख २४ गतेसम्म फरार रहेका ४८७ प्रतिवादीमध्ये ४७५ जना पक्राउ परिसकेको तथा हाल १२ जना फरार रहेको प्रहरीले जनाएको छ ।
गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न ७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
अभद्र व्यवहारसम्बन्धी ५१२ मुद्दा दर्ता भएकोमा २०७ जना पक्राउ परेका छन् । तीमध्ये २०३ जना अदालतबाट छुटेका छन् भने ४ जना हिरासतमा रहेका छन् ।
ठाडो उजुरीतर्फ प्रहरी कार्यालयमा प्रत्यक्ष परेका २ हजार ९९५ उजुरीमध्ये २ हजार ९९४ फर्छ्योट गरिएको छ भने जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त १४८ उजुरी सबै फर्छ्योट गरिएको प्रहरीले जनाएको छ ।
जुवातास नियन्त्रण अभियानअन्तर्गत २२ मुद्दा दर्ता गरी १७२ जनालाई पक्राउ गरिएको छ । कारबाहीका क्रममा ९ लाख ४१ हजार ७ सय ८३ रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत ५ करोड ४० लाख ६७ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरिएको छ । उक्त अभियानमा १४ जना पक्राउ परेका तथा ३१ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस अवधिमा अवैध रूपमा ओसारपसार गरिएका १७७ वटा कुखुरा तथा चल्ला नष्ट गरिएको छ भने ४० वटा बाख्रा/खसी, २० वटा घोडा, १६ वटा भैँसी/राँगा तथा ९१० किलो माछा बरामद गरी नष्ट गरिएको विवरणमा उल्लेख छ ।
घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत २४ हजार ५७७ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । वन तथा वन्यजन्तु अपराध नियन्त्रण अभियानअन्तर्गत ४२७ क्युफिट काठ बरामद गरिएको छ । नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी निकासीमा संलग्न २८ सवारी साधन नियन्त्रणमा लिइएको तथा ३२ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ३३३ उजुरी दर्ता भएकोमा सबै फर्छ्योट गरिएको प्रहरीले जनाएको छ । सीमा नाकाबाट ८० जनाको उद्धार गरिएको छ ।
हराएका १९६ महिलामध्ये १९२ जना, ५७ बालक सबै, ११८ बालिकामध्ये ११५ जना, २२ ज्येष्ठ नागरिक सबै तथा ११० पुरुषमध्ये १०६ जना फेला पारिएको प्रहरीले जनाएको छ ।
ट्राफिक व्यवस्थापनतर्फ समीक्षा अवधिमा ५०२ सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको तथा ७६७ जना घाइते भएका छन् । दुर्घटनामा १३ चौपायाको मृत्यु र ४ चौपाया घाइते भएको प्रहरीले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ५७१ सवारी साधनमाथि कारबाही गरी ४६ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । मापसे कारबाहीअन्तर्गत ४५४ जनामाथि कारबाही गरी २५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।
यस अवधिमा ३४६ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी २२ हजार ८ सय जनालाई सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ । साथै विभिन्न शीर्षकमा ६० वटा सामुदायिक साझेदारी कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ ।
सामाजिक विकृति नियन्त्रणअन्तर्गत बेदकोट नगरपालिकामा २३ तथा कृष्णपुर नगरपालिकामा १२७ गरी कुल १५० वटा छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा एसपी खत्रीले सीमावर्ती अपराध, लागूऔषध कारोबार तथा ट्राफिक दुर्घटना नियन्त्रणलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने बताउनुभयो । उहाँले अपराध नियन्त्रणसँगै समुदाय–प्रहरी साझेदारी र सामाजिक सचेतनामूलक कार्यक्रमलाई थप सशक्त बनाइने उल्लेख गर्नुभयो ।