कैलाली । अनलाइन टिभी पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ । अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा रहनुभएको थियो । मन्त्री थापाले प्रविधिसँगै सञ्चारको स्वरूप परिवर्तन हुँदै गएकाले अनलाइन पत्रकारिता जिम्मेवारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सत्य, तथ्य र विश्वसनीय सूचनाको प्रवाह अनलाइन माध्यममार्फत अझ प्रभावकारी बनाउन पत्रकारहरूले भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । “अनलाइन पत्रकारिताले गाउँ-गाउँको आवाज बुलन्द बनाउन सक्ने सम्भावना बोकेको छ,” मन्त्री थापाले भन्नुभयो, “तर त्यससँगै पेसागत आचरण र मर्यादामा पनि ध्यान दिनु आवश्यक छ ।”
अधिवेशनको सभापतित्व संघका केन्द्रीय सदस्य तथा अधिवेशन संयोजक वीरेन्द्र धामीले गर्नुभएको थियो । औपचारिक सत्रपछि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राज कुमार सिंहले पत्रकारहरूलाई साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण प्रदान गर्नुभएको थियो । कार्यक्रममा अनलाइन पत्रकारितामा बढ्दो साइबर जोखिम, सुरक्षाका उपाय तथा पत्रकारहरूको भूमिकाबारे गहन छलफल भएको थियो । अधिवेशनमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पत्र कारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अनलाइन पत्रकारिताको भविष्य, सम्भावना र चुनौतीबारे पनि व्यापक विमर्श गरिएको थियो ।
अधिवेशनले भक्त राज जोशीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा अङ्कित उप्रेती, उपाध्यक्षमा खेम राज जोशी, महासचिवमा टीकाराम साउद, सचिवमा माधव पौडेल र कोषाध्यक्षमा सरिता चन्द चयन हुनु भएको छ । गोविन्द सोडारी र कालुराम चौधरी सदस्यमा निर्वाचित हुनु भएको छ । कैलाली जिल्लाको संयोजकमा दीपक रावल, कञ्चनपुर जिल्लाको संयोजकमा प्रकाश भट्ट र दार्चुलाको संयोजकमा सञ्जु महरलाई चयन गरिएको छ ।
अधिवेशन संयोजक वीरेन्द्र धामीले नयाँ कार्यसमितिबाट सुदूरपश्चिममा अनलाइन पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण र पेसागत मर्यादा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति उहाँले कृतज्ञता प्रकट गर्नुभयो । नवनिर्वाचित अध्यक्ष भक्त राज जोशीले अनलाइन पत्रकारितालाई जिम्मेवार, विश्वसनीय र व्यवस्थित बनाउन आफ्नो टिम प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धि, साइबर सुरक्षामा सचेतना र पेसागत हकहितका विषयमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिमको पत्रकारितालाई नयाँ उचाइमा पुर्याउने दृढता व्यक्त गर्नुभयो ।