हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ फागुन । कञ्चनपुर प्रहरीले जारी मुद्दाका एक जना फरार कसुरदारलाई २९ वर्षपछि पक्राउ गरेको छ । सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी विशेष टोलीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ५ बाबाथान बस्ने धन बहादुर थापालाई पक्राउ गरेको हो ।
२०५० फागुन २३ गते जिल्ला अदालत दैलेखबाट जारी केश मुद्दामा फरार रहेका अभियुक्त थापालाई उनकै घरबाट पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा बुझाइएको र अदालतले रु. एक हजार जरिवाना र एक महिना कैद भुक्तानको लागि कञ्चनपुर कारागार पठाइएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।
त्यस्तै, सोमबार नै लागु औषध सहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ बस्ने मदनदेव भट्टलाई विशेष सुराकीको आधारमा शङ्का लागि चेकजाँच गर्दा ०.०७२ ग्राम लागु औषध (चरेस) फेला पारी कानुन बमोजिम बरामद गरिएको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता डाँगीले बताउनु भयो ।