हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ साउन । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पर्यटन प्रवर्द्धनका सम्भावना, योजना र भावी कार्यदिशाबारे व्यापक छलफल भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कालिकिच ताललगायतका प्राकृतिक सम्पदालाई व्यवस्थित रूपमा विकास गर्न सके बेलडाँडीलाई सुदूरपश्चिमकै एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने निष्कर्ष निकालिएको छ ।
बेलडाँडी पर्यटन प्रवर्द्धन समितिको आयोजनामा बेलडाँडी गाउँपालिका २, चवन्नी बजारस्थित सिद्ध बेकरी एण्ड कफी सपको सभाहलमा सोमबार अपरान्ह पर्यटन प्रवर्द्धनसम्बन्धी संवाद कार्यक्रम गरिएको हो । प्रतिनिधि सभा सदस्य जनक सिंह धामीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो ।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले बेलडाँडीको पर्यटन विकासको प्रमुख आधार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कालिकिच ताललाई बनाउनुपर्नेमा जोड दिनुभयो । निकुञ्जको जैविक विविधता, दुर्लभ वन्यजन्तु, घाँसे मैदान तथा प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोड्दै स्थानीय समुदायको आयआर्जन बढाउन सकिने धारणा उहाँहरूको छ ।
त्यस्तै, कालिकिच ताललाई प्राकृतिक र पर्यावरणीय पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझाव पनि सहभागीहरूले दिनु भएको छ । ताल संरक्षण, सौन्दर्यीकरण, पदमार्ग निर्माण, विश्रामस्थल, सूचना केन्द्र, पार्किङ, सरसफाइ तथा प्रचारप्रसारका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाँहरूको भनाइ छ ।
वक्ताहरूले पर्यटनको दिगो विकासका लागि सडक, खानेपानी, विद्युत्, सञ्चार, सुरक्षित आवागमन, होटल तथा होमस्टे, सार्वजनिक शौचालय, साइनेज बोर्ड र डिजिटल प्रचारप्रसारजस्ता आधारभूत पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । स्थानीय कला, संस्कृति, थारु समुदायको परम्परा, स्थानीय परिकार तथा कृषि पर्यटनलाई समेत पर्यटनसँग जोड्न सके बेलडाँडीको छुट्टै पहिचान स्थापित गर्न सकिने सुझाव दिइएको छ ।
संवाद कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले बेलडाँडीमा पर्यटन विकासका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर आवश्यक योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन पूर्वाधार विस्तार, निजी क्षेत्रको लगानी र स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रमका आयोजक तथा बेलडाँडी पर्यटन प्रवर्द्धन समितिका संयोजक गोकर्ण जोशीले संवादबाट प्राप्त सुझावलाई समेटेर बेलडाँडीको दीर्घकालीन पर्यटन गुरुयोजना तयार पार्ने र सम्बन्धित निकायमा पहल गर्ने जानकारी दिनुभयो । उहाँले प्रतिनिधि सभा सदस्य धामीलाई सोही सन्दर्भमा तयार पारिएको ज्ञापनपत्र समेत बुझाउनु भएको छ ।
भारतसँगको सहज पहुँच, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नजिकको भौगोलिक अवस्थिति, कालिकिच ताल, प्राकृतिक वातावरण, स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीजस्ता विशेषताले बेलडाँडीलाई पर्यटनको नयाँ गन्तव्य बन्ने सम्भावना देखिएको छ । अब यी सम्भावनालाई योजनाबद्ध विकास, पर्याप्त पूर्वाधार र प्रभावकारी प्रचारप्रसारमार्फत वास्तविक आर्थिक अवसरमा रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन, त्यो आगामी कार्यान्वयनले तय गर्नेछ ।