हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ असार । सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा आधारित नमुना अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । केयर नेपाल, युरोपियन युनियन, युएनडिपी, युनिसेफ, युएन वुमन, मर्सीकोर्प्स्, रेडक्रस, एनसेट र निड्स नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार धनगढीमा उक्त कार्यक्रमको आयोजना गरेको हो । मनसुनको समयमा हुने बाढी पहिरो लगायतका समस्यामा जनधनको क्षति रोक्न यस्तो अभ्यास गरिएको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले जानकारी दिनुभयो ।
विपद्को समयमा गतविगतमा भएका कमीकमजोरी र नयाँ कार्ययोजनामा आधारित रहेर अभ्यास गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकालले बताउनु भयो । पूर्व अभ्यासले मनसुनको समयमा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विकास साझेदारको तर्फबाट केयर नेपालका राष्ट्रिय निर्देशक रेचल ओल्फले विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद् व्यवस्थापन लगायत सबै प्रकारका योजना तयारी प्रक्रियामा महिलाको सहभागिता हुनु पर्नेमा जोड दिनुभयो । सुदूरपश्चिम प्रदेश बाढी र पहिरोको उच्च जोखिममा रहेकोले विकास साझेदारहरूको सहयोगमा प्रदेश सरकारले यस किसिमको पूर्व अभ्यास गरेको र विपद्को समयमा हुने क्षति न्यूनीकरण गर्न तथा शीघ्र प्रतिकार्यमा कोशेढुङ्गा साबित हुने गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव तथा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशको मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ बारे संक्षिप्त जानकारी गराइएको छ । विषयगत तथा क्लष्टरगत समूहमा विभाजन भई मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजनामा आधारित नमुना अभ्यास गरिएको थियो । वर्षा याममा आउन सक्ने बाढी तथा पहिरोबाट बच्न सुदूरपश्चिम प्रदेश स्तरमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिएको छ । स्थानीय तहलाई समेत स्रोतसाधन सम्पन्न बनाएर मात्रै सरोकारवाला सबैको सहयोग र सहकार्यमा जोखिम न्यूनीकरण तथा उद्धार र शीघ्र प्रतिकार्य हुन सक्ने विज्ञहरूको सुझाव छ । टेबल टप नमुना अभ्यास (सिमुलेशन) कार्यक्रमको पुनरावलोकन तथा पृष्ठपोषण एनडिआरआरएमएका उपसचिव ध्रुव बहादुर खड्काले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावल, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव रामेश्वर दंगाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकाल सहित प्रदेश सचिव तथा कर्मचारीहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरू, एनडिआरआरएमएका प्रतिनिधि, विभिन्न मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरू र पत्रकारहरूको सहभागिता रहेको थियो ।