हरिश्चन्द्र बाग, कञ्चनपुर, बैशाख २७ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ५ मा रहेको देखतभुली स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसार देखतभुली स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको लालझाडी ५ का वडाध्यक्ष एवं देखतभुली स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष पहल बहादुर थापाले जानकारी दिनुभयो । आफ्नो वडामा रहेको देखतभुली स्वास्थ्य चौकीलाई जिल्लामै पहिलो किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको रूपमा घोषणा गर्न पाउँदा निकै खुसी लागेको उहाँको भनाइ छ ।
देखतभुली स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरेसँगै अब अन्य स्वास्थ्य संस्थालाई पनि किशोर किशोरी मैत्री बनाउने अभियानमा गाउँपालिका लागेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनु भयो । गाउँमै किशोर किशोरीका स्वास्थ्य समस्याको समाधान हुने गरी सेवा विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । किशोरावस्थामा शारीरिक र मानसिक परिवर्तन आउने र त्यो सँगै समयमा ख्याल गरेन भने मानसिक विचलन पनि आउन सक्ने हुँदा स्वास्थ्य सेवा र परामर्शले ठूलो दुर्घटना हुनबाट बचाउन सकिने लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताउनु भयो ।
लालझाडी गाउँपालिकामा रहेका हरेक स्वास्थ्य संस्थालाई अब किशोर किशोरी मैत्री बनाउन आफूहरू लागिपरेको र नागरिकको हरेक स्वास्थ्य समस्या समाधानका लागि नवीनतम् प्रयासहरू सुरु गरिएको लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले उल्लेख गर्नुभयो । मंगलबार आयोजित कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज लिलाकान्त झालाई देखतभुली स्वास्थ्य चौकी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।