हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरको बेलडाँडीमा पर्यापर्यटनका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्लाँफाटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती वन व्यवस्थापन समिति र तराई भू परिधि (ताल) को सहकार्यमा सोमबार बेलडाँडीको बैवाहमा पर्यापर्यटनका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले गतवर्ष शुक्लाफाँटा प्रवेशद्वारको शिलान्यास गरिएको भएपनि कोभिड १९ को जोखिमका कारण अन्य कार्यक्रम गर्न नसकिएको बताउनु भयो । उहाँले बेलडाँडीको समृद्धि र विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । कालिकिच तालको स्तरोन्नति र सुधार गर्न डिपिआर तयार पारिएको र त्यसको लागत खर्च ३५ करोड अनुमान गरिएको बताउनु भएको छ । कालिकिचबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र जाने बाटो निर्माणका लागि सुदूरपश्चिम प्रदेशले केही बजेट विनियोजन गरेको र थप बजेटको व्यवस्थापन गरी त्यसलाई पूर्णता दिइने अध्यक्ष थापा क्षेत्रीको भनाइ छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धन गरिने बताउनु भएको छ । उहाँले कञ्चनपुरको बेलडाँडीबाट निकुञ्ज प्रवेशका लागि व्यवस्थापन गरी पर्यटक बढाउन सकिनेमा जोड दिनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रबर्द्धनका सेवा सुविधा, स्वागत सत्कार र प्रचारप्रसार आवश्यक रहेको उहाँले बताउनु भयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले समुदाय स्तरबाट संरक्षणमा सहयोग पुगेको बताउनुभयो । उहाँले बाघ, हात्ती, गैडा, बाह्रसिंगा लगायत वन्यजन्तुहरू तथा चराचुरुङ्गीहरूको संख्या प्रशस्त रहेकोले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको सम्भावना अत्यधिक रहेको बताउनु भयाे । आसपासका क्षेत्रमा समेत पर्यटन प्रवर्द्धनका लागि नयाँनयाँ शैली तथा कार्यक्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । उहाँले २०६१ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वरिपरिको वन र बस्तीलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको उल्लेख गर्दै निकुञ्जमा एसिया कै सबैभन्दा ठुलो झुण्डमा बाह्रसिंगा रहेको बताउनुभयो ।
बेलडाँडी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष बीर बहादुर खड्काले जनचेतनामूलक कार्यक्रम गरी संरक्षणमा वडाले जोड दिएको बताउनु भएको छ । सबैको हातेमालोमा संरक्षणका कार्यक्रम गरिनुपर्ने बागेश्वरी उपभोक्ता समितिका अध्यक्ष शिवराज अधिकारीको भनाइ छ । बेलडाँडी गाउँपालिका वडा नम्बर २,३,४ र ५ मा विस्तारित उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षणका लागि टेवा पुर्याइरहेको छ । उहाँले किसान मध्यवर्ती सामुदायिक वनमा विगत लामो समयदेखि विवाद कायम रहेकोले यथाशीघ्र समाधानका लागि सरोकारवालासँग अनुरोध गर्नुभयो ।
होटल व्यवसायी संघका कोषाध्यक्ष रामचन्द्र रेग्मीले प्रकृतिमा आधारित पर्यापर्यटनका लागि निकुञ्ज संग जोडिएको क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनु पर्ने बताउनु भएको छ । उहाँले प्रचारप्रसारका कार्यक्रम गर्नुपर्ने उल्लेख गर्दै निकुञ्ज प्रवेशमा सहज वातावरण बनाइदिन निकुञ्ज कार्यालयलाई अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष बिष्णु दत्त अवस्थीले पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सञ्चारमाध्यमले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मिडियासँगै स्वयं पर्यटकहरूले गर्ने प्रचारप्रसार बढी प्रभावकारी हुने बताउनुभयो ।
सुरक्षा निकायका प्रतिनिधिहरूले पर्यापर्यटनको विकासका लागि आवश्यक सहयोग रहने जनाएका छन् । देवीदल गणका गणपति कर्नेल सुनिल कुमार मल्लले पर्यापर्यटन विकासका लागि सरोकारवाला सबै एकमत हुनुपर्ने बताउनुभयो । निकुञ्ज भित्रको सुरक्षाका लागि नेपाली सेना केन्द्रित भएको बताउँदै उहाँले थप पोष्टको आवश्यकता औंल्याउनु भयो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव बहादुर बिष्टले स्थानीय, प्रदेश र संघीय सरकारले समेत संरक्षण र प्रवर्द्धनका कार्यक्रममा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापाले कालिकिच तालबाट प्रवेश द्वारको शिलान्यास गरिएको र त्यसलाइ पुर्ण गरिएमा पर्यटकहरुलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको फाँटमा पुग्न सजिलो हुने बताउनु भयो । उहाँले किसान सामुदायिक वन, कालिकिच ताल हुँदै बेलडाँडीमा रहेकाे प्रवेश द्वारबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनका कार्यक्रम बढाउन सकिने धारणा राख्नुभयाे । निकुञ्ज र नागरिकहरूको सहकार्यमा संरक्षण र प्रवर्द्धनका कार्यक्रम गरिनुपर्नेमा स्थानीय नागरिकको जोड रहेको छ ।