माधव पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ वैशाख । कञ्चनपुरको बेलौरीमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय कञ्चनपुरको आयोजनामा ‘पालिका तथा गैरसरकारी संस्थाको सहकार्यमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा तथा विद्यार्थी भर्ना अभियान’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । बेलौरी नगरपालिका अन्तर्गतका शिक्षासँग सरोकारवालाहरूको सहभागितामा आयोजित सो कार्यक्रममा नेपाल सरकारले २०७५ सालमा पारित गरेको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन र त्यसको कार्यान्वयन प्रक्रिया बारे जानकारी प्रदान गरिएको बेलौरी नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्टले बताउनु भयो ।

सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशीले कार्यक्रममा बोल्दै २०७५ सालमा पारित अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र २०७७ मा ल्याइएको नियमावलीका आधारमा हाल शिक्षा मन्त्रालयले कार्यान्वयन कार्ययोजना तयार गरिसकेको जानकारी दिनुभयो । “२०८५ सालसम्म सबै बालबालिकालाई आधारभूत शिक्षा दिइनै पर्छ, नत्र उनीहरू राज्यका सेवाबाट वञ्चित हुनेछन्,” उहाँले स्पष्ट पार्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले संविधान, शिक्षा नीति २०७६, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र कार्यान्वयन योजना २०८१ को प्रमुख प्रावधानहरूबारे विस्तृत जानकारी दिनुभयो । उहाँले विद्यालयले बालबालिकालाई भर्ना गर्न अस्वीकार गर्न नपाइने, निष्कासन गर्न नपाइने र पुनः भर्ना गराउनु पर्ने कानुनी व्यवस्था सबैले पालना गर्नुपर्ने कुरा प्रष्टसँग उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले पालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँले संविधानले प्रत्याभूत गरेको शिक्षाको हक कार्यान्वयनमा सबै अभिभावक, विद्यालय र सरोकारवाला संस्थाहरू जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो । “निजी र सामुदायिक विद्यालयलाई समान व्यवहार गर्दै पालिका बालबालिकाको हकहितका लागि सधैँ तत्पर छ,” उहाँले भन्नुभयो । कार्यक्रममा सहभागीहरूले विभिन्न प्रश्न, जिज्ञासा तथा सुझाव समेत राख्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्टले गर्नुभएको थियो । बेलौरीस्थित प्रेम होटेल एण्ड रेस्टुरेन्टमा आयोजित कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरी, सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशी, बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जय सिंह बोहरा, राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत रामदत्त भट्ट, स्थानीय जनप्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सामुदायिक सिकाइ केन्द्रका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पिटिए अध्यक्ष, प्याब्सन तथा एनप्याब्सनका प्रतिनिधि, पालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
