हरिश्चन्द्र बाग, कञ्चनपुर, १६ फागुन । कञ्चनपुर प्रहरीले दश लाख एक्काइस हजार चार सय मूल्य बराबरको अवैध औषधी बरामद गरेको छ । अवैध रूपमा भन्सार छली गरी ल्याई कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ०३ भासी पुल नजिक लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएका अवैध औषधी विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बरामद गरेको जनाइएको छ ।
१ हजार ८० पत्ता नेउरोम्याक्स, १ हजार पत्ता बोनविट र ८ सय १० पत्ता सेगोप्लेक्स नामक औषधी बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताउनु भयो । बरामद गरिएको औषधी आवश्यक कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।