हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ साउन । कञ्चनपुरको बेलौरीमा लत्रिएको विद्युत् तार काटिँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बेलौरी नगरपालिका ६ भुराकोट बस्ने ५३ वर्षीया अनिता पन्तको बुधबार बिहान सोही वडाको नौगाउँस्थित खेतमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
खेतमा लत्रिएको विद्युत् तार काटिएर करेन्ट लागेपछि पन्तलाई उपचारका लागि जगदम्बा अस्पताल बेलौरी पुर्याइएको थियो । तर, अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मतबहादुर बिसीका अनुसार विद्युत् पोलबाट घरमा लगिएको सप्लाई तार भुइँमा लत्रिएको अवस्थामा थियो । सोही तार घाँस काट्ने क्रममा असावधानीपूर्वक काटिएर करेन्ट लागेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।
विद्युत् तार लत्रिएको, पोल ढलेको वा तारमा क्षति पुगेको देखिएमा आफैँ मर्मत गर्ने वा छुने प्रयास नगरी तत्काल विद्युत् प्राधिकरणमा जानकारी गराउनुपर्ने प्राधिकरणले जनाएको छ । विशेषगरी खेतबारीमा घाँस काट्दा, कृषि उपकरण प्रयोग गर्दा तथा वर्षायाममा लत्रिएका तारप्रति थप सतर्क हुन आवश्यक छ ।
विद्युत् प्रवाह भइरहेको तार सामान्य अवस्थाको जस्तो देखिए पनि त्यसलाई छोएमा ज्यानै जान सक्ने भएकाले ‘पहिले सावधानी, त्यसपछि मात्रै काम’ भन्ने सतर्कता अपनाउनुपर्ने देखिएको छ । विद्युत् तारमा समस्या देखिए तत्काल सम्बन्धित वितरण केन्द्र वा प्राधिकरणमा खबर गरी विद्युत् आपूर्ति बन्द भएको सुनिश्चित भएपछि मात्रै मर्मतको काम गर्नुपर्ने प्राधिकरणको सुझाव छ ।