कञ्चनपुर, ०१ जेठ । कञ्चनपुरको बेलडाँडीमा रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीले सोमबार पूर्व प्रहरीहरूसँग छलफल, अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेको छ । बेलडाँडी इलाका प्रहरी कार्यालयको परिसरमा शान्ति सुरक्षाका विषयलाई प्रभावकारी बनाउन पूर्व प्रहरी कर्मचारीहरूसँग छलफल गरिएको बेलडाँडी इलाका प्रहरी कार्यालयले जनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पूर्व प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरू बिच अनुभवको आदानप्रदान तथा राय सुझाव लिइएको थियो । पूर्व प्रहरी कर्मचारीबाट समाजमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, खबर सङ्कलनमा सहयोग हुने आशाका साथ यस्तो कार्यक्रम आयोजना गरिएको प्रहरी निरीक्षक पन्तले बताउनु भयो । उहाँका अनुसार आगामी दिनहरूमा पूर्व प्रहरी कर्मचारीहरूको राय सुझाव लिई शान्ति सुरक्षालाई थप प्रभावकारी बनाइने छ । बेलडाँडीमा पूर्व प्रहरी कर्मचारी करिब ४५ जना जति रहेको र २२ जना अहिले कमिटीमा रहेको जनाइएको छ ।