कञ्चनपुर, २५ वैशाख । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय, कञ्चनपुरको आयोजनामा ‘पालिका तथा गैरसरकारी संस्थाको सहकार्यमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा तथा विद्यार्थी भर्ना अभियान’ विषयक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बेलडाँडी गाउँपालिका अन्तर्गतका शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र त्यसको कार्यान्वयन सम्बन्धी विधि, नीति तथा योजनाका विषयमा जानकारी प्रदान गरिएको थियो ।
-1746722892.jpg)
बेलडाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले ऐनका मुख्य प्रावधान र कार्यान्वयन प्रक्रिया प्रस्तुत गर्दै विद्यालयले कुनै बालबालिकालाई भर्ना गर्न अस्वीकार गर्न नपाउने, निष्कासन गर्न नपाउने र पुनः भर्ना गराउनु पर्ने कानुनी व्यवस्था सबैले पालन गर्नुपर्ने उल्लेख गर्नुभयो । सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशीले शिक्षा मन्त्रालयले तयार पारेको कार्यान्वयन कार्ययोजनाबारे जानकारी दिँदै २०८५ सालसम्म सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । “यदि त्यस अवधिसम्म शिक्षाबाट वञ्चित भए, ती बालबालिका राज्यका सेवाबाट वञ्चित हुनेछन्,” उहाँले स्पष्ट पार्नुभयो ।
-1746722924.jpg)
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले संविधान, शिक्षा नीति २०७६, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र कार्यान्वयन योजना २०८१ का प्रमुख बुँदाहरू प्रस्तुत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिचन्द्र रानाले पालिकाले शिक्षा क्षेत्रमा निरन्तर सुधारका लागि पहल गरिरहेको बताउँदै शिक्षाको हक कार्यान्वयनमा सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । “निजी र सामुदायिक विद्यालयलाई समान व्यवहार गर्दै पालिका सधैँ बालबालिकाको हकहितका लागि प्रतिबद्ध छ,” उहाँले भन्नुभयो ।
-1746722955.jpg)
गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पालिकाले शिक्षालाई सामाजिक रूपान्तरणको आधार मानेर नीति तथा कार्यक्रम निर्माण गरिरहेको बताउँदै अभिभावक, शिक्षक र समुदाय सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । गाउँपालिका प्रवक्ता गजबहादुर बिष्टले सबै बालबालिकाको शिक्षा सुनिश्चित गर्नु पालिकाको प्रमुख दायित्व भएको उल्लेख गर्दै स्थानीय तहले ऐन र नीतिको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
-1746723012.jpg)
कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा, सुझाव र प्रतिक्रिया राखेका थिए । कार्यक्रमको सहजीकरण बेलडाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, स्थानीय जनप्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सिकाइ केन्द्रका प्रमुख, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघ (पिटिए) का अध्यक्षहरू, प्याब्सन तथा एनप्याब्सनका प्रतिनिधि, पालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।