हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ पुस । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा कमला रेग्मी जोशी निर्विरोध चयन हुनु भएको छ । बिहिबार आयोजित साधारण सभाले उहाँलाई अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन गरेको हो । उहाँले यसअघि पनि अध्यक्ष पदमै रही कार्य गर्नुभएको थियो । नयाँ सञ्चालक समितिको उपाध्यक्षमा भागेश्वरी चौधरीलाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरुमा राजकुमारी राना, नलछत्तर राना, सरिता देवी जैशी, हेलन ठगुराठी साउँद, सनिता थापा, अमृता बुढा, पार्वती रोकाया, पार्वती आग्री र मञ्जु खड्का चयन हुनुभएको छ । त्यस्तै, प्रेमा बडवाल साउँदको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । लेखासमितिको सदस्यमा पार्वती कुमारी जोशी र रेवती तिवारी भट्ट चयन हुनुभएको छ ।
साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले बेलडाँडी क्षेत्रको विकासका लागि बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको समेत महत्वपूर्ण सहयोग रहदैँआएको उल्लेख गर्नुभयो । बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला देवी कार्कीले यस क्षेत्रका महिलाहरुको सशक्तीकरणमा उक्त सहकारी संस्थाको योगदान विर्सन नसकिने बताउनु भयो । सहकारी संस्थाको सकृयता अनुसार गाउँपालिकाले समेत सहयोग र सहकार्य गर्ने बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टको भनाइ छ । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको हालसम्मको लगानी ५ करोड, ५९ लाख, ६५२ रुपैयाँ रहेको संस्थाका प्रबन्धक बिमला बडवालले बताउनु भयो ।
चालुआर्थिक वर्षको आम्दानी ८० लाख रुपैयाँ र खुद नाफा २० लाख पुर्याउने संस्थाको लक्ष्य रहेको छ । उक्त सहकारी संस्थामा एक हजार भन्दा बढी सदस्यहरु रहेका छन् । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले विविध सामाजिक गतिविधिहरुमा सकृयता बढाएको छ । गतविगतका वर्षहरु देखि नै सहकारीमा आवद्ध परिवारका सदस्यहरु मध्येबाट कोटा अनुसार छनौट गरी कृषि विषय अध्ययन भिसामा इजरायल पठाउने कार्य गर्दै आएको छ । त्यस्तै, किसानहरुलाई मलखाद बिक्रिवितरण, साना सिँचाई, एम्बुलेन्स सेवाका लागि तत्काल सहुलियत व्याजदरमा ऋण प्रवाह गर्दै आएको सहकारी संस्थाकी अध्यक्ष कमला रेग्मी जोशीले बताउनु भयो ।
उक्त सहकारी संस्थाले दुई लाख रुपैयाँसम्म बिना धितो र सात लाख रुपैयाँसम्म धितो राखेर ९ देखि १३.५ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । त्यसमा पनि अपांगता भएका व्यक्ति र महिलालाई विशेष सहुलियतमा कर्जा प्रवाह गर्दै आएको बताइएको छ । यसका अतिरिक्त सुत्केरी महिलाका लागि घ्यू खाने खर्च, कुनै सदस्यको मृत्यु भएमा सम्बन्धितको परिवारजनलाई किरिया खर्च समेत दिने गरेको छ । बेलडाँडी गाउँपालिका कार्यालयको पूर्वपट्टि संस्थाको भवन समेत निर्माणाधिन अवस्थामा रहेको छ । यद्यपि वनबाट काठ विक्रिवितरण बन्द गरिएकोले काठकै अभावमा भवन निर्माणको कार्य स्थगित भएको बताइएको छ ।