हरिश्चन्द्र बाग, कञ्चनपुर, ६ साउन । यसअघि नै ७६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको महेन्द्रनगर (मझगाउँ) विमानस्थलको कामलाई तीव्रता दिने प्रतिबद्धतासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले बुधबार स्थलगत अनुगमन गरेपछि कञ्चनपुरमा एउटा चर्चा फेरि सुरु भएको छ, ‘यसपालिको दसैँसम्म मझगाउँमा जहाज उड्छ कि उड्दैन ?’ निर्माणाधीन विमानस्थलमा पुगेर मन्त्रीले बाँकी कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता जनाए भने स्थानीय सरोकारवालाले अब आश्वासन होइन, दसैँभित्रै जहाज उडेको देख्न चाहेको स्पष्ट सन्देश दिएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर तीनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र महताकाे विशेष अनुराेधमा कञ्चनपुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले बुधबार निर्माणाधीन महेन्द्रनगर (मझगाउँ) विमानस्थलको स्थलगत अनुगमन गर्दै बाँकी निर्माण कार्यलाई तीव्रता दिएर सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उच्च अधिकारीहरूसहित विमानस्थल पुगेका मन्त्री पौडेलले आयोजना कार्यालय र मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिबाट निर्माण प्रगति तथा बाँकी कामबारे जानकारी लिए ।

अनुगमनपछि आयोजित छलफलका क्रममा मन्त्री पौडेलले विमानस्थलमा राज्यको ठूलो लगानी भइसकेकाले अब कामलाई थप ढिलाइ गर्न नहुने बताए । "यो आयोजना धेरै वर्षदेखि कञ्चनपुरवासीको अपेक्षासँग जोडिएको परियोजना हो । राज्यको ठूलो लगानी भइसकेको छ । बाँकी पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाउँछ । सम्बन्धित सबै निकायले समन्वय गरेर समयमै काम सम्पन्न गर्नुपर्छ," मन्त्री पौडेलले भने । "सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै कमी हुन दिइँदैन । सबै पक्षले सकारात्मक रूपमा सहयोग गरे यो आयोजना छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ ।"
मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्रबहादुर चन्दले अब कञ्चनपुरवासीलाई नयाँ आश्वासन होइन, परिणाम चाहिएको बताए । "यो विमानस्थल सञ्चालनका लागि हामीले वर्षौँदेखि निरन्तर आन्दोलन, दबाब र पहल गर्दै आएका छौँ । अहिलेको सरकारले जनतामा ठूलो आशा जगाएको छ । आगामी दसैँमा यही धावनमार्गमा जहाज अवतरण र उडान गरेको दृश्य कञ्चनपुरवासीले देख्न पाउनुपर्छ," उनले भने । "यस पटक पनि काम लम्बियो भने जनताको विश्वास गुम्नेछ । त्यसैले सरकार र निर्माण पक्षले अब परिणाम देखाउनै पर्छ ।"
पर्यटन व्यवसायी परमानन्द भण्डारीले विमानस्थल सञ्चालनसँगै कञ्चनपुरको पर्यटन र अर्थतन्त्रमा नयाँ सम्भावना खुल्ने बताए । "शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय गन्तव्य यही क्षेत्रमा छन् । विमानस्थल सञ्चालनमा आए भारतसहित अन्य मुलुकबाट पर्यटक भित्र्याउन सहज हुन्छ । अनुगमन गरेर फर्किने मात्रै होइन, निर्माण सम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याउने गरी सरकारले काम अघि बढाउनुपर्छ," उनले भने । "मझगाउँ विमानस्थल सञ्चालन हुनु भनेको कञ्चनपुरको पर्यटन, व्यापार र लगानीको ढोका खुल्नु हो ।"

वि.सं. २०३० देखि २०५४ सालसम्म 'ट्विन अटर' र 'वाई १२' जहाजले सेवा दिएको मझगाउँ विमानस्थल लामो समयदेखि बन्द छ । पुनः सञ्चालनका लागि ५२ बिघा १० कट्ठा १२ धुर क्षेत्रफलमा विमानस्थल पुनर्निर्माण भइरहेको छ । आयोजनाको लागत अनुमान ५१ करोड ५० लाख २३ हजार ६२२ रुपैयाँ रहे पनि २०७८ पुसमा भ्याटसहित ४५ करोड ६६ लाख २४ हजार १७४ रुपैयाँमा श्री कान्छाराम-कुमार श्रेष्ठ-उमा जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।
आयोजना कार्यालयका अनुसार हालसम्म भौतिक प्रगति ७६.६५ प्रतिशत र आर्थिक प्रगति ७३ प्रतिशत पुगेको छ । २०७८ माघ १० देखि सुरु भएको निर्माणको दोस्रो पटक थपिएको म्याद अनुसार २०८३ पुस २४ सम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।विमानस्थल पुनर्निर्माणमा सङ्घीय सरकार (क्यान) को ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत लगानी साझेदारी छ । हालसम्म सङ्घबाट १९ करोड ३४ लाख, प्रदेशबाट ८ करोड ७५ लाख, भीमदत्त नगरपालिकाबाट ४ करोड ५० लाख र दोधारा चाँदनी नगरपालिकाबाट ६७ लाख ६० हजार रुपैयाँ गरी ३३ करोड २६ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको समितिले जनाएको छ ।