हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ असार । अस्वाभाविक रूपमा विद्युत् कटौती हुन थालेपछि अनेरास्ववियु कञ्चनपुरका युवाहरूले विद्युत् प्राधिकरण वितरण केन्द्र बेलौरीलाई ज्ञापन पत्र पेस गरेको छ । बदलिँदो मौसमसँगै चर्को गर्मीले आक्रान्त पारिरहेको अवस्थामा विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले नियमित विद्युत् सेवा दिन नसकेको भन्दै अनेरास्ववियुले सोमबार ज्ञापन पत्र बुझाएको अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त रेग्मीले जानकारी दिनुभयो । अनेरास्ववियुका केन्द्रीय सदस्यत्रय हेमन्त रेग्मी, प्रदीप तिवारी र विक्रम थापा सहितका युवाहरूले विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रको कार्यालयमै गई कार्यालय प्रमुख रमेश बन्जाडेलाई ज्ञापन पत्र हस्तान्तरण गरेको बताइएको छ ।
पछिल्लो समयमा विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले विभिन्न बहाना देखाउँदै विद्युत् कटौती गरिरहेकोले विद्यार्थी, किसान, कलकारखाना, उद्योग एवं विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय,को कामकाजमा असर गरिरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै, विभिन्न कृत्रिम समस्या देखाएर अन्य व्यवसायीबाट मोटो रकम असुल गर्न लागेको खबर सुन्नमा आएकोले यस्ता कार्य तुरुन्तै रोक्न र सेवा प्रवाहमा ध्यान दिन अनुरोधका साथै चेतावनी समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
असार महिना सुरु भएदेखि विभिन्न प्राविधिक समस्याहरू बढी देखिएकोले विद्युत् आपूर्ति अनियमित हुन पुगेको विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रका कार्यालय प्रमुख रमेश बन्जाडेले बताउनु भयो । तराइमा रोपाइँको समय र गर्मी समेत अत्यधिक बढेको कारण विद्युतीय उपकरणहरूका प्रयोगकर्ताहरू बढेको कारणले क्षमता भन्दा बढी लोड हुँदा आफै लाइन काटिने समस्या पटक पटक देखिने गरेको उहाँको भनाइ छ ।
यसका अतिरिक्त सबस्टेशन मर्मत, प्रतिकुल मौसम, समय समयमा उपकरणमा हुने क्षति तथा समस्या समाधानका लागि समेत विद्युत् सेवा प्रवाहमा असहज परिस्थिति सृजना भएको उहाँको भनाइ छ । त्यस्तै, अपर तामाकोशीको लाइनको पहिलो युनिट उद्घाटनसँगै राष्ट्रिय प्रसारण लाइनमा जोड्दा र टनकपुर पावर हाउसमा समेत मर्मत सम्भारको कार्य गर्दा माथिल्लो निकायबाटै लाइन काटिने क्रम बढेको कार्यालय प्रमुख बन्जाडेले बताउनु भयो ।
विद्युत् लाइनमा जोडिएका संरचनाहरू पुराना र कम क्षमताको हुँदा सेवा प्रवाहमा समस्या देखिने गरेको बताउँदै उहाँले त्यसको समाधानका लागि बेलौरी वितरण केन्द्र सहित माथिल्लो निकाय क्रियाशील रहेको उल्लेख गर्नुभयो । ज्ञापन पत्रमा भने जस्तो वितरण केन्द्रले कसै व्यवसायीबाट रकम असुल्ने कार्य नगरेको समेत उहाँले प्रष्ट पार्नुभयो ।