अम्बादत्त जाेशी, कञ्चनपुर, १४ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बन्डस्थित श्री कालिका माध्यमिक विद्यालयमा महिनावारी स्वच्छता दिवसको अवसरमा विविध सचेतनामूलक कार्यक्रम गरिएको छ । World Vision को आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को साझेदारी र आयोजनामा सञ्चालित B4G (Basic for Girls) परियोजना अन्तर्गत बुधबार कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा किशोरी तथा छात्राहरूलाई महिनावारी स्वास्थ्य, स्वच्छता व्यवस्थापन तथा मर्यादित महिनावारी सम्बन्धी जानकारी प्रदान गर्नुका साथै आवश्यक परामर्श दिइएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले महिनावारी प्राकृतिक जैविक प्रक्रिया भएकाले यसलाई लाज, डर वा विभेदको विषय नबनाई खुला रूपमा बुझ्न र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
सचेतनामूलक कार्यक्रम अन्तर्गत विद्यालयमा वादविवाद प्रतियोगिता, सडक नाटक तथा सांगीतिक प्रस्तुति समेत गरिएको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेका नाटक तथा सांगीतिक कार्यक्रममार्फत समाजमा अझै कायम रहेका महिनावारीसम्बन्धी भ्रम, अन्धविश्वास तथा विभेद अन्त्य गर्न सशक्त सन्देश प्रवाह गरिएको थियो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सुरक्षित, स्वच्छ र मर्यादित महिनावारी व्यवस्थापनका लागि विद्यालय, परिवार तथा समुदाय सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए । कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने विद्यालय परिवार, सहभागी विद्यार्थी तथा सम्पूर्ण सरोकारवालाप्रति आयोजक संस्थाले धन्यवाद व्यक्त गरेको छ ।