हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ जेठ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ३ बडूवाल टोल (शिवनगर टोल) विपन्न परिवारलाई एलइडी बल्ब वितरण गरिएको छ । ब्रिटिस काउन्सिलको सहयोग र नेपाल युवा संस्था सञ्जाल (आयोन) को आयोजनामा जलवायु परिवर्तन न्यूनीकरणमा युवाहरूको भूमिका परियोजना अन्तर्गत एलइडी बल्ब वितरण गरिएको कञ्चनपुर टिममा संयोजक माधव राज भट्टले जानकारी दिनुभयो । पृथ्वी जोगाउने हात एलइडीको साथ भन्ने मूल नाराका साथ विद्युत् खपत घटाउने र केही सहयोग पुगोस् भन्ने उद्देश्यले दोधाराचाँदनी नगरपालिका वडा नम्बर ३ बडूवाल टोलका १५० विपन्न घरधुरीलाई एलइडी बल्ब वितरण गरिएको उहाँले बताउनु भयो । त्यस क्रममा नेपाल युवा संस्था सञ्जाल (आयोन) का सुदूरपश्चिम फोकल पर्सन तपराज जोशी र कञ्चनपुर टिममा संयोजक माधव राज भट्टले सहभागीहरूलाई जलवायु परिवर्तन सम्बन्धी जानकारी समेत दिनुभएको थियो ।
विपन्न परिवारलाई एलइडी बल्ब वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका दोधाराचाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशीले उक्त कार्यको प्रशंसा गर्दै ससाना असल अभ्यासले पनि निक्कै ठूलो भूमिका खेल्न सक्ने कुराको ज्ञान मिलेको सुनाउनु भयो । विपन्न बस्तीमा क्रमशः विकासका गतिविधि सञ्चालन भइरहेको उल्लेख गर्दै उपप्रमुख जोशीले सबै क्षेत्रको सहयोग र सहकार्यमा विकास सम्भव रहेकोले अब त्यसतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनु भयो । वडा नम्बर ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बडूवाल टोल (शिवनगर टोल) जस्तो अत्यन्तै दुर्गम र विपन्न समुदायको बसोबास रहेको बस्तीमा ज्ञान प्रदान गर्नुका साथै विपन्न परिवारको विद्युत् खपत घटाउने गरी चिम वितरण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
गणेश आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरू, निड्स नेपालका सामाजिक परिचालक भावना जोशी, सिडिएमसीका अध्यक्ष तथा सदस्यहरू लगायत युवाहरूको समेत सहभागिता रहेको कुरा सोही टोलीमा सक्रिय लक्ष्मी भट्टले बताउनु भयो । कार्यक्रमको सहजीकरण लाक्पा शेर्पा र विवरण सङ्कलन गोदावरी रानाले गर्नुभएको थियो । यसअघि गत माघ २५ गतेदेखि फागुन ०१ गतेसम्म कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशभरबाट २५ जनालाई जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण दिइएको थियो । जलवायु परिवर्तन, त्यसबाट परिरहेको असर र न्यूनीकरणका सवालमा ६ दिनसम्म सहभागीहरूलाई प्रशिक्षकद्वय आयुश श्रेष्ठ र श्रेया केसीद्वारा प्रशिक्षण दिई सहभागीहरूलाई चार समूहमा आबद्ध गरी आआफ्नो क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि कार्य गर्ने जिम्मेवारी दिइएकोमा कञ्चनपुरको टिमले उक्त कार्य गरेको कार्यक्रम संयोजक शैलेश्वरी सिंहले बताउनु भएको छ । यस किसिमका अभियानलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।