हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मंगलबार दिउँसो लालझाडी बन क्षेत्रबाट मानव बस्तीमा पसेको एक वयस्क भाले हात्तीले आतङ्क मच्चाएको हो । पुनर्वास नगरपालिका वडा नम्बर १० विकास बस्ती र दोदा नदी बिचको हुलाकी राजमार्ग हुँदै गाउँ पसेको हात्तीको त्रासले खेतबारीमा काम गरिरहेका किसानहरूको भागाभाग परेको थियो । तत्कालै कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश यादवको नेतृत्वमा बन कर्मचारी र सर्वसाधारणहरूको समूहले हात्तीलाई बस्तीबाट भगाएकोले मानवीय क्षति हुन पाएन । तर हात्तीले गाउँमा पसेर बालीनाली नोक्सान गरेको छ भने बारीमा चरिरहेका एक एक गोरु र भैँसी समेत हात्तीको आक्रमणबाट घाइते भएका छन् । पुनर्वास नगरपालिका वडा नम्बर १० विकास बस्ती बस्ने नीरज रानाको गोरु र बलराम रानाको भैँसीको पेटमा हात्तीले आक्रमण गरेको हो । उक्त हात्ती भारतीय दुधुवा नेशनल पार्कभित्र पसिसकेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश यादवले बताउनु भएको छ ।