हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन तदर्थ समिति गठन गरिएको छ । दिवस मनाउने सन्दर्भमा गरिएको बृहत् छलफलबाट टेक बहादुर साउदको अध्यक्षतामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता समिति गठन गरिएको हो । उक्त समितिले यही पुस २७ गते विभिन्न जातजातिको कला, संस्कृति झल्कने कार्यक्रम सहित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरिरहेको छ । दिवसलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न हर्क सिंह कुँवरको अध्यक्षतामा सल्लाहकार समिति समेत गठन गरिएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य तरिकाले मनाउन पुस २७ गते बिहान ११ बजे बेलौरी बजार स्थित चिल्ड्रेन पार्क (बाल उद्यान) मा उपस्थितिका लागि जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी, गैरसरकारी तथा निजी संघसंस्था, बुद्धिजीवी तथा सर्वसाधारण सबैलाई अनुरोध गरिएको आयोजक समितिका कोषाध्यक्ष एवं उक्त कार्यक्रमका परिकल्पनाकार आई जङ्ग कुँवरले बताउनु भयो । लक्षित योजनाहरू अन्तर्गत राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण, विभिन्न जातजाति, समुदायका एकता झाँकीद्वारा बजार परिक्रमा, विभिन्न विद्यालयका तर्फबाट नृत्य तथा अन्य प्रस्तुतिहरू (प्रतियोगिता होइन), केही सारगर्भित र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकतासँग सान्दर्भिक मन्तव्यहरू रहने आयोजक समितिका सचिव लक्ष्मण सिंह दियालले जानकारी दिनुभयो ।
यसैबिच, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा बेलौरीमा रहेको सामुदायिक अस्पताल ईशान मेमोरियल अस्पतालले १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका इच्छुक व्यक्तिहरूको निःशुल्क रक्त समूह परीक्षण शिविर सञ्चालन गर्ने र एक दिनका लागि विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क ओपिडी सेवा तथा अन्य सेवाहरूमा ५० प्रतिशत छुट गर्ने जनाएको छ । पुस २७ गतेकै दिन दिवसको अवसरमा रक्त समूह परीक्षण शिविरको उद्घाटन गर्ने र त्यही दिनदेखि फरक फरक मितिमा बेलौरी बजार, गोकुलपुर बजार, कलकत्ता बजार, बेलडाँडीको चौवन्नी बजार, लालझाडीको चान्देव र कञ्ज बजार, पुनर्वासको कालिका बजारमा निःशुल्क शिविर सञ्चालन गरिने ईशान मेमोरियल अस्पताल बेलौरीका अध्यक्ष आई जङ्ग कुँवरले जानकारी दिनुभएको छ । कतिपय अवस्थामा रगतको अभाव हुँदा आफ्नो रगत समूह थाहा नभएका कारण धेरैजसो मानिसले चाहेर पनि कसैलाई रगत दान गर्न नसक्ने अवस्था व्याप्त रहेकोले सोही समस्यालाई न्यूनीकरण गर्न रगत समूह परीक्षण शिविर सञ्चालन गर्न लागेको उहाँको भनाइ छ ।