कञ्चनपुर । कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा हिरासिंह बिष्ट निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा बिष्टले आफ्ना प्रतिस्पर्धी लक्ष्मी नारायण चौधरीलाई १९ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन संयोजक नारायण सिंह ऐरीले जानकारी दिनुभयो । बिष्टले २४८ र चौधरीले २२९ मत प्राप्त गर्नुभयो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा डम्बर दत्त भट्ट निर्वाचित हुनु भएको छ । भट्टले आफ्ना प्रतिस्पर्धी जल बहादुर चौधरीलाई ५१ मतान्तरले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । भट्टले २५९ र चौधरीले २०८ मत प्राप्त गर्नुभयो ।
बिष्ट प्यानलबाट एकल उम्मेदवारी परेकोले उद्योग उपाध्यक्षमा विजयलक्ष्मी श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा हरिप्रसाद खरेल, महासचिवमा गोविन्द प्रसाद सापकोटा, सचिवमा वसन्त पुन मगर, कोषाध्यक्षमा महेन्द्र सिंह बुडाल निर्विरोध निर्वाचित हुनुभयो । ८ जना सदस्यका लागि भएको निर्वाचनमा १२ जना प्रतिस्पर्धी मध्ये बिष्ट प्यानलका ६ जना र चौधरी प्यानलका २ जना निर्वाचित हुनु भएको छ । बिष्ट प्यानलबाट देव बहादुर शाही,भवेश्वर पाण्डेय, यम बहादुर खत्री, कृष्ण प्रसाद बगाले, घनराज सुवेदी, दिनेश कुँवर तथा चौधरी प्यानलबाट आशिष् सुनार र रामेश्वर न्यौपाने सदस्यमा निर्वाचित हुनु भयो । उद्योग वाणिज्य संघका सदस्य ५८२ जना मध्ये ५०४ जनाले मतदान गरेकोमा १५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।