नेपालमै आधारित AI अनुसन्धान कम्पनी SAGEA ले आफ्नो सबैभन्दा उन्नत भाषा मोडेल SAGE 2.5 Magnus को प्रि-ट्रेनिङ चरण सफलतापूर्वक पूरा गरेको घोषणा गरेको छ । कम्पनीले मंगलबार दिएको जानकारीअनुसार Magnus अब विकासको दोस्रो चरणमा प्रवेश गरेको छ ।
SAGEA का अनुसार Magnus पूर्ण रूपमा शून्यबाट डिजाइन गरिएको ठूलो भाषा मोडेल हो । यो Mixture-of-Experts (MoE) आधारित sparse आर्किटेक्चरमा निर्माण गरिएको छ, जसमा १२० अर्ब कुल प्यारामिटर रहेका छन् । यद्यपि, प्रत्येक टोकन प्रोसेस गर्दा करिब १२ अर्ब प्यारामिटर मात्र सक्रिय हुने भएकाले उच्च कम्प्युट दक्षता र प्रदर्शन सन्तुलन कायम हुन्छ ।
कम्पनीले यो मोडेल कुनै पनि अवस्थित प्रणालीको फाइन-ट्युन वा डिस्टिलेसन नभई मौलिक रूपमा विकास गरिएको जनाएको छ । प्रि-ट्रेनिङ चरणमा भाषा, कोड, तर्क तथा बहु-चरण समस्या समाधानजस्ता क्षमतामा आधार तयार पारिएको छ ।
अब सुरु भएको दोस्रो चरणमा Magnus को reasoning क्षमता, multi-step सोच र agentic workflow सम्हाल्ने दक्षता थप सुदृढ गरिने कम्पनीले जनाएको छ । यसले मोडेललाई सामान्य प्रश्न–उत्तर प्रणालीभन्दा अघि बढाएर जटिल कार्यहरू योजना बनाउने र निर्णय लिन सक्ने AI प्रणालीतर्फ लैजाने लक्ष्य राखिएको छ ।
SAGEA को यो प्रयासले उन्नत AI विकास अब सीमित अन्तर्राष्ट्रिय प्रयोगशालामा मात्र सीमित नरहेको सन्देश दिएको छ । नेपालबाटै यस्ता स्तरका मोडेल विकास हुनु विश्व AI प्रतिस्पर्धामा नयाँ सहभागीहरूको संकेतका रूपमा हेरिएको छ ।
यसैबीच, कम्पनीले ‘Helios’ नामक AI–संचालित KYC intelligence प्रणाली पनि सार्वजनिक गरेको छ । fintech क्षेत्रलाई लक्षित गर्दै बनाइएको यो प्रणाली हाल नेपालको एक प्रमुख डिजिटल भुक्तानी संस्थासँग validation phase मा रहेको छ ।
Helios ले परम्परागत third-party API मा आधारित KYC प्रणालीको विकल्प प्रस्तुत गर्छ । यसमा document analysis, face verification र decision-making प्रक्रिया संस्थाको आफ्नै infrastructure भित्रै सञ्चालन हुने भएकाले प्रयोगकर्ताको संवेदनशील डाटा बाहिर नजाने कम्पनीको दाबी छ ।
SAGEA का अनुसार आधुनिक fraud प्रविधि AI-generated अनुहार, digitally altered कागजात र synthetic identity बढ्दो क्रममा रहेकाले परम्परागत rule-based प्रणाली पर्याप्त नभएको अवस्थामा Helios जस्तो प्रणाली आवश्यक बनेको हो ।
प्रारम्भिक परीक्षणका नतिजा उत्साहजनक रहेको जनाउँदै कम्पनीले आगामी दिनमा Magnus लाई अझ परिष्कृत गर्दै विभिन्न प्रयोगका लागि विस्तार गर्ने र Helios लाई व्यावसायिक रूपमा कार्यान्वयन गर्ने योजना बनाएको छ ।