कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना रोकथाममा गरेको कार्य प्रगति र खर्चको सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गरेको काम र उपलब्धीका विषयमा स्थानीय युवाहरूले गरेको शोधपत्रको निष्कर्षलाई कार्यक्रममा सरोकारवालाहरू समक्ष प्रस्तुत गरिएको शोधपत्र समूहका संयोजक तुलसीधर भण्डारीले बताउनु भयो ।
सामाजिक विकास मन्त्रालय र सेती प्रादेशिक अस्पतालको कार्यप्रगती, खर्च र नागरिकले पाएको सेवा सुविधाको विश्लेषण गरी तयार गरिएको प्रतिवेदनमा विगतमा गरिएको कार्यको स्पष्ट चित्र प्रस्तुत गरिएको छ । अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य सुशीला बुढाथोकीले युवाहरूले सरकारले गरेका गतिविधि नजिकबाट नियाल्दा सरकार पनि थय जिम्मेवार हुने बताउनु भयो । सांसद्को जिम्मेवारी कानुन बनाउने भएको हुँदा समुदायमा भएका कार्यहरूको सम्पूर्ण गतिविधि नियाल्न नसकिने बताउँदै उहाँले नागरिकहरूले सरकारको गतिविधिहरू नियाल्न र सरकारलाई घच्घच्याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपाल युवा संस्था सञ्जाल (आयोन) ले तिन ओटा प्रदेशमा सञ्चालन गरेको संसदीय मामिलामा युवा सहभागिता विषयक कार्यक्रममा सहभागी युवाहरूको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । संसदीय मामिलामा युवा सहभागिता विषयक कार्यक्रममा ५ ओटा समूह सुदूरपश्चिम प्रदेशबाट छनोट भएका छन् ।