धनगढी । सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि अनवरत योगदान पुर्याउँदै आएका साहित्यकार हरीश प्रसाद जोशी ‘प्रफुल्ल’ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सदस्य (प्राज्ञ) पदमा नियुक्त भएका छन् । प्रदेश सरकारले गरेको यो नियुक्तिलाई सुदूरपश्चिमको साहित्यिक तथा सांस्कृतिक आन्दोलनमा समर्पित एक साधकप्रतिको उच्च सम्मानका रूपमा हेरिएको छ ।
बैतडीको मेलौली नगरपालिका-५ खलिगाडमा जन्मिएका जोशी शिक्षण पेशासँगै भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन् । शिक्षक, साहित्यकार, सम्पादक, संस्कृतिकर्मी तथा सामाजिक अभियन्ताका रूपमा परिचित उनले सुदूरपश्चिमको मौलिक पहिचान संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान दिएका छन् ।
विशेषगरी डोट्याली भाषा, लोकसाहित्य र लोकसंस्कृतिको संरक्षणमा उनको भूमिका उल्लेखनीय मानिन्छ । डोट्याली भाषाको शब्दसम्पदा संरक्षण गर्ने उद्देश्यले प्रकाशित ‘बृहत् डोट्याली शब्दकोश’ र ‘आधारभूत डोट्याली व्याकरण’ जस्ता कृतिले उनलाई भाषिक आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा स्थापित गरेको छ । मातृभाषाको संरक्षण सांस्कृतिक अस्तित्वसँग जोडिएको विषय भएको उनको निरन्तर जोड रहँदै आएको छ ।
वि.सं. २०४७ सालमा स्थापित महाकाली साहित्य सङ्गमका संस्थापक सदस्य जोशीले संस्थाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका उनले सङ्गमलाई सुदूरपश्चिमकै अग्रणी साहित्यिक संस्थाका रूपमा स्थापित गर्न योगदान दिएका छन् ।
साहित्य सिर्जना, सम्पादन, अनुसन्धान र सांस्कृतिक नेतृत्वका माध्यमबाट समाजमा सक्रिय रहेका जोशीले अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिको प्रतिनिधित्व गरेका छन् । भारतका विभिन्न राज्यमा आयोजित साहित्यिक सम्मेलनदेखि अन्तर्राष्ट्रिय कवि सम्मेलनसम्म उनले डोट्याली भाषा र नेपाली संस्कृतिको पहिचानलाई विश्वसामु परिचित गराएका छन् ।
गौरा, विशु, पुस्यापन्नर, गंगादशहरा र हरियालोलगायत सुदूरपश्चिमका मौलिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धनमा उनको योगदान उत्तिकै महत्वपूर्ण छ । तीन दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको गौरा महोत्सवलाई निरन्तरता दिन उनले खेलेको भूमिका सांस्कृतिक वृत्तमा उदाहरणीय मानिन्छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पदमा भएको नियुक्तिसँगै प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । यो नियुक्ति केवल एक व्यक्तिको सम्मान मात्र नभई सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिका लागि जीवन समर्पण गरेका सम्पूर्ण साधकहरूको योगदानप्रतिको सम्मानका रूपमा समेत हेरिएको छ ।