हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ जेठ । कञ्चनपुरको बेलौरीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेश भट्ट र डम्मर धामीको जोडीले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि खेलकुद” भन्ने मूल नारासहित बेलौरी ब्याडमिन्टन क्लबको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट ३२ टोलीको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भट्ट र धामीको जोडी प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा नविन सिंह र सन्देश पाण्डेयको जोडी द्वितीय भएको छ भने रजनीश भण्डारी र किरण बिष्ट तथा आशिष भट्टराई र विवेक ऐरको जोडी संयुक्त तृतीय बनेका छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टोलीलाई नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतीय हुने टोलीलाई नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले खेलकुदले स्वस्थ समाज निर्माणका साथै युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने बताउनुभयो । उहाँले स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष अशोक श्रेष्ठले गर्नुभएको थियो । समापन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले बेलौरीमा ब्याडमिन्टन खेलप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुद संस्कृतिको विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, प्रायोजक, खेलाडी तथा सहभागीप्रति आभार व्यक्त गर्नुभयो ।
बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले खेलकुदले युवाहरूको क्षमता, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद समिति सदैव सहयोगी रहने उहाँको भनाइ थियो ।
बेलौरी ब्याडमिन्टन क्लबका सल्लाहकार संयोजक दिनेश कुँवरले खेलकुदको माध्यमबाट स्वस्थ समाज निर्माणसँगै युवाहरूलाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । समारोहमा खेलाडी, खेलप्रेमी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । उद्घाटन तथा समापन कार्यक्रमको सञ्चालन चिया ग्रुप बेलौरीका महासचिव अशोक पाण्डेयले गर्नुभएको थियो ।