हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ असार । रानाथारु भाषा संरक्षण तथा प्रवर्द्धनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकामा व्याकरण र शब्दकोशका सन्दर्भमा विशेष अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । नेपाल रानाथारू महिला सङ्घ कञ्चनपुरको आयोजनामा र लालझाडी गाउँपालिकाको सहकार्यमा सोमबार साँझ आयोजित सो कार्यक्रममा स्थानीय जनप्रतिनिधिदेखि भाषाविद्हरूसम्मको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सभाध्यक्षता नेपाल रानाथारू महिला सङ्घ कञ्चनपुरकी अध्यक्ष प्रेमवती रानाले गर्नुभएको थियो भने गाउँपालिकाका अध्यक्ष निर्मल राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की र भूमि आयोग कैलालीका विज्ञ सदस्य तथा रानाथारू भाषाका भाषाविद् कमलसिंह रानाको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निर्मल रानाले भन्नुभयो, “जातीय पहिचानसँग भाषा सिधै गाँसिएको हुन्छ । रानाथारू भाषा लोप हुन नदिन र यसलाई जोगाउन स्थानीय सरकारहरूको नैतिक तथा संस्थागत दायित्व हो । त्यो दायित्व हामी निर्वाह गरिरहेका छौँ ।” उहाँले पालिकाले भाषा संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने स्पष्ट प्रतिबद्धता जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले रानाथारु भाषामै सम्बोधन गर्दै स्थानीय तहले भाषा संरक्षणका नीति र कार्यक्रम बनाउन सक्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै भन्नुभयो, “यस्ता विषयमा समुदायले आवाज उठायो भने पालिकाले सहयोग गर्न पछि पर्दैन । रानाथारू भाषा संरक्षणमा प्रशासनिक र प्राविधिक साथ दिन सकिन्छ ।”

भाषाविद् कमलसिंह रानाले रानाथारू भाषाको संरचना, व्याकरण निर्माण, मौलिक शब्दहरूको सङ्ग्रह तथा अभिलेखीकरणमा पछिल्ला केही वर्षयता महत्त्वपूर्ण कार्य भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भाषा हरायो भने इतिहास, संस्कृति र पहिचान नै हराउँछ । हामी अहिले जे जोगाउँछौँ, त्यो नै भावी पुस्ताको सम्पदा हुनेछ ।” नेपाल रानाथारू महिला सङ्घकी अध्यक्ष प्रेमवती रानाले सङ्घको तर्फबाट भाषा दस्तावेजीकरण, महिला सशक्तीकरण, सांस्कृतिक पुनर्जागरणका कार्यक्रमहरू सञ्चालन भइरहेका बताउँदै भन्नुभयो, “समुदायको साथ, पालिकाको सहकार्य र राज्यको नीतिगत समर्थन बिना भाषा संरक्षण सम्भव छैन ।” कार्यक्रमको समापनका क्रममा उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा समुदायबीच सहकार्य गरी रानाथारू भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

कार्यक्रममा सहभागी वडाध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, पालिकाका कर्मचारी, वन उपभोक्ता समूहका प्रतिनिधि, बजार व्यवस्थापन समितिका सदस्य तथा पत्रकारहरूले रानाथारू भाषालाई विद्यालय शिक्षा, पाठ्यक्रम, रेडियो कार्यक्रम, समाचार तथा पुस्तकहरू मार्फत प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनु भएको छ । वक्ताहरूले रानाथारू भाषालाई विद्यालय शिक्षामा समावेश गर्न, समुदायस्तरमा भाषा प्रशिक्षण सञ्चालन गर्न, रेडियो तथा अन्य मिडिया सामग्री उत्पादन बढाउन र राज्यको नीति तथा बजेटमा भाषा संरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिनु भएको छ ।
