हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ बैशाख । कञ्चनपुरको बेलौरीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको श्रीपुर बेलौरी शाखाको सट्टा अब बेलौरी शाखा कायम गरिएको छ । बैङ्कको बोर्डले शाखाको ठेगाना श्रीपुर बेलौरी रहेकोमा त्यसलाई परिमार्जन गरी बेलौरी शाखा कायम गरेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड बेलौरी शाखाका प्रबन्धक महेशराज भट्टले जानकारी दिनुभयो । “झट्ट सुन्दा सामान्य लागे पनि श्रीपुर बेलौरी शाखाको नामले धेरै हैरानी खेप्नु परेको थियो, अब बेलौरी शाखा कायम भएकोले उक्त समस्या दोहोरिँदैन” उहाँले भन्नुभयो । वीरगन्जको श्रीपुरमा समेत राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको शाखा रहेकोले एटिएमदेखि लिएर बेलौरी आउनु पर्ने कागजात तथा अत्यावश्यक विवरणहरू समेत वीरगन्जकै शाखामा जाने गरेकोले थुप्रै पटक समस्या सृजना भएको स्मरण गर्दै शाखा प्रबन्धक भट्टले यस कार्यमा सहयोग गर्ने सबै प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
बेलौरी नगरपालिका घोषणा हुनु पूर्व यहाँ श्रीपुर गाविस रहेको थियो । २०४४ सालतिर बेलौरीमा स्थापित राष्ट्रिय वाणिज्य बैङ्कको उक्त शाखाको नाम नै श्रीपुर शाखा राखिएको थियो । त्यस समयमा समेत बेलौरी आउनु पर्ने अत्यावश्यक कागजातहरू तथा मालसामानहरू सिधै वीरगन्जको श्रीपुर शाखामा जाने गरेको तथ्य तत्कालीन शाखा प्रबन्धकहरूलाई उद्धृत गर्दै बेलौरीका इतिहासविद् केशवराज जोशीले जानकारी दिनुभयो । साबिक लक्ष्मीपुर, श्रीपुर र रामपुरविलासीपुर गाविस गाभेर बेलौरी नगरपालिका घोषणा भएको आठ वर्ष पुग्ने बेलासम्म पनि शाखाको नाम श्रीपुर नै रहँदा त्यसले थप जटिलता सृजना गरेकोमा अब त्यसो नहुने उहाँको बुझाइ छ । “यहाँ श्रीपुर नामको कुनै खास गाउँ ठाउँ समेत नरहेको तर अन्यत्र थुप्रै ठाउँमा श्रीपुर नामका गाउँ ठाउँ रहेकोमा त्यसले पार्ने असरबाट बेलौरी पनि अछुतो रहन सकेन” उहाँले भन्नुभयो, “त्यसैमा बैङ्कको शाखाको नाम श्रीपुर नै रहिरहँदा त्यसले बैङ्कको कार्यालयदेखि सेवाग्राहीलाई समेत समस्या भएको थियो । अब उक्त समस्याबाट मुक्ति मिल्यो ।”