✍️-हरिश्चन्द्र बाग, प्रधान सम्पादक, एन.बि. मिडिया नेटवर्क, कञ्चनपुर ।
सबैभन्दा पहिला त विश्व प्रेस स्वतन्त्रता दिवसको शुभ अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रत्येक वर्ष मे ३ तारिखमा विश्वभर मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि एक उत्सव नै हो । यो स्वतन्त्र पत्रकारिता, सूचनाको हक र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण प्रतिको साझा प्रतिबद्धताको स्मरण पनि हो ।
यसको सुरुवात सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले युनेस्कोको सिफारिसमा घोषणा गरेपछि भएको हो । तर यसको पृष्ठभूमि अझ पहिलेदेखि नै सुरु भएको मानिन्छ । सन् १९९१ मा नामिबियाको विन्डहोक सहरमा आयोजित एक युनेस्को सम्मेलनले पत्रकारिताको स्वतन्त्रता, बहुलवाद र स्वतन्त्र सञ्चारमाध्यमहरूको पक्षमा "विन्डहोक घोषणापत्र" जारी गर्यो; जसलाई नै विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने आधार मानिएको विभिन्न दस्ताबेजहरूमा पढ्न पाइन्छ ।
यस दिवसको मूल उद्देश्य भनेको विश्वभरका पत्रकार र सञ्चारमाध्यमहरूलाई अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्न दबाब सिर्जना गर्नु, पत्रकारमाथिको हिंसा, धम्की, सेन्सर र दमनको विरोध गर्नु र स्वतन्त्र, निष्पक्ष तथा सुरक्षित पत्रकारिताका लागि वातावरण बनाउनु हो । यस अवसरमा प्रेस स्वतन्त्रताको अवस्था, पत्रकारहरूको सुरक्षा र सूचनाको व्यापक पहुँचबारे बहस र समीक्षा गरिन्छ । यो दिवस सञ्चारमाध्यम र पत्रकारहरूका लागि मात्र होइन, जनताको सूचनाको हकको संरक्षणका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको छ ।
यस अवसरमा हामी सबै पत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, नागरिक समाज र राज्यका संयन्त्रहरूले प्रेस स्वतन्त्रताको महत्वमाथि पुनः विचार गर्नु जरुरी हुन्छ । तर स्वतन्त्रताको कुरा गर्दा हामीले भुल्न नहुने एउटा मूल पक्ष हो, जिम्मेवारी । प्रेस स्वतन्त्रता कुनै निरपेक्ष, अराजक वा निरङ्कुश अभ्यास होइन । यो त कर्तव्यबोध, सामाजिक उत्तरदायित्व, सत्यनिष्ठा र मर्यादाको विषय हो । स्वतन्त्रता र जिम्मेवारी अर्थात् अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन्; जसलाई छुट्टाएर हेर्न मिल्दैन ।
म त भन्छु; स्वतन्त्रता सँगसँगै जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकता हो ।
आजको पत्रकारिताले भोगिरहेको चुनौतीहरू थुप्रै छन्; राजनीतिक दबाब, आर्थिक परनिर्भरता, सूचना प्रविधिको द्रुत विकास, भ्रामक सामग्री र सामाजिक सञ्जालको असर । यस्ता परिस्थितिमा पत्रकारिताले आफूलाई अझ जिम्मेवार, तथ्यमा आधारित, निष्पक्ष र जनपक्षीय बनाउनु पर्ने आवश्यकता पहिलेभन्दा धेरै बढेको छ ।
पत्रकारको कलम सत्य बोल्ने हतियार हो; तर त्यो सत्यले समाजलाई चिथोर्ने होइन, सुधार्ने काम गर्नुपर्छ । अभिव्यक्तिको स्वतन्त्रता भनेको अरूको अधिकारमाथि हस्तक्षेप होइन; समावेशी र विवेकपूर्ण संवाद हो । पत्रकारिताले सामाजिक सद्भाव, नागरिक सचेतना र लोकतान्त्रिक संस्थाहरूको मजबुतीका लागि काम गर्नुपर्छ । त्यसैले आजको दिन हामीले प्रेस स्वतन्त्रताको माग गर्ने मात्र होइन कि; पत्रकारिताको आत्ममूल्यांकन पनि गर्नुपर्छ ।
हामीले के हाम्रा कलम, क्यामेरा र आवाज जनताको पक्षमा प्रयोग गरेका छौँ त ?
के हामी स्वतन्त्र पत्रकारिताको नाममा जिम्मेवारीबाट भागिरहेका त छैनौँ ?
यी प्रश्नको जवाफ पत्रकारहरूले आफैँ भित्र खोजौँ ।
अन्त्यमा, प्रेस स्वतन्त्रताको सम्मान गर्ने समाजले मात्र सशक्त लोकतन्त्र निर्माण गर्न सक्छ । तर त्यो स्वतन्त्रता तब मात्र फलदायी हुन्छ; जब हामी सबै पत्रकारहरूले आफ्नो भूमिकालाई मर्यादित, जिम्मेवार र जनहितकारी बनाउन सक्छौँ ।