हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ भदौ । बारा जिल्लाको जितपुरसिमरा-१, दशधुरीकी चार वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा कञ्चनपुरमा आइतबार पनि प्रदर्शन गरिएको छ । दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै महेन्द्रनगरदेखि बेलौरीसम्म नागरिकस्तरमा विरोध तथा श्रद्धाञ्जली कार्यक्रम गरिएका छन् ।
महेन्द्रनगरमा आइतबार जिल्ला प्रहरी कार्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन महेन्द्रनगर बजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिसम्म पुगेको थियो । प्रदर्शनमा सहभागीहरूले बालबालिकामाथि हुने हिंसा, बलात्कार र हत्याजस्ता जघन्य अपराध अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरूले अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने, आवश्यक परे कानुन संशोधन गरेर भए पनि दोषीमाथि कडा कारबाही गर्नुपर्ने र पीडित परिवारले न्यायको अनुभूति गर्ने गरी राज्य प्रस्तुत हुनुपर्ने माग गरेका छन् ।
यसैबीच, बेलौरीमा पनि गरिमा चौधरीको घटनासहित बालबालिकामाथि हुने हिंसाविरुद्ध लगातार दोस्रो दिन श्रद्धाञ्जली तथा विरोध कार्यक्रम गरिएको छ । शनिबार युवाहरूको सहभागितामा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो भने आइतबार बेलौरी बजारस्थित भीमदत्त चोकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवालगायत स्थानीय नागरिकको सहभागितामा विरोध कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गरिमा चौधरीको बलात्कारपछि हत्या, बारा जिल्लाकै दुई वर्षीया बालिका बिन्दी मण्डल बेपत्ता भएको घटना तथा जनकपुरमा दुई वर्षीया बालिकाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको घटनाप्रति दुःख व्यक्त गरिएको छ । सहभागीहरूले बालबालिकाको सुरक्षा, मानव अधिकार तथा नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्ने बताएका छन् ।
उनीहरूले यस्ता जघन्य अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर कठोर कारबाही गर्न माग गरेका छन् ।
महिला नेतृ कमला बोहराले पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै अपराधीलाई कानुनी दायरामा ल्याउन सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताएकी छन् । समाजमा दया, माया, करुणा र मानवीय संवेदना कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै बालबालिकामाथि हुने हिंसाविरुद्ध सबै पक्ष एकजुट हुनुपर्नेमा उनको जोड छ ।
उनका अनुसार कार्यक्रममा सहभागी सबैको साझा आवाज दोषीलाई कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउनुपर्ने रहेको छ । सामाजिक मुद्दामा नागरिक खबरदारी आवश्यक रहेको भन्दै उनले स्वतःस्फूर्त रूपमा कार्यक्रममा सहभागी भएका सबैलाई धन्यवाद दिएकी छन् ।
गरिमा चौधरीको घटनालाई लिएर कञ्चनपुरका विभिन्न क्षेत्रमा लगातार भइरहेको प्रदर्शन, श्रद्धाञ्जली तथा विरोध कार्यक्रमले बालबालिकामाथि हुने हिंसा र जघन्य अपराधविरुद्ध स्थानीयस्तरमा नागरिक खबरदारी बढ्दै गएको देखाएको छ । सहभागीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानुनी तथा सुरक्षा व्यवस्था लागू गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका छन् ।
उता, बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको आइतबार दाहसंस्कार गरिएको छ ।
सरकारसँग तीनबुँदे सहमति भएपछि बालिकाका बुवाआमा घर फर्किएका थिए । त्यसपछि धार्मिक तथा सामाजिक परम्पराअनुसार कलैया उपमहानगरपालिका-१४, बघवनस्थित पसाहा खोला किनारमा बालिकाको दाहसंस्कार गरिएको हो । बालिकाको पार्थिव शरीरमा उनका बुबाले दागबत्ती दिएका थिए ।
अन्तिम संस्कारअघि परिवारले कलैया प्रादेशिक अस्पतालबाट बालिकाको शव बुझेका थिए । कडा सुरक्षाबीच गरिएको दाहसंस्कारका क्रममा गृह मन्त्रालयको प्रतिनिधित्व गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसमेत उपस्थित थिए । साउन ३१ गते घरबाट हराएकी बालिका गरिमा चौधरीको बलात्कारपछि विभत्स हत्या गरिएको अवस्थामा गत मंगलबार साँझ शव फेला परेको थियो ।