हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ जेठ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको कार्यस्थल जोखिम, सुरक्षा व्यवस्था र सामाजिक संरक्षणबारे कञ्चनपुरको बेलौरीका स्थानीयले विभिन्न सुझाव दिएका छन् । “जनताको आवाज” अन्तर्गत हामीले सोधेका प्रश्नमा सहभागीहरूले श्रमिकको सुरक्षा, बीमा, तालिम र राज्यको जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । स्थानीयका अनुसार दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरू अझै पनि आधारभूत सुरक्षा सामग्री बिना काम गर्न बाध्य छन् । उनीहरूले राज्य, रोजगारदाता र स्थानीय तह सबैको संयुक्त जिम्मेवारी आवश्यक रहेकोमा जोड दिएका छन् ।
स्थानीयका सुझावहरूः
१. “अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सबैभन्दा पहिले सुरक्षा सामग्री अनिवार्य उपलब्ध गराउनुपर्छ । धेरैजसो मजदुर बिना हेल्मेट, ग्लोब्स र मास्क काम गरिरहेका हुन्छन् ।”
२. “सरकारले यस्तो क्षेत्रमा काम गर्ने श्रमिकको अनिवार्य बीमा व्यवस्था गर्नुपर्छ । दुर्घटना हुँदा परिवार नै समस्यामा पर्छ ।”
३. “दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई काम सुरु गर्नुअघि आधारभूत सुरक्षा तालिम दिन जरुरी छ ।”
४. “निर्माण, यातायात र उद्योग क्षेत्रमा श्रमिकको नियमित स्वास्थ्य परीक्षण हुनुपर्छ । धेरैले रोग लागेपछि मात्रै उपचार पाउँछन् ।”
५. “रोजगारदाताले श्रमिकलाई सस्तो जनशक्ति भनेर होइन, मानव स्रोत भनेर व्यवहार गर्नुपर्छ । सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ ।”
६. “स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको तथ्यांक संकलन गरेर उनीहरूको अवस्थाबारे निगरानी बढाउनुपर्छ ।”
७. “काम गर्ने ठाउँमा सुरक्षित वातावरण नभएसम्म दुर्घटना कम हुँदैन । नियम बनाउने मात्र होइन, कार्यान्वयन पनि कडाइका साथ हुनुपर्छ ।”
८. “महिला श्रमिकका लागि छुट्टै सुरक्षा र स्वास्थ्य व्यवस्था आवश्यक छ । धेरै महिला असुरक्षित वातावरणमा काम गर्न बाध्य छन् ।”
९. “गरिबीका कारण धेरै श्रमिक जोखिमपूर्ण काम गर्न बाध्य छन् । उनीहरूको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ ।”
१०. “अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक देशको अर्थतन्त्रका महत्वपूर्ण आधार हुन् । उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।”
११. "अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराउनुपर्ने आवश्यकता छ । किनभने उनीहरूलाई एकातिर घरपरिवारको चिन्ता हुन्छ भने अर्कोतिर कार्यस्थलको बोझ । त्यो व्यवस्थापन गर्न नसक्दा मानसिक रोगको सिकार हुने गर्दछन् ।"
स्थानीयको भनाइ अनुसार नीति निर्माण मात्र होइन, कार्यान्वयन पक्षलाई प्रभावकारी नबनाएसम्म श्रमिकको जीवन जोखिममै रहनेछ । उनीहरूले सरकार, निजी क्षेत्र र समाज सबैलाई श्रमिकको सम्मान र सुरक्षाप्रति संवेदनशील बन्न आग्रह गरेका छन् ।